नेपालमा सम्भावना पर्याप्त उपलब्ध छन् तर सम्भावनाको पहिचान र व्यवसायिकताको अभाव कालान्तरदेखि चलिआएको छ। सम्भावनाको पहिचानले उत्कृष्ठ व्यवसायिकताको अवसर सृजना गर्दछ, तिनै अवसर पहिचान गरी आफ्नो मात्र नभई देशभरका विभिन्न महिलाहरुलाई व्यवसायको अवसर सृजना गरेकी उद्यमी हुन राज्यलक्ष्मी शाक्य।
मनकामना क्राफ्ट एण्ड क्रियशनबाट व्यवसायिकताको यात्रा सुरूवात गरेकी शाक्य हाल कीर्तिपुर चेम्बर अफ कमर्सको अध्यक्षका साथै उद्योग वाणिज्य महासंघ, महिला उद्यमशीलता विकास समितिको सदस्य हुन् । अहिले मनकामना क्राफ्ट एण्ड क्रियशनबाट निर्मित विभिन्न उत्पादनहरु देशमा प्रयोग भइरहेका छन् भने विदेशमा निर्यातसमेत भइरहेका छन्।
सामाजिक कार्यमा सक्रियताबीच व्यवसायिकताको सोच आएको उद्यमी राज्यलक्ष्मी शाक्य बताउँछिन्। "त्यसबेला सामाजिक कार्यमा सक्रिय रहन्थें, हिमानी ट्रष्टको एउटा कार्यक्रममा अथितिको रूपमा आमन्त्रण गर्नुभएको थियो । स्वागतको लागि नेपालमा विदेशबाट आयात हुने खादाको प्रयोग हुने गर्थ्यो । त्यहाँ पनि त्यही खादा प्रयोग भएको थियो। मलाई पनि त्यही खादा ओढाएर स्वागत गर्नुभयो । त्यो खादाले एलर्जी गर्यो। नेपालमा आयात हुने सामग्री बाताबरण मैत्री थिएन । मलाई नेपालमा केही नेपाली उत्पादन बनाउनुपर्छ भन्ने सोच आयो । मैले कार्यक्रमको अन्त्यमा नेपालमा स्थानीय स्रोत साधन प्रयोग गरि उत्पादन सुरुवात गर्ने र विदेशमा पनि हाम्रो उत्पादन निर्यात गर्ने अठोट सहितको मन्तव्य व्यक्त गरेँ, त्यहीँबाट मेरो व्यवसायिक जीवनको सुरुवात भयो," शाक्य भन्छिन् ।
नेपालमा उत्पादन हुने ढाकाको कपडा प्रयोगविहीन जस्तै थियो, उत्पादन कठिन भए पनि निर्यात गर्न सकियोस् भन्ने हेतुले व्यवसाय सुरुवात गर्ने सोच बनाएकी थिएँ । काठमाडौं फर्केसंगै आफूसँग भएको सुनको सिक्री बिक्री गरी ५० हजार रुपैयाँबाट नेपालमा ढाकाको उत्पादनको सुरुवात गरेको राज्यलक्ष्मी शाक्य बताउँछिन्।
"नेपालमा प्रयोग हुने खादा आयात गरिन्थ्यो । ढाकाको सामग्री नेपालमै बनाइन्थ्यो । हामीले एक समारोह आयोजना गरेर २७५ वृद्ध आमाबुबाहरुलाई सम्मान गरेर नेपालको खादा प्रयोगको सुरूवात गर्यौ। यस्तो उत्पादन गाउँगाउँमा हुन सक्थ्यो । तर उत्पादन गर्न उहाँहरुलाई ज्ञान र बजारीकरणको अभाव थियो। हामीले देश भरका ७७ वटै जिल्लामा पुगेर गृहणी महिलाहरुलाई तालिम दियौं । उत्पादन गर्न प्रोत्साहन गर्यौ। उहाँहरूले तयार गरेका उत्पादनहरुको बजारीकरणको सुनिश्चितता गर्यौ । हामी उहाँहरूले आफै उत्पादन बिक्री गर्न नसकेको खण्डमा उहाँकै नाममा बिक्री गर्न सहयोग गर्छौं, " उनी भन्छिन् ।
"व्यवसायिकताको सुरुवातमा विभिन्न आरोह अवरोह भोग्नुपरेको राज्यलक्ष्मी बताउँछिन्। हामी उत्पादनको सोच लिएर तालिम दिँदै देशभर पुग्यौ, विभिन्न सहकारी, आमा दिदीबहिनीहरू उत्पादन मन परेर यस्तै उत्पादन गर्न तयार हुनुभयो । हामीले उहाँहरुलाई सीप सिकायौ । हामीहले तयार गरेका वस्तुहरूको आकर्षण विदेशमा पनि हुन थाल्यो । नेपालबाहिर बस्ने नेपालीहरुलाई हामीले उत्पादन पुर्यायौं। बिस्तारै उत्पादनमा राजनीतिकरण गर्न थालियो । माइतीघरमा ढाकाको उत्पादन यसरी व्यवसायिकरण गर्न नहुने भनेर आन्दोलन चर्कियो। नेपाली उत्पादनलाई प्रवर्धन गर्नुपर्छ भन्नेमा हामी थियौं । प्रधानमन्त्रीबाट नै नेपाली उत्पादनलाई प्रवर्धन गर्नुपर्छ भन्ने सम्बोधन भएपछि बिस्तारै आन्दोलन शान्त भयो। महिला उद्यमीको रूपमा ब्यबसाय सुरु गर्दा निकै सङ्घर्ष भोग्नु परेको उनको भनाइ छ । अहिले हाम्रो उत्पादन विश्वभर निर्यात हुँदा खुसी मिल्छ। " राज्यलक्ष्मी भन्छिन्।
"नेपालमा तयार हुने कपडाहरू विस्थापित भइरहेका थिए । व्यवसायिक हुन सकेका थिएनन्। नेपाली ढाकाले राम्रो वजार लिन्छ भन्ने बुझेकी राज्यलक्ष्मीले कीर्तिपुरको एक स्थानबाट सुरु गरेको मनकामना क्राफ्ट एण्ड कृयसन अहिले एक घर एक उत्पादनको योजनाबाट अगाडि बढिरहेको छ । देशमा आन्तरिक उत्पादन तथा हस्तकलाका सामग्री उपभोगलाई प्रवर्धन गरिरहेका छौं। हाम्रो उत्पादनमा ब्रण्डिङ र मार्केटिङको अभाव छ," उनी थप्छिन् , "हामी गाउँगाउँ पुगेर उहाँहरुलाई उत्पादन गर्न सिकाउँछौ । ब्रान्डिङ् कसरी गर्ने कसरी प्याकेजिङ गर्ने भन्नेबारे सिकाउछौं । सकेसम्म आफ्नो ट्याग लगाएर बिक्री गर्न भन्छौ । नत्र नेपाली उत्पादनको प्रतीक नेपालको झण्डा प्रयोग गर्न सल्लाह दिन्छौं।"
"हामी आवश्यक पर्ने समान, मेसिन तथा कच्चा पदार्थहरू उपलब्ध गराउने गर्छौ । उहाँहरूले उत्पादन गरेर वस्तुहरू पठाउनु हुन्छ । अहिले हाम्रो कुल उत्पादनको ६५ प्रतिशत वस्तुहरू नेपालमा उपभोग हुने गर्दछ भने ३५ प्रतिशत उत्पादनहरु निर्यात हुने गर्दछ। पछिल्लो समय ढाकाको उत्पादनप्रति आकर्षण फर्किदै गएको छ । नेपालका अधिकांश ठाउँमा ढाकाको नेपाली उत्पादन नै प्रयोग भइरहेको पाइन्छ। हामी ढाकाको साडी, चोलो, टाई, चप्पल, जुत्ता, झोला, ल्यापटप ब्यागलगायतका विभिन्न उत्पादन गरिरहेका छौ । नेपाली उत्पादनको ब्राण्डिङ हुन नसक्दा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको," उनी बताउँछिन् ।
"नेपालमा हस्तकलाको उत्पादन प्रवर्द्धन गर्न निजी क्षेत्र, राज्य र समुदायबीच सहकार्य गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ। सरकारले ७ ओटै प्रदेशमा हस्तकलाको सबै सामान पाइने हस्तकलाग्राम निर्माण गर्नुपर्छ। राज्यले उत्पादनको उपभोगलाई प्रवर्धन गर्न मार्केटिङ गर्न मद्दत गर्नुपर्छ, नेपाली उत्पादनको मार्केटिङमा विभिन्न स्थलमा बडापत्र राखेर नेपाल आउने पर्यटकलाई जानकारी दिन सहयोग गर्नुपर्छ । अहिले नेपालमा नेपाली उत्पादन भनी आयातित वस्तुहरूले बाजार लिइरहेका छन्। राज्यले अनुगमन र उत्पादनको वस्तु, गुणस्तरलगायतका आधारमा गुणस्तरको वर्गीकरण गर्नुपर्छ। स्थानीय सरकारले उत्पादकसँग समन्वयन गर्नुपर्छ," उनी भन्छिन् ।
"नेपालमा हस्तकलाका सामानहरू उत्पादन मात्र भए तर मूल्य अनुरूपको बाजार पाउन सकेनन् । प्रायः आमा दिदी बहिनीहरूले तयार गर्नुहुन्छ । अब मार्केटिङ ब्रण्डिङको काम अहिलेका पढेलेखेका युवाहरुले गर्नुपर्छ। म युवाहरुलाई आव्हान गर्छु, घरमा आमाले तयार गरेका उत्पादनलाई आधुनिक रुपमा ब्रण्डिङ् गर्नुहोस् । मार्केटिङ गर्नुहोस् । राम्रो प्याकेजिङ गर्नुहोस् र बजारमा पठाउनुहोस् । यो तपाईंको लागि व्यवसायिकताको राम्रो अवसर हो ।" उनको सल्लाह छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस