Like us!
Follow us!
Connect us!
Watch us!

‘आर्थिक समृद्धिका लागि संस्कृति’ मुख्य नाराका साथ गोदावरी महोत्सव आयोजना हुँदै

अर्थ संसार

आइतबार, २८ फागुन २०७९, १७ : ५२ मा प्रकाशित

‘आर्थिक समृद्धिका लागि संस्कृति’ मुख्य नाराका साथ गोदावरी महोत्सव आयोजना हुँदै

आर्थिक क्रियाकलाप बढाउने लक्ष्यका साथ ललितपुरको गोदावरी नगरपालिकामा प्रथम गोदावरी महोत्सव आयोजना हुने भएको छ । गोदावरी नगरपालिकाको संरक्षकत्व तथा गोदावरी उद्योग वाणिज्य संघको आयोजना र ईभेन्ट सोलुसन प्रा.लि.को व्यवस्थापनमा आगामी २०७९ चैत २९ गते देखि २०८० वैशाख ३ गतेसम्म ५ दिने गोदावरी महोत्सव २०२३ आयोजना हुन लागेको हो ।  

नेपाली नयाँ वर्ष २०८० र गोदावरी नगरपालिका स्थापना दिवसको अवसरमा “आर्थिक समृद्धिका लागि संस्कृति” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवले गोदावरी नगरपालिकामा रहेका स्थानीय वस्तु, कला, संस्कृति, नवप्रवर्तक, विद्यमान एवं नव उद्यमीहरुलाई बजारीकरणका साथै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास लिइएको छ ।  

महोत्सवको मुख्य आकषर्णको रुपमा संस्थागत खरिदकर्ता र उत्पादकबीच भेटघाट, लगानीकर्ता र उद्यमीबीच छलफल, स्थानीय उत्सव, खेल उत्सव, साहित्य उत्सव, गोदावरी कन्क्लेभ रहनेछन् । ‘बायर सेलर मिट’मा देशका मुख्य खरिदकर्ताहरु तथा महोत्सवस्थलमा रहेका स्थानीय उत्पादनकर्तासँग भेटघाट गरी स्थानीय उत्पादनको खरिद र दीगो व्यापारका लागि संयुक्त समझदारीपत्र (एमओयु) समेत गरिने वातावरण निर्माण गरिनेछ । 

यसैगरी ‘बैंकर बरोअर मिट’मार्फत स्थानीय क्षेत्रमा रहेका उद्योगी र बैंकहरुलाई एकै स्थानमा राखी लगानीको वातावरणलाई अझ सहज बनाउन भूमिका खेलिने छ । 
महोत्सवमा गोदावरी क्षेत्रका स्थानीय क्षेत्र र जातजाति तथा संस्कृतिको पहिचान दिने गरी स्थानका आधारमा स्थानीय उत्सवको आयोजना गरिनेछ । थेचो उत्सव, चम्पापुर उत्सव, ठैव उत्सव, कोड्कु उत्सव, साहित्य उत्सव, खेल उत्सव आदि नामबाट उत्सव आयोजना गरिनेछ । उक्त महोत्सवमार्फत स्थानीय क्षेत्रका आदिवासीहरु दनुवार, पहरी, तामाङ आदिको सांस्कृतिक पहिचानलाई उजागर गरिनेछ । 

महोत्सवको अर्को आकर्षणको रुपमा गोदावरी कन्क्लेभ हुनेछ । उक्त कन्क्लेभमा देशका प्रतिष्ठित आर्थिक व्यक्तित्वसँगको छलफल र प्रश्नोत्तर कार्यक्रम राखिने छ । 
महोत्सव अवधिभर पर्यटकहरुको मनोरञ्जनका लागि परम्परागत सांस्कृतिक कार्यक्रम, सांगीतिक कार्यक्रम, साहासिक गतिविधि तथा व्यापारिक कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरु आयोजना गरिने छ । महोत्सवमार्फत स्थानीय कला र संस्कृतिको प्रवद्र्धन, पर्यटन प्रवद्र्धन, महिला उद्यमशीलता प्रवद्र्धन, स्थानीय कलाकारको आकर्षक कार्यक्रम, घरेलु तथा लघु उद्यमको प्रवद्र्धनका विशेष कार्यक्रमहरु संचालन हुनेछन् । 

महोत्सवमा २०० भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्टलहरु राखिनेछन् । मुख्य रुपमा स्थानीय  उत्पादन, हस्तकलाका सामाग्री, संस्कृति झल्काउने सामाग्रीहरू, गार्मेन्ट सामग्री, स्थानीय खाद्य उत्पादन, फुलसम्बन्धी उत्पादन, कृषि उत्पादन, वित्तीय संस्थाहरू जस्तै बैंक, बीमा, शैक्षिक संस्थाहरू, परामर्श संस्था, अनलाइन व्यापार तथा सेवालगायतका विभिन्न विधाका स्टलहरु राखिनेछ । 

५ दिनसम्म संचालन हुने महोत्सवमा १ लाख भन्दा वढी  अवलोकनकर्ताहरु प्रत्यक्ष सहभागी हुने अनुमान गरिएको छ । काठमाडौं उपत्यका नजिकैको सबैभन्दा लोकप्रिय गन्तव्य मध्येमा गोदावरी एक हो । लिच्छवीकालिन तथा मल्लकालिन प्राचिन क्षेत्रहरु प्याङगाउँ, लेले, चापागाउँ, मञ्जुश्रीभन्दा पुरानो बाडेगाउँको भगवान पाउ, समुन्द्री सतहबाट २ हजार ७६२ मिटर उचाइमा रहेको फुलचोकी डाँडा आदि गोदावरीको क्षेत्रको आकर्षणको रुपमा लिइन्छ । 

आन्तरिक पर्यटनमार्फत मनोरञ्जनका लागि सहज गन्तब्यको रुपमा रहेको गोदावरीमा महोत्सवमार्फत आर्थिक समृद्धिमा भूमिका खेल्ने विश्वास लिइएको छ ।महोत्सवले स्थानीयस्तरमा व्यवसायिक क्रियाकलाप बढ्ने मात्र नभई आगामी दिनमा स्वदेशी तथा विदेशी पर्यटकलाई गोदावरीसम्म पु¥याउन महत्वपुर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको