Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा जीवन बीमाको लगानी ५४ अर्ब माथि, कुन कम्पनीले कति गरे लगानी ?

अर्थ संसार

शुक्रबार, १९ मंसिर २०८२, ११ : ३३ मा प्रकाशित

सेयर बजारमा जीवन बीमाको लगानी ५४ अर्ब माथि, कुन कम्पनीले कति गरे लगानी ?

सञ्चालनमा रहेका जीवन बीमा कमपनीहरुले चालु आर्थिक वर्षको ३ महिनामा सेयर बजारमा ५४ अर्ब बढीको लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले ५४ अर्ब ३ करोड ५४ लाख रुपैयाँ लगानी गरेका हुन् । जीनव बीमा कम्पनीले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ३७ अर्ब ७१ करोड ४ लाख रुपैयाँ र अन्य संस्थापक सेयरमा १६ अर्ब ३२ करोड ५० लाख रुपैयाँ लगानी गरेका हुन् । प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको ३ महिनामा १३ वटा बीमा कम्पनीले ३७ अर्ब ७१ करोड ४ लाख रुपैयाँ लगानी गरेका छन् । यो अवधिमा मेट लाइफ इन्स्योरेन्स कम्पनीले भने सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छैन ।

३ महिनाको अवधिमा सूचीकृत कम्पनीको सेयरमा सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्सले लगानी गरेको छ भने सबैभन्दा कम सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको लगानी देखिएको छ । हिमालयन लाइफले यो अवधिसम्ममा ११ अर्ब ३९ करोड ८४ लाख रुपैयाँ लगानी गरेको छ भने राष्ट्रिय जीवन बीमा कम्पनीले २० करोड ६४ लाख रुपैयाँ लगानी गरेको छ ।

प्राधिकरणका अनुसार धेरै लगानी गर्ने दोस्रो कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले ६ अर्ब ३३ करोड ३८ लाख रुपैयाँ लगानी गरेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३ अर्ब ८८ करोड ४६ लाख रुपैयाँ लगानी गरेको छ । प्राधिकरणका अनुसार ११ बीमा कम्पनीले बैंकको संस्थापक सेयरमा १६ अर्ब ३२ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन् । सानिमा रिलायन्स लाइफ, सिटिजन्स लाइफ र मेट लाइफ इन्स्योरेन्स कम्पनीले भने बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा लगानी गरेका छैनन् ।

पछिल्लो समय बैकले दिने प्रतिफल घट्दै गएपछि केही कम्पनी भने संस्थापक सेयरमा लगानी गर्न त्रसित बनेका छन् । चालु आर्थिक वर्षको तीन महिनामा वाणिज्य बैंकहरुमा लगानी माथीको औषत प्रतिफल (आरओई) ६.४० प्रतिशत रहेको छ । बीमा कम्पनीले आफ्नो ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा राख्ने गरेका छन् । अहिले वाणिज्य बैंकले संस्थागत मुद्दति निक्षेपमा ३ प्रतिशत भन्दा कम ब्याज दिने गरेका छन् । जसको प्रभाव बीमा कम्पनीको नाफामा देखिन थालेको छ । 

यसअघि बैंकले व्यक्तिगत निक्षेपमा भन्दा संस्थागतमा १ प्रतिशत कम ब्याजदर दिने गरेका थिए । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा मार्फत १ प्रतिशतको सीमा घटाएको छ । त्यो हटाउँदा पनि संस्थापक निक्षेपकर्ताले पाउने ब्याज ४ प्रतिशत पनि पुग्दैन । बैंकको घट्दो ब्याजको चपेटामा परेका बीमा कम्पनीहरुले संस्थापक सेयर किन्दा पनि लाभ भने धेरै पाउँदैनन् । तै पनि कतिपय बीमा कम्पनीले राम्रो लगानी गरेका छन् । बैंकको संस्थापक सेयर सबैभन्दा बढी एशियन लाइफले ३ अर्ब ९४ करोड ३९ लाख रुपैयाँ लगानी गरेको छ । सबैभन्दा कम आइएमई लाइफको १५ करोड ८१ लाख रुपैयाँ रहेको छ । बैंकको संस्थापक सेयरमा धेरै लगानी गर्ने दोस्रो कम्पनीमा नेपाल लाइफ रहेको छ । नेपाल लाइफले ३ अर्ब ३ करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ ।

यस्तै राष्ट्रिय जीवन बीमा कम्पनीले २ अर्ब ८३ करोड ४० लाख, नेशनल लाइफले २ अर्ब १० करोड ९० लाख रुपैयाँ लगानी गरेको छ । प्राधिकरणले जीवन बीमा कम्पनीहरूले सूचीकृत कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशतसम्म संस्थापक वा सर्वसाधारण सेयरमा लगानी गर्न पाउने व्यवस्था गरेको छ । प्राधिकरणले बीमकको लगानी सम्बन्धी निर्देशन २०८२ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । सोही व्यवस्था अनुसार कम्पनीहरुले लगानी गरेका हुन् । बीमा कम्पनीहरुले यो अवधिमा बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बण्ड, डिबेन्चर र ऋणपत्रमा ७१ अर्ब १ करोड ६ लाख, सूचीकृत पब्लिक कम्पनीको बण्ड, डिबेन्चर र ऋणपत्रमा ११ अर्ब २७ करोड ८७ लाख र इन्भेस्टमेन्ट कम्पनीको सेयरमा २ अर्ब ७३ करोड ७० लाख रुपैयाँ लगानी गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको