Like us!
Follow us!
Connect us!
Watch us!

शिक्षा विधेयक परिमार्जन गर्न परीक्षा बोर्डका कर्मचारी सङ्गठनको आग्रह

अर्थ संसार

सोमबार, ०१ असोज २०८०, १६ : ५७ मा प्रकाशित

शिक्षा विधेयक परिमार्जन गर्न परीक्षा बोर्डका कर्मचारी सङ्गठनको आग्रह

राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी सङ्घ–सङ्गठनले संसद्मा पुगेको विद्यालय शिक्षासम्बन्धी विधेयकले बोर्डको स्वायत्तता र कार्यरत कर्मचारीको हक हितमा असर पार्ने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपाल सरकारले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ गत भदौ २७ गते सङ्घीय संसद्मा दर्ता गरेको थियो । उक्त विधेयकमा राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धमा विद्यमान विधेयकले बोर्डको साङ्गठनिक संरचना र कर्मचारी व्यवस्थापनमा समेत व्यापक हेरफेर गरेको छ । बोर्डअन्तर्गतका कर्मचारी सङ्घ नेपाल, कर्मचारी युनियन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले आज संयुक्त विज्ञप्ति जारी गरी सात बुँदे माग प्रस्तुत गरेका छन् ।

ती सङ्गठनले बोर्डको पूर्ण स्वायत्तता (संरचना, कर्मचारी व्यवस्थापन र स्रोत व्यवस्थापनमा सम्पूर्ण अधिकार हुने गरी)  कायम हुनुपर्ने, कार्यरत अस्थायी प्रकृतिका कर्मचारीको स्थायित्वसम्बन्धी प्रक्रिया अगाडि बढ्ने गरी व्यवस्था हुनुपर्ने, कार्यरत सम्पूर्ण कर्मचारीलाई मर्का नपर्ने गरी साबिकको पारिश्रमिक, सुविधा तथा सेवाको सर्त सुनिश्चित हुनुपर्ने, पदेन सदस्यबाहेक बोर्डका अन्य सदस्यको मनोनयन गर्ने अधिकार बोर्डमै निहित हुनुपर्ने माग अघि सारेका छन् ।

सङ्गठनका अध्यक्ष प्रकाश अवाले, युनियनका अध्यक्ष राजु ओलिया  र सङ्घका अध्यक्ष नरेन्द्रप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा उक्त माग पूरा गराउन आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ । माग पूरा नभए यही असोज ५ गतेदेखि ७ गतेसम्म बोर्डको केन्द्रीय कार्यालय र प्रदेश तथा शाखा कार्यालयमा विभिन्न विरोधका कार्यक्रम गर्ने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको