Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश घोषणा, सेयर बजारमा राजनितीक अन्याैलताकाे प्रभाव

अर्थ संसार

सोमबार, ०८ फागुन २०७९, १७ : ५९ मा प्रकाशित

सोमबार दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ :

१. जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले घटाएर लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको  २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ९.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। यसअघि गत वर्ष संस्थाले शेयरधनीहरूलाई कुल ७३.६८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे । संस्थाले घाेषणा गरेकाे लाभांशकाे नकारात्मक प्रभाव स्वरूप आज संस्थाकाे सेयरमूल्य टप लुजरकाे पहिलाे नम्बरमा परेकाे छ ।

२. दोल्ती पावर कम्पनी लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेकाे छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ५ लाख ३६ हजार ४ सय ८६ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख ७ हजार २ सय ९८ कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गरेकाे हाे । यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा फागुन २५ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आवेदन दिने म्याद चैत ७ गतेसम्म लम्बिनेछ ।

३. भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि  आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेकाे छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका ५ लाख ४४ हजार ५३ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख ८ हजार ८११ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गरेकाे हाे । यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा फागुन २५ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आवेदन दिने म्याद चैत ७ गतेसम्म लम्बिनेछ ।

४. सेयर बजारमा राजनितीक अन्याैलताकाे प्रभाव परेकाे छ । माैद्रिक नीतिकाे समिक्षापछि घट्न सुरू भएकाे बजार निरन्तर ओरालाे यात्रामा छ । सोमबार नेप्से सूचक २३ दशमलव ६० अंकले घटेर २०४६.८१ विन्दुमा अडिएको छ । यस दिन २५८ कम्पनीको ६० लाख ९१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ९४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

५. नेपाल स्टक एक्चेन्ज (नेप्से) मा ग्लोबल आइएमई बैंक लिमिटेडकाे सेयर सूचीकृत भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड एकआपसमा १ : १ को अनुपातमा मर्ज हुँदा कायम हुन आएको प्रति सेयर अंकित मूल्य १०० रूपैयाँ दरको कुल ११ कराेड २६ लाख १४ हजार ३ सय ३७ दशमलव १७ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

६. सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ । संस्थाको ८ औँ बार्षिक साधारणसभा चैत्र ४ गते दुगौ पार्टी प्यालेस इटहरी सुनसरीमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछ । सभामा संस्थाकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्षकाे मुनाफाबाट ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश गरी कुल ११.५७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । लघुवित्तले साधारण सभा तथा लाभांश प्रयोजनार्थ फागुन २१ बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

७. गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ । संस्थाको छैठौँ बार्षिक साधारणसभा चैत्र २५ गते ह्वाईट हाउस पार्टी प्यालेस दुलेगौँडा तनहुँमा बिहान ११ बजेदेखि सुरु हुनेछ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ त्यसैले यो पटक सेयरधनीहरुको हात खाली हुनेछ । लघुवित्तले साधारण सभा प्रयोजनार्थ चैत्र १६ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले चैत्र १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

८.  सुन आयातमा कोटा सिस्टम खारेज गर्न व्यवसायीहरूले सरकारसँग माग राखेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले आज राजधानीमा संयुक्त पत्रकार सम्मेलन गर्दै यस्ताे माग राखेका हुन् ।  नेपाल राष्ट्र बैंकले गत फागुन २२ गते, आइतबार एक परिपत्र जारी गर्दै सुन आयातमा कोटा घटाएको थियाे । सरकारले काेटा सिस्टम घटाएर बन्देज लगाएकाे र काराेबार नियन्त्रण गर्न खाेजेकाे भन्दै काेटा सिस्टम खारेज हुनुपर्ने व्यवसायीकाे माग छ ।

९. फेसबुक र इन्स्टाग्रामकाअकाउन्ट भेरिफाई गर्न अब शुल्क लाग्ने भएको छ । फेसबुक र इन्स्टाग्रामको कम्पनी मेटाका प्रमुख मार्क जुकरबर्गले ब्लू टिक अर्थात् भेरिफाइड ह्यान्डलको सुविधामा शुल्क लगाउने घोषणा गरेका हुन् । जुकरबर्गले मेटा भेरिफाइड सेवाको परीक्षण सुरु गरिएकाे जानकारी दिँदै याे फिचर छिट्टै सारा संसारमा ल्याइने पनि घोषणा गरेका छन्  । यसबाट नक्कली वा नक्कली आईडी सिर्जनाको धम्की व्यवस्थापन गर्न सजिलो हुने मेटाको दाबी छ ।

१०. साेमबार नेपाली बजारमा सुन र चाँदी दुवैकाे मूल्य स्थिर रहेकाे छ । सोमबार पनि सुन प्रतितोला १ लाख ३ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १२ सय ९० रुपैयाँ नै कायम रहेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको