Like us!
Follow us!
Connect us!
Watch us!

१६० अर्बको पोल्ट्री उद्योग धराशयी हुने जोखिम

पत्रपत्रिका

बुधबार, १० फागुन २०७९, ०६ : ४० मा प्रकाशित

१६० अर्बको पोल्ट्री उद्योग धराशयी हुने जोखिम

सरकारले आत्मनिर्भर घोषणा गरेको पोल्ट्री उद्योग धराशयी हुने अवस्थाको डिलमा पुगेको छ । कोरोना महामारीको समयमा घाटामा गएको र त्यसपछि विश्व अर्थतन्त्रमा देखिएको सुस्तीका कारण माथि उठ्न नसक्दा १ सय ६० अर्ब लगानी रहेको व्यवसाय धराशयी हुने खतरामा पुगेको पोल्ट्री व्यवसायीले बताएका छन् । सरकारले २०७७ चैतमा पोल्ट्री उद्योगलाई आत्मनिर्भर घोषणा गरेको थियो ।

विश्व अर्थतन्त्रमा देखिएको उतारचढावका कारण कुखुरालाई खुवाउने दाना उत्पादन गर्ने कच्चा पदार्थ र औषधिको मूल्य अत्यधिक बढेर किसानले लागत मूल्य पनि नपाउने खतरा बढेपछि दाना र ह्याचरी उद्योग बन्द हुने क्रम बढेको बताइएको छ ।

नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौडेलका अनुसार ह्याचरी व्यवसायीले उत्पादन लागतअनुसार चल्लाको मूल्य नपाएपछि धमाधम उद्योग बन्द हुन थालेका छन् । तीन सय ६८ उद्योगमध्ये १ सय ५० बन्द भइसकेका छन् । सञ्चालनमा रहेका उद्योग पनि ६० प्रतिशत क्षमतामा मात्रै चलिरहेका छन् । त्यसैगरी १ सय १४ ओटा दाना उद्योगमध्ये ५० प्रतिशत बन्द भइसकेको व्यवसायीको दाबी छ ।

सामान्य अवस्थामा नेपालमा रहेका ह्याचरी उद्योगले हप्तामा ४५ लाख चल्ला उत्पादन गर्थे । अहिले चल्ला उत्पादन क्षमता २० लाखले घटेर २५ लाखमा सीमित भएको छ । ‘दाना र औषधिलगायत कच्चा पदार्थको मूल्य आकाशिएपछि किसानले चल्ला माग गर्नै छाडे,’ अध्यक्ष पौडेलले भने, ‘त्यसपछि चल्लाको लागत मूल्य पनि उठ्न छाड्यो । ५५ रुपैयाँ लागत पर्ने चल्ला ४० रुपैयाँमा विक्री गर्नुपर्ने बाध्यतामा छौं । विक्री नभएपछि लाखौं चल्ला नष्ट गर्नुपर्ने स्थिति पनि आयो ।’

यस्तो अवस्थामा पनि बिचौलियाले महीना दिन अघिसम्म भारतबाट तयारी मासु भित्र्याउँदा यस्तो अवस्था आयो,’ उनले  भने । दुई वर्षअघि दानामा प्रयोग हुने मकैको मूल्य २० रुपैयाँ किलो थियो । अहिले ४२ रुपैयाँ पुगेको छ ।

यसबीचमा भटमासको मूल्य ७५ रुपैयाँ किलोबाट बढेर १ सय २५ रुपैयाँ पुगेको छ । औषधिको मूल्य त्यसैगरी उकालो लागेको छ, जसले गर्दा कुखुरापालक किसान पनि पलायन हुन थालेको पोल्ट्री व्यवसायी महासंघका महासचिव दिनेशराज मिश्रले बताए । आर्थिक अभियान दैनिकमा समाचार छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको