अर्थ संसार, चितवन–चितवन दक्षिण चितवनको माडी नगरपालिकामा सञ्चालित विद्युत् सेवा नौ दिनदेखि अवरुद्ध हुँदा स्थानीय बासिन्दालाई सास्ती भएको छ । यहाँ विद्युत् नहुँदा विद्युत्मार्फत हुने सम्पूर्ण काम ठप्प भएका छन् ।
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इञ्जिनियर राजेन्द्र पौडेलका अनुसार भदौ १३ गते चितवन निकुञ्जको जमिनमुनि बिछ्याइएको तारमा देखिएको खराबी पत्ता लगाउन नसक्दा विद्युत् आपूर्ति रोकिएको हो ।
खराबी पत्ता लगाउन भारतबाट मेसिन मगाइए पनि अहिलेसम्म चितवन आइनपुगेको पौडेल बताउनुहुन्छ । काठमाडौँ आइपुगेको मेसिनले दूरसञ्चारको विद्युत्सम्बन्धी काम गरिरहेको र एक/दुई दिनमा चितवन आइपुग्ने जानकारी आएको उहाँको भनाइ छ ।
निकुञ्जको जमिनमुनि बिछ्याइएको तारमा लगातार समस्या हुँदा असारदेखि भदौको आजसम्म तीन महिनामा झण्डै ५० दिन विद्युत् सेवा अवरुद्ध भएको छ । स्थानीय गोविन्द न्यौपाने लगातारको विद्युत् अवरोधले टेलिफोन लाइनसहितका विद्युत्बाट हुने सबै काम प्रभावित हुँदै आएको बताउनुहुन्छ ।
यसअघि गएको असार ५ गते बन्द भएको विद्युत् सेवा १७ गते सञ्चालनमा आएको थियो । यस्तै साउन ४ गते पुनः अवरुद्ध भएकामा २८ गते मात्रै सञ्चालनमा आएको विद्युत् फेरि भदौ १३ गतेदेखि पुनः अवरुद्ध भएको छ ।
विद्युत् आपूर्तिको समस्या पत्ता लगाउन स्वदेशी प्रविधिले नसकेपछि भारतबाट विद्युत् फल्ट फाइन्डिङ (खराबी पत्ता लगाउने) यन्त्र ल्याउने गरिएको छ । भरतपुर, चनौली, माडी ३३ केभी प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनाले उक्त परियोजनामार्फत यहाँ गएको मंसिरदेखि बिजुली बालेको थियो । एकपटक उक्त मेसिन ल्याउँदा रु साढे चार लाख जति खर्च लाग्छ ।
चनौली माडी ३३ केभी प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनाका प्रमुख जगदीशचन्द्र जोशी जमिनमुनि पटकपटक समस्या देखिएकाले वैकल्पिक व्यवस्थाको विषयमा छलफल भइरहेको बताउनुहुन्छ । पटक पटक समस्या आए पछि अहिले प्राधिकरणले मेसिन किन्ने प्रक्रिया शुरु गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस