Like us!
Follow us!
Connect us!
Watch us!

खुलारुपमा माछामासुको बिक्री र बधमा रोक

अर्थ संसार

शुक्रबार, १५ बैशाख २०८०, १४ : ४४ मा प्रकाशित

खुलारुपमा माछामासुको बिक्री र बधमा रोक

विराटनगर महानगरपालिकाले आजदेखि खुलारुपमा माछामासु बिक्रीवितरण र बध गर्न रोक लगाएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुलारुपमा माछामासुको बिक्रीवितरण र बध गर्न रोक लगाएको महानगर प्रमुख नागेश कोइरालाले बताएका हुन् । 
    
उक्त अभियानलाई सफल पार्न बिहीबार महानगरले सरोकारवालासित अन्तक्र्रिया गरेको थियो । स्वच्छ मासु खान पाउने उपभोक्ताको अधिकार भएकाले मासु व्यवसायलाई व्यवस्थित गर्न लागिएको उनको भनाइ थियो । 

महानगरको सरसफाइ, कर सङ्कलन, सडकबत्ती जडान, बिजुलीको खम्बामा रङरोगनसहित नम्बरिङ, पार्किङलगायत अभियान सञ्चालन गरिरहेको महानगर प्रमुख कोइरालाले जानकारी दिए ।

उनले मानव स्वास्थ्य र महानगरको सौन्दर्यमा असर पर्नेगरी जथाभावी सञ्चालित मासु व्यवसायलाई व्यवस्थित गर्ने अभियानमा सहयोग गर्न सबैमा आग्रहसमेत गरे । उपप्रमुख शिल्पा निराला कार्कीले अभियानलाई सफल बनाउन अनुगमनलाई  तीव्र पारिने बताए ।

अबदेखि खुलारुपमा माछामासु बिक्री गर्नेलाई मासु जाँच ऐन, २०५५ अनुसार कारबाही हुने महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले जानकारी दिए । सङ्घीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा गङ्गाराम यादवले अस्वच्छ मासु सेवनको असर शरीरमा तुरुन्तै हुने र यसले दीर्घकालसम्म पनि असर पार्ने उल्लेख गर्दै पशु पछी बध गरेपछि कम्तीमा १२ घण्टासम्म फ्रिजमा राखेको मासु खानका लागि उपयुक्त हुने बताए । विराटनगरमा करिब तीन सय वटा मासु पसल सञ्चालनमा रहेको महानगरका पशुपक्षी विकास शाखा प्रमुख शुभनारायण यादवको भनाइ थियो ।रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको