Like us!
Follow us!
Connect us!
Watch us!

व्यवसाय विस्तारमा आक्रामक बैंकहरु - ११ महिनामा ७ खर्ब निक्षेप थपिँदा ३ खर्ब मात्रै ऋण, कुनको कति ?

अर्थ संसार

मंगलबार, ०९ असार २०८३, १५ : २५ मा प्रकाशित

व्यवसाय विस्तारमा आक्रामक बैंकहरु - ११ महिनामा ७ खर्ब निक्षेप थपिँदा ३ खर्ब मात्रै ऋण, कुनको कति ?

नेपाल बैंकर्स संघले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को ११ महिना (जेठ मसान्त) सम्मको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूको निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा वृद्धि देखिएको छ। गत आर्थिक वर्षको असार मसान्तमा ६५ खर्ब ३० अर्ब ७९ करोड रुपैयाँ रहेको वाणिज्य बैंकहरूको कुल निक्षेप ११.०७ प्रतिशतले बढेर ७२ खर्ब ५३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ।

निक्षेपको तुलनामा कर्जा प्रवाहको वृद्धिदर भने केही सुस्त देखिएको छ। यस अवधिमा बैंकहरूको कर्जा प्रवाह ५.८१ प्रतिशत अर्थात् २ खर्ब ८८ अर्ब रुपैयाँले बढेर कुल ५२ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ।

निक्षेप संकलन कस्को कति ?

निक्षेप संकलनको दौडमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । बैंकको निक्षेप चालु आवको ११ महिनामा मात्रै ९६ अर्ब रुपैयाँले बढेर ६ खर्ब ७१ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । दोस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकको निक्षेप संकलन १ खर्ब २४ अर्ब रुपैयाँले बढेर ६ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ ।  यसैगरी, नबिल बैंकको निक्षेप पनि समीक्षा अवधिमा ६२ अर्ब रुपैयाँले बढेर कुल ५ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ।

कर्जा प्रवाह कस्को कति ?

११ महिनाको अवधिमा वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह २ खर्ब ८८ अर्ब रुपैयाँले बढेर ५२ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको असार मसान्तसम्म ४९ खर्ब ७४ अर्ब रुपैयाँ मात्र रहेको थियो। यस अवधिमा बैंकहरूमध्ये कर्जा प्रवाहमा नबिल बैंक पहिलो नम्बरमा देखिएको छ। नबिल बैंकको कर्जा प्रवाह ४४ अर्ब रुपैयाँले बढेर ४ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ। गत असार मसान्तमा यो ४ खर्ब ३३ अर्ब रुपैयाँ थियो।

यसैगरी, कर्जा प्रवाहमा ग्लोबल आइएमई बैंक दोस्रो नम्बरमा रहेको छ। गत असार मसान्तको तुलनामा बैंकको कर्जा प्रवाह ३३ अर्ब रुपैयाँले बढेर ४ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ। अन्य बैंकहरूमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कर्जा प्रवाह ४ अर्ब रुपैयाँले बढेर ३ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ भने राष्ट्रिय वाणिज्य बैंकको कर्जा लगानी पनि ३२ अर्ब रुपैयाँले बढेर ३ खर्ब ४१ अर्ब पुगेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको