अर्थ संसार, काठमाडौं–उद्योगपति विनोद चौधरीले आफू राजनीतिक स्थिरतासहितको आर्थिक समृद्धिको योजनालाई साकार रुप दिन नेपाली काँग्रेस प्रवेश गरेको बताउनुभएको छ ।
उद्योगपति चौधरीले आज एक विज्ञप्ति प्रकाशित गरी काँग्रेससँग विगतदेखि नै आफ्नो निकटता रहेको जानकारी गराउनुभएको हो ।
‘आफू किन काँग्रेस प्रवेश गरेँ’ भन्ने शीर्षकमा उद्योगपति चौधरीले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सार्वजनिक पत्र लेखेर स्वागत गर्नुभयो । काँग्रेसले सार्वजनिक गरेको उक्त आह्वान तथा पहलबाट आफू झनै उत्साहित भएँ ।”
आफूले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मञ्चमार्फत् राष्ट्रको प्रतिष्ठा अभिवृद्धि र लगानी प्रवद्र्धनलाई आफ्नो प्रमुख एजेण्डा बनाउँदै आएको र बल्ड इकोनोमिक फोरमदेखि फोब्र्ससम्मका विश्वविख्यात अन्य फोरमहरुमा पनि नेपाललाई दक्षिण एसियाको नमूना राष्ट्रका रुपमा स्थापित गर्न सम्भव छ भन्ने बारेमा ध्यानकर्षण गराउँदै आएको चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उहाँले २०४६ सालको राजनीतिक परिवर्तनपछि स्वर्गीय प्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईसँग काम गर्ने सौभाग्य मिलेको समेत स्मरण गर्नुभएको छ ।
पूर्व सांसदत्रय काँग्रेस प्रवेश
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाट कैलाली क्षेत्र नं २ बाट निर्वाचित पूर्वसांसद मोहनसिंह राठौर र एमालेकै अर्की पूर्वसांसद रविना चौधरी आज औपचारिक रुपमा काँग्रेसमा प्रवेश गर्नुभएको छ । उहाँहरुलाई काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको सदस्यता दिई स्वागत गर्नुभएको छ ।
झापाको तोपगाछी गाविसका पूर्वएमाले अध्यक्ष पदम गौतमसहित दर्जन एमाले कार्यकर्तासहित सोमबार काँग्रेसमा प्रवेश गर्नुभएको थियो ।
आजै नेकपा (माओवादी केन्द्र) का सर्लाहीबाट निर्वाचित पूर्वसांसद शम्भुलाल श्रेष्ठ तथा पूर्वमन्त्री एवं माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य नन्दनकुमार दत्त, डा अबुल अन्सरीलगायत दर्जनौं नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गर्नुभएको थियो ।
त्यस्तै राप्रपाका पूर्वकेन्द्रीय कोषाध्यक्ष, पूर्वसांसद् एवं पोखराका उद्योगपति सूर्यबहादुर केसी र पूर्वमन्त्री कुमार खड्कासहित सयौँ नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गर्नुभएको छ ।
यसैगरी संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवं कपिलवस्तु निर्वाचन क्षेत्र नं ५ का पूर्वसांसद अभिषेक प्रताप साह पनि काँंग्रेस प्रवेश गरिसक्नु भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस