Like us!
Follow us!
Connect us!
Watch us!

नागरिकता विधेयक–२०७९ तत्काल प्रमाणीकरण गर्न नागरिताविहीन संघर्ष समितिको माग

अर्थ संसार

शनिबार, २७ फागुन २०७९, १५ : ५० मा प्रकाशित

नागरिकता विधेयक–२०७९ तत्काल प्रमाणीकरण गर्न नागरिताविहीन संघर्ष समितिको माग

नागरिकता विहीन संघर्ष समिति नेपालले नागरिकता विधेक–२०७९ तत्काल प्रमाणीकरणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा संघर्ष समितिले पत्रकार सम्मेलन गरी नागरिकता विधेयक–२०७९ प्रमाणीकरणका लागि नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएको हो । 

जन्मको आधारमा नागरिकता पाएका नेपाली आमाबाबुका करिब ११ लाख सन्तानहरु नागरिकताबाट बञ्चित हुनुपरेको संघर्ष समितिको भनाई छ । आमाबाबु नेपाली नागरिक भएरपनि कानुन अभावको कारण आफ्ना सन्तानलाई नागरिकता दिन नसक्ने अवस्था आउनु गम्भीर विषय भएको संघर्ष समितिको बुझाई छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई÷दुई पटक नागरिकता विधेयक फिर्ता पठाएको भन्दै संघर्ष समितिले विज्ञप्तिमा भनेको छ–‘प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुई÷दुईपटक बहुमतले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाईसकेको विधेयक निष्क्रिय हुन्छ भनेर २०७२ को संविधान कुनै धारा उपधाराले भन्दैन । तसर्थ हाम्रो देश नेपालका भावी राष्ट्रपति सम्माननीय रामचन्द्र पौडेल ज्युलाई नागरिकता विद्येयक २०७९ लाई प्रमाणीकरण गरी लाखौं वास्तविक नेपाली नागरिकको जीवन उज्वल बनाई दिनका लागि हार्दिक अनुरोध गर्दछौं ।’

नागरिकताविहिन सङ्घर्ष समिति नेपालका अध्यक्ष ईन्द्रजित साफीले नेपालको संविधान २०७२ जारी भएको झण्डै आठ वर्ष हुँदा पनि नागरिकता सम्बन्धी विवाद टुंगोमा नपुग्नु दुःखद् भएको बताए । राष्ट्रपति भण्डारीले दुईपटक फिर्ता गरेको सोही नागरिता विधेक प्रमाणीकरणका लागि उनले नवनिर्वाचित राष्ट्रपति पौडेललाई आग्रह गरे । 

‘२०७२ को संविधान झण्डै आठ वर्ष हुन लाग्यो । यो संविधानमा अहिलेसम्म नागरिकता सम्बन्धी व्यवस्था संशोधन नभएको कारणले गर्दा, २०६३ को नागरिकता ऐन संशोधन नभएको कारणले गर्दा यो देशमा लाखौं जन्मसिद्ध नागरिकका सन्तान र एकल आमाका सन्तान अहिलेसम्म नागरिकता पाएको छैन,’– उनले भने । 

नेपालमा विदेशीलाई नागरिकता पाउन सजिलो र वास्तविक नेपालीले नागरिकता पाउन गाह्रो भएको उनले बताए । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट बहुमतले पारित गरेर राष्ट्रपति कहाँ पठाएको नागरिकता विधेक पारित नगर्नु संविधानविपरित भएको संघर्ष समितिको बुझाई छ । संविधनको रक्षकले नै प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बहुमतले पारित गरेको विधेयक दुई–दुई पटक फिर्ता हुनु आपत्तिजनक भएको संघर्ष समितिले बताएको छ । 

नागरिकता विधेयक राष्ट्रघाती छ र उक्त विधेयक प्रमाणीकरण भएमा नेपाल सिक्किमीकरण हुने भन्दै गलत प्रचारप्रसार भएको संघर्ष समितिले बताएको छ । जन्मको आधारमा नागरिकता पाएका नेपाली आमा बाबुका सन्तानलाई सरकारले अनागरिक बनाएको साफीले बताए । 

‘यही काठमाडौंको कुनै होटलमा बस्नुपर्यो भनेपनि नागरिकता चाहिन्छ । यतिकुरा सरकारले प्रष्ट पारिदिनुपर्यो जसको बाबुआमा नेपाली नागरिक छ उसको सन्तानलाई चाहिँ अनागरिक बनाएर हुन्छ । हुँदैन नि त । हाम्रो माग यही छ । जसको बाबुआमा नेपाली छन् उसलाई छिटोभन्दा छिटो नागरिकता दिइनु पर्छ र नागरिकताको समस्या समाधान गरिनुपर्छ,’– उनले भने । नागरिकता नभएकै कारण आफूले उच्च शिक्षा हासिल गर्ने अवसर नपाएको, जागिरबाट बञ्चित हुनुपरेको उनले बताए ।
 
कार्यक्रमकी वक्ता कर्मा तमाङले नागरिकताविहीनहरुको आन्दोलनमा समर्थन जनाएकी छन् । लाखौं युवाहरु नागरिकता नभएको कारण श्रम बजारमा जान नसक्नु दुःखद् भएको उनले बताइन् । नेपाल नागरिकता ऐन २०६३ का आधारमा जन्मको आधारमा नागरिकता पाएको र उनीहरुको बालिग भएका शन्तालनले नागरिकता नपाउनु, आमाको नामबाट नागरिकता दिन आनाकानी गरिन दुःखद् भएको उनले बताइन् । सन्तानले आफ्नो बाबुको नाम तोक्न नचाहेको अवस्थामा आमाको नामबाट नागरिकता पाउने बाटो खुलाउनुपर्ने उनको माग छ । 

‘अनुमानित ११ लाख नेपालीहरु कानुन नबनेर नागरिकता नपाउँदा राज्यविहीन हुनु भनेको दुःखद् कुरा हो । पहिलो त यो मानव अधिकारको हिसाबले पनि घोर अन्याय हो । हामी सबैले यसको विरुद्ध बोल्नु कर्तव्य बन्न आउँछ । यसले हालसम्म सरकारमा पुगेकाहरुको असक्षमता देखाउँछ,’–उनले भनिन् । 

अहिलेका नवनिर्वाचित राष्ट्रपति र सांसदहरुले नागरिकता विधेयकलाई पारित गराएर नागरिकता सम्बन्धि समस्या समाधानमा सहयोग गर्ने कुरामा आशावादी रहेको उनले बताईन् । नागरिकताविहीन संघर्ष समितिका सदस्य उत्तम कुमारले सिडियोले आफूहरुलाई नेपाली सरकारले जन्मसिद्ध नागरिकलाई नागरिकता दिन नेपाल सरकारको आदेश छैन भनेर फर्काउने गरेको बताए । कुनै पनि नेपाली नागरिकको सन्तानलाई नागरिकताबाट बञ्चित गरिने छैन भनेर नेपालको संविधानमा प्रष्ट लेखिएको अवस्थामासमेत आफूहरुले दुःख झेलिरहनु परेको उनले गुनासो गरे । 

‘जबकी नेपालको संविधानमा प्रष्ट लेखिएको छ, कुनैपनि नेपाली नागरिकको सन्तानलाई नागरिकताबाट बञ्चित गरिने छैन । तर यहाँ बारम्बार सदनमा विधेयक आउँछ । राष्ट्रपतिले विधेयक फिर्ता पठाउँछ । नेपाली नागरिक मर्कामा परेको छ,’– उनले भने । नागरिकता अभावकै कारण शिक्षा, स्वास्थ्य, रोजगारबाट नागरिकता बिहीनहरु बञ्चित हुनुपरेको उनले बताए । नागरिकता विहीनहरु नागरिकता अभावकै कारण जीवन मरणको अवस्थामा पुगेको उनले बताए । यस्ता समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने उनले औंल्याए । नागरिकता अभावकै कारण उच्च शिक्षा हासिल गरेका योग्य जनशक्तिले रोजगारबाट बञ्चित हुनुपरेको उनले बताए । आफू नेपालको नागरिक भएर नागरिकता हुँदाहुँदै पनि आफ्नो सन्तानलाई नागरिकता दिन नसकेको भन्दै उनले दुखेसो पोखे । 

त्यसैगरी आफूसँग नेपाली नागरिकता भएर पनि आफ्ना सन्तानलाई नागरिकता दिन नसकेका कमलजित सिंहले आफूले २०६३ सालमा जन्मको आधारमा नागरिकता पाएको बताए । जन्मको आधारमा नागरिकता प्राप्त गरेको व्यक्तिको सन्तानले नागरिकता प्राप्तिबाट बञ्चित हुनु दुःखद् भएको उनले बताए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको