अर्थ संसार, काठमाडौँ– पार्टी एकताको लक्ष्यसहित वृहद् चुनावी गठबन्धन गरेका नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले काठमाडौँ उपत्यकामा संयुक्त रुपमा चुनावी अभियान सञ्चालन गर्ने भएका छन् ।
शनिबारदेखि नै संयुक्त रुपमा त्यस्तो चुनावी अभियान सञ्चालन गर्न लागिएको गठबन्धनले जनाएको छ ।चुनाव प्रचार अभियानलाई प्रभावकारी र रचनात्मक बनाउन गठबन्धनले निर्णय लिएको छ ।
संयुक्त चुनावी अभियान चलाउने विषयमा नेकपा(एमाले)का महासचिव इश्वर पोखरेलले आज निर्वाचन क्षेत्र नं ५ मा आयोजना गरिएको चुनाव प्रचार अभियानमा समेत सो कुराको खुलासा गर्नुभएको छ ।
महासचिव पोखरेलले निर्वाचनमा प्रगतिशिल र जनपक्षीय उम्मेदवारलाई निर्वाचित गराउन एकीकृत अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा दुवै पार्टीका शीर्ष नेतालाई सहभागी गराएर निर्वाचन अभियान सञ्चालन गर्ने गठबन्धनले जानकारी दिएको छ ।
नेकपा(माओवादी केन्द्र)का प्रवक्ता एकीकृत तथा विकेन्द्रीत रुपमा निर्वाचन अभियान सञ्चालन गर्ने र त्यसको तयारी भइरहेको बताउनुभएको छ । वामगठबन्धनले काठमाडौँका १५ निर्वाचन क्षेत्र मध्ये १० निर्वाचन क्षेत्रमा एमालले उम्मेदवारी दिएको छ भने पाँच निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले उम्मेदवारी दिएको छ ।
वाम गठबन्धनले संयुक्त रुपमा निर्वाचन परिचालन समिति गठन गर्ने तयारी गरिएको जनाएको छ । निर्वाचन अभियानमा विगतमा वामपन्थी नेतृत्वको सरकारले अगाडि सारेको नीति तथा कार्यक्रम, मतदाताले किन वामपन्थी गठबन्धलाई मत दिनेलगायतका विषय समावेश गर्ने तयारी गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस