Like us!
Follow us!
Connect us!
Watch us!

ठूला नेताको परिक्षा, ३७ सीटमा यी हुन प्रतिस्पर्धी (सूचीसहित)

आइतबार, ०५ कार्तिक २०७४, ०९ : ३९ मा प्रकाशित

ठूला नेताको परिक्षा, ३७ सीटमा यी हुन प्रतिस्पर्धी (सूचीसहित)

अर्थ संसार, काठमाडौं – आगामी मंसिर १० मा हुने पहिलो चरणको चुनावका लागि प्रतिनिधिसभातर्फ ३२ जिल्लाका ३७ सीटमा आज मनोनयनपत्र दर्ता हुँदैछ ।

मनोनयन दर्ताको पूर्वसन्ध्यामा प्रमुख दलहरुले उम्मदेवारको सूची तयार पारेका छन् । केही जिल्लामा भने शनिबार रातिसम्म नामावली टुंगो लागेको छैन ।

पहिलो चरणमा प्रतिनिधिसभातर्फ ३७ सीटका लागि आइतबार मनोनयन दर्ता हुनेछ भने प्रदेशसभातर्फ ७४ सीटका लागि मनोनयन दर्ता हुनेछ ।

निर्वाचन आयोगले भाइटीकाको भोलिपल्टै मनोनयन दर्ताको समय निर्धारण गरेका कारण दलका नेताहरुलाई तिहार मान्नसमेत भ्याई नभ्याई भएको छ । भाइटीका दिनमा समेत दलका नेताहरु टिकट बाँफाँटमा खटिएका छन् ।

एमाले र माओवादी सम्मिलित गठबन्धनले एकाध क्षेत्रको बाहेक सबै उम्मेदवारको नाम टुंगो लगाएका छन् । सिन्धुपाल्चोकमा अझै कुरो मिलिनसकेको एमालेले जनाएको छ । त्यस्तै बाग्लुङमा राष्ट्रिय जनमोर्चासँग प्रदेशस्तरमा तालमेल गर्दा उम्मेदवार टुंगो लगाउन केही ढीलो भएको एमालेले जनाएको छ ।

नेपाली कांग्रेसले उम्मेदवारको सूची शनिबार साँझसम्म टुंगो लगाएको बताए पनि औपचारिकरुपमा सार्वजनिक गरेको छैन । टुंगो लगाउन बाँकी रहेका मध्ये मुस्ताङमा रोमी गौचनलाई टिकट दिइएको कांग्रेस स्रोतले बताएको छ ।

रसुवामा भने नयाँ शक्ति पार्टीले पं्रतिनिधिसभाको सीट मागेकाले ढीलो भएको कांग्रेस स्रोतको भनाइ छ । तर, आइतबार बिहान रसुवामा कांग्रेसको तर्फबाट उम्मदेवार तय गरिने सो पार्टीले जनाएको छ ।

नेपाली कांग्रेसले गोरखा-२ मा डा. बाबुारम भट्टराईलाई सघाउने भएको छ । त्यसको बदलामा गोरखा १ मा नयाँशक्तिले कांग्रेसका चीनकाजी श्रेष्ठलाई सघाउने छ ।

त्यस्तै सिन्धुपाल्चोक-२ मा कांग्रेसले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिसमशेर राणालाई सघाउने भएको छ । सिन्धुपाल्चोक १ मा राप्रपाले कांग्रेस उम्मेदवार मोहनबहादुर बस्नेतलाई सघाउने छ ।

कुन-कुन हुन् हटसीट ?

पहिलो चरणको चुनावमा ‘हट सिट’ का रुपमा सिन्धुपाल्चोक, गोरखा, ताप्लेजुङ रुकुम, रोल्पा, आदिलाई लिन सकिन्छ ।

गोरखा २ मा डा। बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ एउटै क्षेत्रमा चुनाव लड्ने भएकाले त्यहाँ रोचक प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै सिन्धुपाल्चोकमा पशुपतिसमशेर राणा र अग्नि सापकोटा ‘हेभी वेट’ का उम्मेदवार भएकाले त्यहाँ पनि रोचक प्रसितस्पर्धा हुनेछ ।

पहिलो चरणमा एमालेका ठूला नेता चुनावी मैदानमा खासै छैनन् । तर, ताप्लेजुङबाट एमाले सचिव योगेश भट्टराईले मनोनयन दर्ता गर्दैछन् । योगेशको निर्वाचन क्षेत्रलाई पनि हट सिटका रुपमा हेरिएको छ ।

माओवादी नेता वर्षमान पुन र जनार्दन शर्मा रोल्पा र रुकुमबाट लड्दैछन् । तर, उनीहरु सुरक्षित ‘जोन’ मा भएकाले त्यहाँको भीडन्त खासै रोचक हुने देखिँदैन ।

रोल्पामा वर्षमान पुनलाई कांग्रेसका अमर पुनले चुनौती दिनेछन् भने जनार्दन शर्मासँग कांग्रेसका वीरबहादुर ओलीले प्रतिस्पर्धा गर्नेछन् ।

साना पार्टी के गर्दैछन् ?

उम्मदेवार मनोनयन दर्ता गर्ने अघिल्लो दिनसम्म प्रमुख ३ दलबाहेक अन्य साना पार्टीहरुको खासै चालचुल देखिएको छैन । प्रायः हिमाली जिल्लामा चुनाव हुन लागेकाले मधेसकेन्द्रित दलहरुले खासै उम्मदेवार चयन गरेका छैनन् ।

अन्य दलहरुले पनि अहिलेसम्म आफ्ना उम्मेदवार सार्वजनिक गरेका छैनन् ।

हेर्नुहोस् उम्मेदवारहरुको सूची

59ec1a76d27f5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको