Like us!
Follow us!
Connect us!
Watch us!

गौर हत्याकाण्डमा प्रचण्डको ‘यस’, उपेन्द्रको ‘नो’, के होला गठबन्धनको भविष्य?

अर्थ संसार

विहीबार, २५ साउन २०८०, १४ : २० मा प्रकाशित

गौर हत्याकाण्डमा प्रचण्डको ‘यस’, उपेन्द्रको ‘नो’, के होला गठबन्धनको भविष्य?

मंगलबार प्रचण्ड नेतृत्वको सरकारले गौर हत्याकाण्ड पीडित संघर्ष समितिसँग पाँच बुँदे सहमति गर्यो । समिति न्यायको माग गर्दै पछिल्लो समय आन्दोलित थियो । प्रचण्डकै निर्देशनमा गृह मन्त्रालयले समितिका पदाधिकारीसँग विभिन्न चरणमा वार्ता गर्यो र सहमति समेत गर्यो ।

गृह मन्त्रालयको तर्फबाट सहमतिपत्रमा सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई र संघर्ष समितिको तर्फबाट अध्यक्ष रुपसागर देवी उपाध्यायको हस्ताक्षर छ ।  सरकार र संघर्ष समितिबीच भएको पाँच बुँदे सहमतिको पहिलो बुँदामा गौर घट्नाको विषयमा तत् समयमा दर्ता भएका जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी प्रमाणको आधारमा दोषीलाई कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउने कुरा उल्लेख गरिएको छ ।

सरकारले पाँच बुँदे सहमति गरेपछि नेपाली राजनीतिमा पुनः एकपटक हलचल मच्चिएको छ । पाँच बुँदे सहमतिले गठबन्धनकै मुख्य घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव यतिवेला प्रधानमन्त्री प्रचण्डसँग रुष्ट बनेका छन् भने गठबन्धनसमेत तोड्ने प्रयासमा लागिपरेको राजनीतिक वृतमा चर्चा छ । 

हिजो उपेन्द्रले प्रधानमन्त्रीसँगको भेटमा उक्त हत्याकाण्ड पुरानो हो र अहिले ल्याएर यसलाई अघि बढाउन नहुने बताएको स्रोत बताउँछन् । र, गठबन्धन समेतलाई असर पर्ने उपेन्द्रले सुझाए । जवाफमा प्रचण्डले गठबन्धनबाट १२ जना बाहिरिए १४ जना भित्राउने समेत बताएको स्रोतको दाबी छ ।  

कतिपयले त प्रधानमन्त्री प्रचण्डले उपेन्द्र यादव र माधव नेपाललाई ठाउँमा ल्याउन गौर हत्याकाण्डको फाईल खोलेको र ललिता निवास प्रकरणमा माधव नेपाललाई अनुसन्धानमा तानेको टिप्पणी गर्न थालेका छन् । माधव नेपाल र उपेन्द्र मुछिएका फाइल खुल्न थालेपछि दुवै पार्टीले एकै स्वर बोल्न थालेको छ । उक्त विषयलाई लिएर हिजो उपेन्द्रले आकास्मिक रुपमा केन्द्रीय कार्यकारिणी समितिको बैठक डाक्यो । उक्त समितिमा पाँच बुँदे विषयलाई लिएर चर्चा भयो । र, यस विषमा उनीहरुले सामूहिक आपत्ती जनाए । 

समितिको छलफलमा नेताहरुले प्रधानमन्त्री प्रचण्डले अध्यक्षविरुद्ध घेराबन्दी गरेको भन्दै आवश्यक परे सरकारबाट बाहिरिएर आन्दोलनमा उत्रिनुपर्ने धारणा राखेको बताइएको छ । उनले आफूलाई फसाउने उद्देश्यले प्रधानमन्त्री प्रचण्डले गौर हत्याकाण्डको फाईल खोल्न लागेको भन्दै बुधबार सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गुनासो पोखे । जसपाका अध्यक्ष यादवले कांग्रेस सभापति देउवासँग गम्भीर ढंगले कुरा राखे । यसले राजनीति नयाँ ढंगले अघि बढ्नसक्ने चर्चा चलेको हुन थालेको छ। 

यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको राजनीतिक वृतमा चर्चा छ । एमालेले लगातार गृहमन्त्री, अर्थमन्त्रीदेखि प्रधानमन्त्रीको राजीनामा माग गर्दै सदन अवरुद्ध गरिरहेको छ । यसले राजनीतिमा थप तरंग थपिदिएको छ । 

यही सन्दर्भमा कांग्रेस सभापति देउवाले पार्टीको संसदीय दलको समितिको बैठक बोलाएका छ्न । आजै दिउँसो ४ बजे देउवा निवास धुम्बाराहीमा बस्ने बैठकमा संसदमा जारी रहेको गतिरोध अन्त्य र उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिको विषयमा छलफल हुने बताईएको छ । भित्रभित्रै नयाँ समिकरणको जन्म हुन सक्ने आँकलन भइरहेको छ । आन्तरिक रुपमा प्रचण्डलाई धकेलेर एमालेले देउवासँग सहकार्य गर्ने हल्ला चल्न थालेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको