Like us!
Follow us!
Connect us!
Watch us!
नेताहरुले कुनबेला देश बेचिदिन्छन् भन्ने डरको अवस्था छ

गाउँगाउँमा सिंहदरबार आउँछ भन्थे, ४६ हजार राजा–रानी पुगेः धवलशमशेर राणा

अर्थ संसार

आइतबार, ३१ असार २०८०, १० : ४९ मा प्रकाशित

गाउँगाउँमा सिंहदरबार आउँछ भन्थे, ४६ हजार राजा–रानी पुगेः धवलशमशेर राणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवलशमशेर राणाले राष्ट्र अहिले लिकभन्दा बाहिर गएको टिप्पणी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारलाई सम्बोधन गर्दै उनले देश लिकभन्दा बाहिर रहेको र यही व्यवस्थामा राजनीति सुबाटोमा नर्फिने बताएका हुन् । उपप्रधानमन्त्री, मन्त्री र उच्चपदस्थ सरकारी अधिकारीसमेत भ्रष्टाचारको कारण जेलमा जानुपरेको प्रसंग जोड्दै उनले अबको विकल्प व्यवस्था परिवर्तन भएको बताए । 

‘यो राष्ट्र लिकभन्दा बाहिर छ । सुबाटोमा निकटभविष्यमा अगाडि जाला भन्ने विश्वास पनि जनताले गुमाइसकेको छ । सदन राम्रोसँग चल्न सकेको छैन । न्यायालयको हालत त्यो छ । हाम्रो प्रशासनको हालत के छ भन्ने हामीलाई थाहा छ । राजनीतिको हालत के छ ?’ उनले भने,‘हामी सबैलाई थाहा छ । राजनीति गर्ने शीर्षस्थ नेताहरु जेलको कठघरामा जानुपरिरहेको छ । प्रशासन चलाउने उच्चस्तरका कर्मचारीहरु भ्रष्टाचारमा मुछिएर जेलमा गइराखेका छन् ।’ 
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अहिले देशमा रोजगारीको सम्भावना नै नरहेको पनि खराब स्थिति सुनाए । उनले देशको युवा पुस्ताले देशभित्र भविष्य नदेखेको कारण हाईस्कूल र प्लस टु लगत्तै विदेशिने सपना देख्नेगरेको पनि बताए ।  

‘देशमा रोजगारीको आशै रहेन । हाईस्कूल पढ्नेवित्तिकै, प्लस टु पढ्नेवित्तिकै हाम्रा देशका बच्चाहरु कुन देशमा गएर के नोकरी गर्नेभन्दा अर्को भविष्य छैन । यो परिस्थितिमा आज देश छ,’– उनले भने । देश हिजो कहाँ थियो र अब कता जाँदैछ भन्नेबारेमा राजनीति गर्ने नेताहरु अनविज्ञ रहेको पनि उनको भनाई छ । २०६२-०६३ को जनआन्दोलन र गणतन्त्रपछि नेपाली जनता चढेको गाडी गन्तव्यमा पुग्नु पहिल्यै विग्रिसकेको उनको दाबी छ । उनले अहिलेको व्यवस्थामा जनता चिन्तित रहेको बताए ।

‘देश हिजो यहाँ थियो, आज कहाँ गइराखेको छ भन्ने हामीलाई थाहा छैन । यो सबैको बीचमा सकारात्मक कुरा लिएर अगाडि बढ्नुपर्ने आवश्यकता छ । गणतन्त्र आएपछि वा २०६२÷०६३ को जनआन्दोलन पछि जुन गाडीमा नेपाली जनता चढे, त्यो गाडि गन्तव्यमा पुग्नुभन्दा पहिल्यै नै विग्रिसकेको छ,’– उनले भने । 

संघीयता र गणतन्त्र पूर्णरुपले असफल भैसकेको उनको दाबी छ । सिंहदरबार गाउँ–गाउँमा आउँछ भनेपनि गाउँ–गाउँमा राजारानीमात्रै पुगेको उनको टिप्पणी छ । गरिब देशले ४६ हजार राजारानी पाल्न नसक्ने उनले बताए । 
‘गाडी थोत्रो भइसकेको छ । ड्राईभरमा विश्वास छैन । ड्राईभरले कहाँ पुर्याउला ? प्यासेन्जर आँत्तिसकेको छ, बस बिग्रिसकेको छ । अब नेपाली जनताले त्यो बिग्रेको थोत्रो बस, काम नलाग्ने बस परिवर्तन गर्ने कि नगर्ने ? प्रश्न गर्दै उनले भने,‘प्रश्न चाहिँ त्यहाँ छ । यो राष्ट्र असफल राष्ट्र भएको सबैले महशुस गरिसकेका छन् । जनताले आश गर्ने ठाउँनै छैन । अब यो परिस्थितिबाट बाहिर निस्कने कि ननिस्कने ?’ 

अहिले गाउँ–गाउँमा पुगेका ४६ हजार राजारानीले जनताको पक्षमा कुनै काम नगरेको र जनतालाई नटेरेको उनको आरोप छ । उनले देशमा अब परिवर्तन आवश्यक रहेको बताए । गणतन्त्र, यो संघीयता पूर्णरुपले असफल भएको उनको दाबी छ । ४६ हजार नेताहरुको पालन पोषण गरिब राज्यले गर्न नसक्ने उनको दाबी छ । अहिलेको संघीयता राजनीतिको नाममा जीविका चलाउने भाँडो भइरहेको उनको टिप्पणी छ । ‘प्रदेशहरुको कामै छैन । भत्ता खुवाउने, राजनीतिको नाममा जीविका चलाउने भाँडो भइरहेको छ यो संघीयता । संघमा नेताहरुको खेलाँची भइरहेको छ । सरकार ढल्ने अनि ढलाउने र मन्त्री बन्ने र बनाउनेबाहेक अरु काम भइरहेको छैन,’–उनले भने । 

देशको माया राजालाई जति नेतालाई नहुने उनको दाबी छ । राजाले आफ्नो गद्दी जोगाउनका लागि पनि देशलाई माया गर्ने उनले बताए । ‘परिवर्तन गर्ने कि नगर्ने ? अगाडि बढ्ने कि नबढ्ने ? कि यो गरिब देशलाई यस्तै छाड्ने ? नचलेको व्यवस्था, नचलेको गाडी, फाटेको लुगा फेर्ने कि नफेर्ने ? यो गणतन्त्रलाई चलाइराख्ने कि परिवर्तन गर्ने ?’ भन्ने प्रश्न गर्दै उनले भने,‘हामीले प्रष्ट भीजन लिएर अगाडि बढेका छौं । यो देश दुई हजार वर्षबाट कुनै न कुनै प्रकारको राजसंस्थाले चलेको देश हो । राजाले आफ्नो गद्दीको लागि पनि देशलाई बचाइराख्छ ।’ 

अहिले नेताहरुले कुनबेला देश बेचिदिन्छन् भन्ने पनि डरको अवस्था रहेको उनको आरोप छ । नेपाली जनतालाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्नसक्ने, आफ्नो रातो पासपोर्ट बेच्ने र सरकारी जग्गाजमिनसमेत हड्पिने नेताहरुले देश नबेच्लान भनेर विश्वास गर्न नसकिने उनको दाबी छ ।  हरेक पाँच वर्षमा एउटा राष्ट्रपति निवर्तमान हुने बताउँदै उनले निवर्तमान भएका पूर्वराष्ट्रपतिको पालनपोषण जिन्दगीभर गर्न यो देशले अब त्यो व्ययभार धान्न नसक्ने उनले बताए । अहिलेसम्मका तीनै जना राष्ट्रपति देशको भन्दा पनि पार्टी र व्यक्तिविशेषको भएको उनको आरोप छ । संघीयता र गणतन्त्रको अन्तिम विकल्प राजसंस्था पुनस्र्थापना भएको उनले बताए । 

‘राजा सबैको साझा हो । सबै नेपाली जनताले मानेको राजसंस्था हो । अहिले राष्ट्रपतिको जुन क्रियाकलाप देखियो, अहिलेकोमात्रै होइन, तीनवटै राष्ट्रपतिको क्रियाकपाल पार्टीको राष्ट्रपति, पार्टीभन्दा पनि व्यक्तिको राष्ट्रपतिसम्म देखियो,’–उनले भने । राष्ट्रिय प्रजातन्त्र पार्टीले देश चलाउने र राजनीति गर्ने राजालाई पुनस्र्थापना गर्न नखोजेको उनको भनाई छ । राष्ट्रपतिले राष्ट्रप्रति देखाउनुपर्ने बफादारिता, इमानदारिता र अभिभावकत्व देखाउन नसकेकाले आफूहरुले देशको अभिभावकको रुपमा राजालाई चाहेको उनको भनाई छ । देशको हितमा नभएको कुराहरुलाई देशको हितमा छैन भनेर अडान लिनसक्ने राजाको परिकल्पना राप्रपाले गरेको उनको दाबी छ । सबै राजनीति र नेतालाई एक ठाउँमा राखेर देशलाई अभिभावकको रुपमा राजा चाहेको उनले बताए । 

धर्मनिरपेक्षता नेपाली जनताको माग नभएर विदेशीको इशारामा त्यो आएको उनको दाबी छ ।  धर्मनिरपेक्षताको बारेमा जनआन्दोलनमा जनताले कुरै नउठाएको उनको दाबी छ । ८० प्रतिशत जनता हिन्दू भएको देशमा किन धर्मनिरपेक्षता लादियो भन्ने कुरा पनि जनताले बुझिसकेको र अब हिन्दुराष्ट्र पुनस्र्थापना भएरै छाड्ने उनको दाबी छ । 

‘यो देशमा हिन्दुराष्ट्र फर्काउने हो । जनताले मौका पाए भने हिन्दुराष्ट्र पुनस्र्थापना हुन्छ । यो व्यवस्था र नेताहरुको अकर्मण्यताले राजा पनि आउनुपर्ने अनिवार्य स्थिति बनिसकेको छ,’–उनले भने । संघीयता र गणतन्त्र नमान्ने राप्रपा किन संघ र प्रदेशको निर्वाचनमा सहभागी भएको भनेर आफूहरुलाई जनताबाट प्रश्न आइरहेको बताउँदै उनले संसद्मा गएर संविधानको माध्यमबाट नै व्यवस्था परिवर्तन गर्ने तयारी आफूहरुको रहेको जबराको भनाई छ । साथै, जनआन्दोलनको तयारीपनि भइरहेको र जनलहरबाट पनि यो व्यवस्था उल्टिनसक्ने उनको भनाई छ । 

साथै, उनले भ्रष्टाचारमा संलग्न रहेको व्यक्तिलाई भोट नदिन जनतासमक्ष अपिल पनि गरे । पैसाको भरमा चुनाव जितेर आउनेहरुबाट परिवर्तन सम्भव नरहेको उनको दाबी छ । पैसामा भोट विक्दा नेताहरुले भ्रष्टाचार गरेको उनको आरोप छ । जनताले अब काम गर्ने मान्छेलाई अगाडि सार्न आवश्यक रहेको उनको भनाई छ । अहिले केही परिवर्तनको सन्देश आएको उनले बताए । आफूहरुले पुराना पार्टीलाई जनताले तिरस्कार गरेको संकेत पाइरहेको उनको भनाई छ । 

कर्मचारी, एउटा शाखा अधिकृतलाई टिप्पणी उठाएको भरमा जेलमा हालेकोमा भने उनले आपत्ति जनाए । उनले भने,‘टिप्पणी त सदर हुँदै आएर मन्त्रिपरिषदले सदर गरेछ नि ? कर्मचारीलाई लेख भनेपछि लेख्नैपर्यो नि । टिप्पणीको कुरा मन्त्रिपरिषद्को निर्णयबाट सदर भएको छ । मन्त्रिपरिषदको अध्यक्ष प्रधानमन्त्री हुन्छ । को जिम्मेवार भयो त ? टिप्पणी लेख्ने जिम्मेवार हो ? त्यो बेलाको मन्त्रिपरिषद्मा निर्णय गर्ने सबैलाई जेल हाल्नुपर्छ ।’ नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्तराष्ट्रिय समूदायअगाडि नेपालीले टाउको उठाउन पनि नसक्ने स्थिति बनाएको उनको टिप्पणी छ । भ्रष्टाचार प्रकरणमा साना–ठूला कसैलाई पनि छोड्न नहुने उनको माग छ । भ्रष्टाचार गर्नेहरुलाई जेलमा हालेर तिनीहरुको सबै सम्पत्ति राष्ट्रियकरण गर्न आवश्यक रहेको उनले आवश्यकत्ता औंल्याए ।  

उनले नेपाली जनताले बोल्नेमात्रै नभएर अब काम गरेर देखाउने नेता खोजिरहेको बताए । भ्रष्टाचार नेतृत्वसँग गाँसिएको कुरा भएकाले नेतृत्व परिवर्तन अहिलेको आवश्यकत्ता रहेको उनले बताए । परिवर्तनको अठोट गरेर आफूहरु आएको बताउँदै उनले राप्रपालाई एकपटक देशकै नेतृत्व गर्नेगरि विश्वास गर्न पनि आग्रह गरे । नेपाललाई सुहाउने राजतन्त्र आफूहरुको परिकल्पना भएको उनको भनाई छ । विश्वमा एक सयभन्दा बढी क्रिश्चियन राष्ट्र भएको उल्लेख गर्दै उनले ८० प्रतिशत जनता हिन्दु भएको देशमा हिन्दुराष्ट्र अपरिहार्य भएको बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको