Like us!
Follow us!
Connect us!
Watch us!

किन भयो राष्ट्र बैंक घेराउ ?

अर्थ संसार

सोमबार, २९ फागुन २०७९, १८ : ०१ मा प्रकाशित

साेमबार दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ :

१. भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेकाे छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३८ लाख २५ हजार साधारण सेयर (आईपीओ) निष्कासन गर्न सेबाेनमा निवेदन पेश गरेकाे हाे ।  कम्पनीकाे उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

२. आन्दोलनका अनेकौँ कार्यक्रम अन्तर्गत आज सोमबार उद्योगी व्यवसायीहरुले राष्ट्र बैंक घेराउ गरेका छन् ।  बैंक तथा वित्तीय समस्या संघर्ष समितिको आयोजनामा आज राष्ट्र बैंक घेराउ गरिएको हो । यही समितिले हिजो पनि माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको थियो । समितिले एकल अंकको ब्याजदर कायम हुनुपर्ने, उद्योग र व्यापारको ब्याजदरमा २ प्रतिशतको फरक हुनुपर्ने, आधार दरमा प्रिमियम बढीमा २ प्रतिशत मात्र थप हुनुपर्ने, स्प्रेड दर बढीमा २ प्रतिशत र आधार दर बेस रेट गणना तरीका सार्वजनिक गरिनुपर्ने लगायतका माग राखेको छ ।

३.  विकास बैंकहरुले ब्याजदर घटाउने निर्णय गरेका छन् । डेभलपमेन्ट बैंकर्स एशोसिएसनको आज बसेको बैठकले चैत १ गतेदेखि लागू हुने गरी विकास बैंकहरुको मुद्दति निक्षेप र बचतको ब्याजदर घटाउने निर्णय गरेको हो । बैठकले मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको छ ।  जस अनुसार चैत १ गतेदेखि १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम हुनेछ। एकवर्ष वा सोभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने घटेर ११.५० प्रतिशतमा झरेको छ । त्यसैगरी, चैतमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ९.५० र रेमिट्यान्समा १२.५० प्रतिशत ब्याजदर कायम गरिएको छ । 

४. नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज चिलिमे जलविद्युत कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार कम्पनीको ७.५ प्रतिशत बोनस बापतको ५० लाख ६३ हजार ८ सय ४६ दशमलव ०१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

५. सगरमाथा र लुम्बिनी इन्सुरेन्स एक आपसमा मर्ज भएर आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । यी २ कम्पनी १००ः८० काे अनुपातमा मर्ज भएका हुन् । मर्जरपछि अब सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुनेछ । कम्पनीकाे केन्द्रीय कार्यालय का.म.पा वडा–१ नक्सालमा रहनेछ ।

६.  सेयर बजार निरन्तर ओरालो यात्रामा छ । सोमबार पनि  नेप्से परिसूचक २४.६८ अंकले घटेर १९५१.२१ विन्दुमा आएको छ । कुल २५६ वोटा कम्पनीको ३३ लाख ६९ हजार एक सय ३६ कित्ता सेयर खरिदबिक्री हुदा १ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ ।

७. अमेरिकामा बैंकिङ संकट गहिरिँदै गएको छ। सिलिकन भ्याली बैंक बन्द भएको दुई दिन नबित्दै फेरि अर्को सिग्नेचर बैंकमा ताला लगाइएको छ। सिग्नेचर बैंकमा क्रिप्टोकरेन्सीको स्टक थियो। त्यसको जोखिमका कारण यो बैंक केही समयका लागि बन्द गरिएको हो । न्युयोर्क स्टेटको फाइनान्स सर्भिस डिपार्टमेन्टका अनुसार फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले सिग्नेचर बैंक आफ्नो नियन्त्रणमा लिएको छ।

८.  नेपाल राष्ट्र बैंकले 'अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९' जारी गरेको छ । राष्ट्र बैंकले ‘‘नेपाल राष्ट्र बैंक अन्तिम ऋणदातासम्बन्धी नीतिगत व्यवस्था, २०६७” खारेज गरि 'अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९' जारी गरेको हो।  बैंकहरुले विभिन्न दायित्व पूरा गर्न नसकेको ९ अवस्थामा राष्ट्र बैंकले यो सुविधा दिने भएको छ ।

९.  नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा थप २ कम्पनीकाे काराेबार राेक्का भएकाे छ । मर्जरपश्चात् आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले भाेलि मंगलबारदेखि एकिकृत काराेबार सुरू गर्दैछन् । साेही प्रयाेजनका लागी भाेलि मंगलबारबाट नेप्सेमा यी २ कम्पनीकाे काराेबार राेक्का हुने भएकाे हाे ।

१०. सोमबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँ कायम भएको छ ।  सोमबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १२ सय ५५ सय रुपैयाँ कायम भएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको