अर्थ संसार, काठमाडौँ, बिस वर्ष पहिले नीति थिएन, नियम पनि थिएन, कानुन थिएन । जलविद्युत् उत्पादन गर्ने तथा त्यसमा लगानी गर्ने काम सबै नेपाल विद्युत् प्राधिकरणले गर्ने गरेको थियो । सो समयमा नीजि क्षेत्रबाट जलविद्युत् कम्पनी स्थापना गरेर निर्माणमा जाने कुरा सहज थिएन ।
सरकारले नीजि क्षेत्रलाई लगानीका लागि अवसर पनि दिएको थिएन । तर समय बदलियो, मान्छेका सोच बदलिए । आवश्यकताले नै सिर्जना गर्छ भन्ने वैज्ञानिक सिद्धान्त नेपालको हकमा पनि लागू भयो ।
तत्कालीन जलस्रोत मन्त्री शैलजा आचार्यले मुलुकको जलविद्युत् निर्माण तथा उतापदनमा नीजि क्षेत्रलाई पनि सहभागी गराउने र राष्ट्रिय आवश्यकता पूरा गर्ने लक्ष्यका साथ विद्युत् ऐन र जलस्रोत ऐनमा समय सापेक्ष सुधार गरिन । जलविद्युत् ऐनमा भएको सुधार पछि मुलुकको जलविद्युत् क्षेत्रमा नीजि क्षेत्रले प्रवेश पायो ।
हिजोको इतिहासबाट आज वर्तमानसम्म आइपुग्दा मुलुकको ऊर्जा क्षेत्रमा प्राधिकरणले गरे जत्तिकै योगदान गर्ने अवस्थामा नीजि क्षेत्र पनि अग्रसर भइरहेको छ ।
बिस वर्ष पहिले अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी स्थापना हुँदा खोलाको पानी पेलेर पनि विद्युत् उत्पादन हुन्छ भन्दै खिसी ट्यूरी गर्नेहरु आज आएर बल्ल जलविद्युत् क्षेत्रलाई हेर्ने र बुझ्ने अवस्थामा आइपुगेका छन् ।
स्वदेशी नीजि क्षेत्र जलविद्युत् आयोजनामा आएको पहिलो पटक हो अरुण भ्यालीमा । तीन मेगावाट क्षमताको जलविद्युत् आयोजना बनाउनु पनि सहज विषय थिएन । पिलुवा खोला संखुवासभाको चर्चित खोला ।
सो खोलाबाट पनि विद्युत् निस्कन्छ भन्दा धेरैले जिभ्रो टोकेका थिए । तर पानीबाट विद्युत् निस्कन सक्छ भन्ने मान्यता स्थापित गर्न सहज थिएन । जुन कुरा सहज थिएन त्यही गरियो, आज मुलुकको सबैभन्दा पायनिर कम्पनीको रुपमा अरुण भ्याली हाइड्रोपावर कम्पनी स्थापित छ भन्दा मेरो छाती गर्वले फूल्छ, अरुण भ्याली हाइड्रो पावर कम्पनीका प्रबन्ध निर्देशक रमेशप्रसाद न्यौपानेले भने ।
हामीले सजिलो होइन अप्ठेयारो बाटो रोजेका थियौ, बाटो सहज थिएन, अनेकन् हन्डर र ठक्करहरु खाइयो, तर आयोजना जसरी पनि सम्पन्न बनाउनै पर्ने थियो । मान्छेका आशंका पनि निवारण गर्नुपर्ने थियो । बैंक तथा वित्तीय संस्थालाई विश्वासमा लिनु पनि थियो । जलविद्युत्मा लगानी गर्दा फाइदै फाइदा हुन्छ, नाफा लिन सकिन्छ भन्ने पनि स्थापित गर्नु थियो ।
पहिलो पटक गोरेटो खन्दा कुनै पनि काम सहज हुदैन, आज मान्छेले धेरै ठूला ठूला गफ लडाएकै भरमा जलविद्युत् आयोजना अगाडि बढाउन सकिन्छ भन्ने नकारात्मक मानसिकता पनि स्थापित भएको छ । तर विगत सहज थिएन । पिलुवाको पानीमा बिजुली खोज्ने हाम्रो अभियान आज आएर साकार भएको छ ।
तीन मेगावाटको अनुमतिपत्र लिएर निर्माणमा जाँदा खाएको अनेकन हन्डर र ठक्कर आज एउटा महाभारतको कथा भन्दा फरक छैन, तर आज बिस वर्ष पछि आएर हेर्दा लाग्छ, हामी सफल भएछौ, जनताले विश्वास गरे, लगानीकर्ताले विश्वास गरे । बैंक तथा वित्तीय संस्थाले विश्वास गरे, प्रबन्ध निर्देशक न्यौपानेले खुसी हुँदै भने ।
रु एक सयमा किनेको साधारण सेयरको मूल्य आज रु २५० पुगेको छ । आर्थिक वर्ष २०७३/७४ मा कमाएको नाफाबाट कम्पनीले सेयरधनीलाई १० प्रतिशत लाभाशं वितरण गर्ने तयारी गरेको छ ।
सेयरधनीलाई खुसी राख्नु र कम्पनीलाई विविधिकरण गर्दै सफलताको यात्रामा अगाडि बढ्नु पनि सहज र सरल विषय पक्कै होइन, न्यौपानेले अगाडि थपे, तर हामी आज सफल भएका छौ । अरुण भ्यालीले नै आज काबेली बी–१ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
कुल ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । आगामी चैतसम्म निर्माण सम्पन्न गर्ने योजनामा हामी लागेका छौ, न्यौपानेको भनाइ छ । सो आयोजनाको क्षमता २५ मेगावाट रहेको छ । चार सय करोड लगानी रहेको सो आयोजना निर्माण सम्पन्न हुँदै गर्दा एउटा पिरलोले भने न्यौपानेलाई सताएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको मेची कोरिडोर प्रसारण लाइनको निर्माण कार्य धिमा गतिमा छ ।
विश्व बैंकको ऋण सहयोगमा निर्माण भइरहेको ९० किलोमिटर लामो प्रसारण लाइन निर्माण सम्पन्न नभए आयोजना सकिएर पनि विद्युत् उत्पादन गर्न सकिएन भने त्यो भन्दा दुखद विषय अरु के हुन सक्ला र न्यौपाने चिन्तित देखिए ।
पाँचथरको अमरपुर सवस्टेशन आयोजनाको विद्युत् गृहबाट पाँच किलोमिटरको दुरीमा छ , हामी निर्माण पनि सक्छौ, पाँच किलोमिटर प्रसारण लाइन पनि बनाउँछौ, तर प्राधिकरणको काम सकिएन भने त्यसले पार्ने प्रभाव कति विकराल होला खै, उनी हल्का सुस्ताए ।
भन्न त ठेकेदारले पचास प्रतिशत काम सकाएको छ, २०७५ वैशाख दश गतेसम्म ठेकेदारको म्याद पनि थपिएको छ । काम सम्पन्न भए २५ मेगावाट विद्युत् अरुण भ्यालीकै नाममा राष्ट्रिग ग्रीडमा जोडदा त्यस दिन आउने आनन्द छुट्टै हुनेछ न्यौपाने थप खुसी देखिए ।
नेपालको जलविद्युत् क्षेत्रकै समस्याको रुपमा प्रसारण लाइन निर्माण देखिएको छ । प्राधिकरणको क्षमताले अब प्रसारण लाइन निर्माण गर्न सक्दैन भन्ने देखिएको छ । मुआब्जा वितरणमा समस्या, जग्गा प्राप्तिमा समस्या जताततै समस्या नै समस्या छ । अब प्रसारण लाइन निर्माणको जिम्मा नीजि क्षेत्रलाई दिनुपर्छ, न्यौपानेले भने ।
जलविद्युत् क्षेत्रमा नयाँ केही गरौ भन्ने सोचका साथ काम गरिरहेका छौ न्यौपाने केही आशावादी देखिए । अरुण भ्याली हाइड्रो पावरले काबेली बी एक नामक अर्को आयोजना पनि निर्माणको अन्तिम चरणमा पुर्याएको छ । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भइसकेको छ । दुई सय करोड लागतमा सो आयोजना अगाडि बढ्न लागेको छ । सो आयोजनालाई पिआरओआर मोडलमा अगाडि बढाउन लागिएको हो ।
२५ मेगावाट क्षमताको आयोजना सक्ने बित्तिकै सो आयोजना निर्माण सुरु गर्ने न्यौपानेको तयारी छ । यस्तै अरुण भ्यालीले नै अप्पर काबेली जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र लिइसकेको छ । चार महिना पहिले विद्युत विकास विभागबाट लिएको सो सर्वेक्षणपत्रअनुसार अध्ययनको काम भइरहेको न्यौपानेले बताए ।
नेपालमा जलविद्युत्को क्षेत्रमा केही गरौ भन्ने सोच छ, तर जटिलता अनेकन छन् । वनको समस्या, वातावरणको समस्या, मुआब्जा, जग्गा प्राप्ति, बैंकको व्याजदर उच्च छ । स्थानीय तहमा राजनीतिक नेतृत्वले कुरा बुझ्दैनन्, चुल्ठे मुन्द्रेको त्यस्तै ज्यादती छ । काम गर्ने वातावरण राज्यले बनाउनुपर्नेमा त्यस्तो हुन सकेको छैन, उनले भने ।
जलविद्युत् एउटा उद्योग हो, त्यसलाई उद्योगको रुपमा विकास गर्नुपर्नेमा राज्य कहिल्यै सहयोगी नबन्दा समस्या हुँदो रहेछ । नीजि क्षेत्र मैत्री मात्रै सरकार बन्ने हो भने मुलुकमा धेरै समस्या समाधान हुन सक्छ, न्यौपानेले सुझाव दिए ।
जलविद्युत विकासका क्रममा विगत २० वर्ष देखि अनवरत रुपमा कार्यरत अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड को २० औं वार्षिक साधारण सभा यही भदौ ३० गते शुुक्रवार आयोजना गरिएको छ । सो साधारणसभाले कम्पनीको नयाँ संचालन समिति र आगामि कार्यक्रम समेत पारित गर्नेछ भने १० प्रतिशत लाभांश दिने घोषणा समेत गर्नेछ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस