Like us!
Follow us!
Connect us!
Watch us!

एसीसी प्रिमियर कप क्रिकेटः नेपालले ओमनलाई हरायो

अर्थ संसार

शुक्रबार, ०८ बैशाख २०८०, १७ : ३० मा प्रकाशित

एसीसी प्रिमियर कप क्रिकेटः नेपालले ओमनलाई हरायो

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तरगत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमनलाई पराजित गरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले ओमनलाई ८४ रनले पराजित गर्दै विजयी भएको हो । यसजितसँगै दुई खेल खेलेको नेपालले चार अङ्क जोडेको छ । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । 

खेलमा नेपालले जितको लागि दिएको तीन सय ११ रनको लक्ष्य पच्छ्याएको ओमन ४६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय २६ रनमा समेटियो । ओमनका खेलाडी अकिब इलियास क्रिजमा व्याटिङ गर्न नआई घाइते भएपछि उनी रिटायर्ट आउट भए र नेपालको जित सुनिश्चित हुन पुग्यो । 

ओमनको लागि मोहम्मद नदिमले सर्वाधिक ६५ रनको योगदान दिए । ८४ बल खेलेका उनले सात चौका र एक छक्काको मद्दतमा ६५ रन बनाएका हुन् । यसैगरी सन्दिप गौडले ४६ रनको योगदान दिए भने कस्यप प्रजापतिले २५ तथा फायज बुट्टले १९ रन बनाए । 

बलिङतर्फ नेपालका सन्दिप लामिछाने र करण केसीले समान तीन÷तीन विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवशीले एक विकेट झारे ।  

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर तीन सय १० रनको योगफल बनाएको हो । यो नेपालले एक दिवसीय खेलमा हालसम्मकै उच्च योगफल बनाएको हो । यसअघि घरेलु मैदानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग २ मा नेपालले पपुवा न्युगिनीविरुद्धको खेलमा दुई सय ९७ रन थियो ।

नेपालका लागि कुशल मल्लले शतकीय पारी खेले । ६४ बल खेलेका उनले सर्वाधिक एक सय आठ रनको योगदान गरे । उनले १० छक्का र ९ चौकाको मद्दतमा एक सय आठ रनको योगदान गरेका हुन् । खेलको सुरुआती समयमा उत्कृष्ट हुन नसकेको खेलमा नेपालका मध्येक्रमका ब्याटरले राम्रो साझेदारी गरेपछि नेपाल बलियो स्थितिमा पुुगेको थियो । 

नेपाली टोलीको स्कोर शून्य रनमा रहँदा दुवै ओपनरलाई गुमाएको नेपालले २८औँ बलमा रनको खाता खोलेको थियो । तेस्रो विकेटका लागि कप्तान रोहितकुमार पौडेल र भिम सार्कीले ५४ रनको साझेदारी गरेका थिए । कप्तान रोहितले २३ रन बनाउँदा भिम ३३ रनमा आउट भए । 

पाँचौ विकेटका लागि कुशल मल्ल र आरिफ शेखले ७५ रनको साझेदारी गरेका थिए । आरिफ २९ रन बनाउँदै आउट भएका थिए ।  यसैगरी सोमपाल कामीले ४८ बलमा ६३ रनमा अविजित रहे । सोमपाल कामीले ४९ बलमा ७ चौकाको सहयोगमा अर्धशतक बनाएका हुन । त्यस्तै करण केसीले १५ बलमा २९ रन बनाउँदै अविजित रहे ।

बलिङतर्फ ओमानका लागि आयान खानले दुई विकेट लिए भने बिलाल खान, कलिमुल्लाह खान, जिशान मकशुद, फायाज बट र जतिन्दर सिंहले समान एक÷एक विकेट झारे । 

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । नेपालले आफ्नो तेस्रो खेल सोमबार साउदी अरेवियासँग खेल्नेछ ।

त्यस्तै समूह ‘बी’मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, बहराइन र सिंगापुर छन् । हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

नेपाली स्पीनर सन्दीप लामिछानेले नेपाली क्रिकेट इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन् । उनले कम खेलमा एक सय विकेट लिने विश्वका पहिलो बलर बने । उनले ओमनका खेलाडी अदिल शफिकको विकेट लिएसँगै कम खेलमा एक सय विकेट लिने विश्वको पहिलो बलर बन्न सफल भएका हुन् । 

उनले ४२ खेल खेलेर एक सय विकेट पूरा गरेका हुन् । त्यस्तै लामिछाने एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेट खेलमा एक सय विकेट लिने नेपालको पहिलो बलरसमेत बने । अघिल्लो महिना घरेलु मैदानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा लामिछानेले मोहम्मद वासिमलाई आउट गराएपछि उनको विकेटको संख्या ९९ पुगेको थियो । लामिछानेले सन् २०१८ मा नेदरल्याण्ड्स विरुद्धको एक दिवसीय खेलबाट डेब्यु गरेका थिए । 

यसअघि उक्त कीर्तिमान अफगानिस्तानको खेलाडी राशिद खानले बनाएका थिए । खानले सन् २०१५ मा ४४ खेल खेलेर उक्त कीर्तिमान बनाएका थिए ।

कुशलको एकदिवसीय खेलमा पहिलो शतक÷एकै खेलमा धेरै छक्का प्रहार गर्ने नेपालका पहिलो खेलाडी बने । बायाँ हाते नेपाली युवा ब्याटर कुशल मल्लले एकदिवसीय खेलमा पहिलो शतक प्रहार गरेका हुन् । आजको खेलमा छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका मल्लले ५९ बलमा शतक पूरा गरेका हुन् । 

यसअघि नेपालका लागि पूर्वकप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र कुशल भुर्तेलले शतक प्रहार गरिसकेका छन् । मल्लले सन् २०२० मा घरेलु मैदानमा आयोजना भएको विश्वकप क्रिकेट लिग दुई अन्तर्गत अमेरिका विरुद्धको खेलबाट डेब्यु गरेका थिए । 

त्यस्तै उनले नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितको एकै खेलमा सर्वाधिक छक्का हान्ने पहिलो खेलाडीसमेत बनेका छन् । उनले ओमनविरुद्धको खेलमा ६४ बलमा ९ चौका र १० छक्का प्रहार गरे । उनले एक सय आठ रनको शतकीय पारी खेलेका थिए ।

अन्तर्राष्ट्रिय खेलमा नेपालका अन्य कुनै ब्याटरले १० छक्का प्रहार गर्ने सकेका छैनन् । यसअघि नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले एकै खेलमा समान ९ छक्का प्रहार गरेका थिए ।-रासस/Photo Source: CAN

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको