Like us!
Follow us!
Connect us!
Watch us!

८८ किलो सुनसहित मनोज अधिकारी पक्राउ, थप अनुसन्धान जारी

सोमबार, १९ भदौ २०७४, १३ : ३८ मा प्रकाशित

८८ किलो सुनसहित मनोज अधिकारी पक्राउ, थप अनुसन्धान जारी

अर्थ संसार, काठमाडौँ– महानगरीय अपराध महाशाखाले अहिलेसम्मकै ठूलो परिणाममा सुन बरामद गरेको छ ।

महाशाखाबाट खटिएको टोलीले ८८ किलो सुनसहित एकजनालाई बिहान २ बजे बा १७ च ६४२७ नम्बरको टाटा सफारी गाडीसहित क्षेत्रपाटीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिकाका २४ वर्षीय मनोज अधिकारी रहेका छन् ।

महाशाखाले आज पत्रकारसम्मेलन गरी काठमाडौँ महानगरपालिका–१७ मा पार्किङ गरेर राखेको अवस्थामा गाडीसहित अधिकारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

पत्रकारसम्मेलनमा महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले रसुवाको केरुङ नाका हुँदै उक्त सुन काठमाडौँ भित्रिएको अनुसन्धानमा खुल्न आएको बताउनुभयो ।

“सुन कताबाट कता लैजान काठमाडौँ ल्याइयो भन्ने बारेमा थप अनुसन्धान भइरहेको छ,”–प्रमुख लोहनीले भन्नुभयो ।

उहाँले केरुङ नाकाबाट भित्रिएको सुनमा चीनीया नागरिकको सङ्लग्नता रहेको अनुसन्धानमा खुल्न आएको बताउनुभयो ।

प्रमुख लोहनीले केही दिन अगाडि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समातेको २२ किलो सुन कारोबारीसँग अहिलेको सुनको कारोबारीको सम्बन्ध छ वा छैन भन्ने बारेमा महाशाखाले अनुसन्धान गरिरहेको स्पष्ट पार्नुभयो ।

“सुन तस्करीमा एक\दुई जनामात्र नभई ठूलो समूह रहेको छ, उनीहरुको चाँडै खोजी गछौँ”–लोहनीले भन्नुभयो ।

महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीको नेतृत्वमा गएको टोलीले उक्त सुन बरामद गरेको हो ।

यसभन्दा पहिला ठूलो परिणाममा एक साता पहिले नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरोले २२ किलो र गत वर्षको माघमा ३३ किलो वरामद गरेको थियो ।

यस्तै महाशाखाकै टोलीले अवैध मोवाइल तथा लत्ताकपडासहित तीनजनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले काठमाडौँ उपत्यकाभित्र केही व्यक्तिहरु भन्सार छली अवैधरुपमा मोवाइल तथा लत्ताकपडा चोरी पैठारी गरी भारतबाट काठमाडौँ ल्याएको अवस्थामा स्वयम्भुबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाही घर भएका बसका चालक बलबहादुर दवाडी, काठमाडौँका जितेन्द्र डंगोल र दोलखाका सहचालक पासाङ लामा रहेका छन् ।

महाशाखाले पक्राउ परेकासँग विभिन्न कम्पनीका मोबाइल १३४ थान, कुर्ता टप्स एक हजार ६१३, फ्रक ३७, कटन पेन्ट १०१, लेहेन्गा १९, सारी १८, कुर्ता सुरुवाल ३७ र प्यारालाल सुरुवाल १२ थान बरामद गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको