यो साता सेयर बजार लगातार पाँच दिन नै बढेर कारोबार भएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार भन्दा यो साताको बिहीबार सेयर बजारमा ११५ अंक भन्दा बढीले वृद्धि भएको छ । गत बिहीबार २५६०.१५ विन्दुमा बन्द भएको सेयर बजार आज (बिहीबार) को कारोबार बन्द हुँदा २६७६.०३ बिन्दुमा पुगेको हो ।
जेनजी आन्दोलन पछि लगातार रुपमा घटेको सेयर बजार एकै हप्ता लगातार बढेको यो पहिलो पटक हो । सेयर बजार घटेर तल्लो विन्दुमा पुगिसकेको बजार विस्तारै लयमा फर्केको संकेत गरेको छ । यो साताका सबै ५ कारोबार दिन बढेको बजार तल्लो बिन्दुमा पुगिसकेको अवस्थाबाट माथि उठ्न थालेको लगानीकर्ताहरुको भनाइ छ । बजारका लागि सबै सूचक राम्रा रहेको र अहिले राजनीतिक स्थिरताको संकेत पनि मिलेकाले बजारमा त्यसको झलक देखिएको उनीहरुको भनाइ छ । नियामक निकायहरुले पनि सुधारका कामहरु गरिरहेको र राजनीतिक रुपमा पनि स्थिरताको संकेत गरेकाले बजार बढेको इन्भेष्टर फोरकमका पूर्व अध्यक्ष छोटेलाल रौनियारको भनाइ छ । अहिले सेयर बजारमा बाहेक अन्य क्षेत्रमा लगानी गर्ने ठाउँ नै नभएको अवस्थामा बजारमा लगानी बढ्ने र बजारमा त्यसको सकारात्मक असर देखिने रौनियारले बताए ।
अहिलले धितोपत्र बोर्डले लाभांश घोषणा गर्दा कम्पनीहरुले उक्त लाभांशमा नै कर समेत समावेश गर्नु पर्ने निर्णय गरेकाले पनि बजार बढ्लाई सहयोग पुगेको उनको भनाइ छ । अर्को तर्फ अहिले बजारमा प्रसस्त मात्रामा तरलता रहेको र ब्याजदर पनि तल्लो विन्दुमा रहेकाले बजारका लागि उपयुक्त समय भएको उनी बताउँछन् । उनले अहिले लाभांश घाषणाको समय पनि भएकाले बजारमा त्यसको असर परेको उनी बताउँछन् ।
अहिले राजनीतिक रुपमा पनि स्थिरताको संकेत देखिएको र आर्थिक रुपमा पनि बजारका लागि सहज अवस्था भएकाले नै बजार बढ्नमा सहयोग पुगेको नेपाल सेयरबजार लगानीकर्ता संघका महासचिव रविन कँडेलको भनाइ छ । सेयर बजारमा मनोविज्ञानले धेरै ठूलो असर गर्ने भएकाले अहिले विस्तारै मनोविज्ञान बढ्दै गएको उनले बताए । ‘अहिले राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेप्सेले गर्नु पर्ने सुकारका कामहरु पनि हुँदै गएको र अझै केही कार्यान्वयन हुने क्रममा भएकाले बजारले गति लिने संकेत देखिएको हो,’ उनले भने । यहि गतिमा बढेमा अर्को हप्ता सेयर बजार २९०० विन्दु माथि पुग्ने अनुमान गर्न सकिने उनले बताए ।
बजार अडेर नै बढेको देखिएकाले सकारात्क रुपमा नै अघि जाने अवस्था रहेको लगानीकर्ता विष्णु सुवेदीको भनाइ छ । अहिले कारोबार पनि औषतमा नै भइरहेको भन्दै अहिले बजारको मुड बढ्ने क्रममा नै देखिएको उनले बताए । बजार अहिलेको अवस्थामा टिक्ने वा नटिक्ने भन्ने कुरा मौद्रिक नीतिको आगामी समीक्षाले निर्धाण गर्ने उनको भनाइ छ । मौद्रिक नीतिमा केही लचिलो भएमा बजारले अझै माथिल्लो विन्दु पार गर्ने नभए फेरि पुरानै अवस्थामा फर्किने सम्भावना समेत रहेको उनको भनाइ छ । ‘अहिलेको बजारले मौद्रिक नीतिको समीक्षालाई नै पर्खेको जस्तो देखिएको छ,’ उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस