Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो पोखरामा पर्यटक चहलपहल, तर सरदर बसाई घट्यो

लोकेन्द्र ढकाल

आइतबार, १२ कार्तिक २०८०, ०८ : २६ मा प्रकाशित

बढ्यो पोखरामा पर्यटक चहलपहल, तर सरदर बसाई घट्यो

आन्तरिक तथा बाह्रय पर्यटकको आगमन बढ्दा पोखराका  पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । पोखराका होटलको अकुपेन्सी अहिले ६० प्रतिशत नाघेको छ । अहिले पोखराका पर्यटकीय स्थलहरुमा आन्तरिक तथा बाह्रय पर्यटकको चहलपहल बाक्लिएको छ ।

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले सदाझै यसपाली पनि दसैंको समयमा पोखराका होटलको अकुपेन्सी ह्वात्तै बढेको बताए । ‘टीकाको दिनसम्म भारतीय पर्यटक र केही विदेशी पर्यटक मात्र थिए, अकुपेन्सी राम्रो थिएन, ३० देखि ४० प्रतिशतको हाराहारीमा थियो, टीकाको भोलीपल्टबाट ह्वात्तै अकुपेन्सी बढ्यो’ अध्यक्ष सुबेदीले भने ।

दशैंको टीका लगाएपछि परिवार सहित घुम्न निस्कने चलनका कारण समेत आन्तरिक पर्यटकको संख्या बढेको उनको भनाइ छ । सुवेदीले आन्तरिक पर्यटकसँगै ट्रेकिङ जाने र ट्रेकिङबाट फर्किएका बाह्रय पर्यटकको कारण पोखराका पर्यटकीय स्थलहरुमा चहलपहल बढेको बताए ।

‘यो सधैं नै हुन्छ, नेपालीहरु टीका लगाएपछि बाहिर घुम्ने चलन पहिले देखिनै देखिन्छ । विदेशमा रहेका नेपाली पनि आएका हुन्छन् । उनीहरुले परिवारलाई घुमाउन लिएर हिड्दा समेत संख्या बढ्छ । यतिबेला आन्तरिक पर्यटक, ट्रेकिङ जाने पर्यटक, ट्रेकिङबाट फर्किएका पर्यटक, भारतीय पर्यटक समेतका कारण पोखराका होटलको अकुपेन्सी ६० देखि ७० प्रतिशतको आसपास पुगेको हो ।’

यसपटक आर्थिक मन्दी तथा मलमासका कारण चाडपर्वहरु थोरै ढिला हुँदा अकुपेन्सी घटेको अध्यक्ष सुवेदीको भनाई छ । बाह्रय पर्यटक यतिबेला धेरैं ट्रेकिङमा गएका छन् । अहिले दैनिक झण्डै २५ सय पर्यटकले एक्यापबाट परमिट बनाउने गरेको सुवेदीको दावी छ ।

उनले भने, पोखरामा घुम्न आउने पर्यटकको बसाई समेत घटेको छ । केही वर्ष अगाडिसम्म सरदर ४ दिन पोखरामा बिताउने पर्यटकको बसाई हाल २ दिनमा झरेको छ ।

पछिल्लो समयमा पोखरा ट्रान्जिट प्वाइन्टको रुपमा विकास हुन थालेको छ । ‘पोखरा ट्रान्जिट पोइन्ट मात्रै भइदियो, प्रायःजसो मुक्तिनाथ जाने, ट्रेकिङ जाने पर्यटक एकरात बस्ने गर्छन् ,पहिला आन्तरिक पर्यटक त्यति ट्रेकिङ जाने थिएनन्, अहिले मर्दी हिमाल, सिक्लेस, कोरी लगायतका ट्रेक प्रसिद्ध भए, सोही कारण पोखरा एकरात बसौं, त्यसपछाडि सजिलो ट्रेकमा जाउ, फर्केर आएर एक रात बसौं, भन्ने बढी भए’ उनले भने ।

कास्की जिल्लाका ४ सय २५ होटल होटल संघ पोखरा नेपालमा आवद्ध छन् । त्यसो त ट्रेकिङ जाने रुट को समय समेत घटेको छ । पहिला २१–२२ दिनको ट्रेक अहिले ४–५ दिनमा टुंगिन्छ यसले पनि व्यवसायीलाई घाटा भएको छ ।

उनी भन्छन्, संसारनै आर्थिक मन्दीको चपेटामा परेका कारण घुम्न आउने पर्यटक धेरै नभएका हुन् ।  पहिला नेपाल सस्तो गन्तव्य थियो । दूई–तीन महिना काम गर्यो, ६–७ महिना नेपालमा आएर खर्च गर्थे । तर, अहिले नेपाल महंगो ‘डेस्टिनेसन’ भयो । खान र बस्न सस्तो भएपनि ‘फ्लाइट’ महंगो छ । अर्कोकुरा विदेशीहरुले पनि आफ्नै देश घुम्न थाले । फलस्वरुप युरोपतीर आन्तरिक पर्यटक थेगिनसक्नु भएको छ । प्छिल्लो समयमा आउने पर्यटकले खर्च पनि कम गर्ने गरेका छन् । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले अहिले पोखरामा आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको बताए । यस्तो अवस्था लामो समय नरहने उनको भनाई छ । ‘अहिले राम्रै छ, खर्च गर्ने ट्रेन भने कम देखिएको छ, पहिला एक्टिभिटिज बढी गर्थे, अहिले कम देखिएको छ, घुम्न आएका छन्, धेरै दिन त हैन केही दिन पछि त स्लो नै होला तर समग्रमा राम्रै छ’ श्रेष्ठले भने । उनले सधैं यसरी नै पर्यटक कसरी धेरै भित्राउन सकिन्छ भन्ने तिर सबैजना लाग्नुपर्ने बताए । ‘सबै मिलेर पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्छ, देश घुमौं अभियानमा लाग्नुपर्छ, आन्तरिक पर्यटन प्रवद्र्धनमा लाग्नुपर्छ, अध्यक्ष श्रेष्ठ भन्छन् ।’ पोखरामा घुम्न आउने भारतीय पर्यटककको संख्या राम्रो रहेको उनले बताए । अझै उनीहरुको संख्या बढाउन ‘बोर्डर साइड’मा थप मार्केटिङ गर्नुपर्ने उनको बुझाइ छ । ‘भारतीय पर्यटकको आवागमन राम्रो छ, खर्च पनि राम्रो गर्छन्, यतिबेला सेल्फ ड्राइभमा पोखरा घुम्न आउने भारतीय पर्यटक धेरैं छन्, यो टाइपको पर्यटक बढाउन बोर्डर साइडमा अझै बढी मार्केटिङ गर्नूपर्छ, भारतीय पर्यटकको सम्भावना धेरैं छ’ उनले भने ।
मुग्लिन पोखराको बाटोको अवस्थामा सुधार हुने हो भनेपनि पोखरामा पर्यटकको संख्या थप बढ्ने उनले बताए । ‘बाटो बनिरहेको अवस्थामा पनि यती धेरै भारतीय पर्यटक आएका छन्, अझै बाटो छिटो बनाएर राम्रो बाटो हुने हो भने धेरैं पर्यटक आउने सम्भावना हुन्थ्यो’ उनले भने ।

सरकार र व्यवसायी सबै लाग्ने हो भने पर्यटन क्षेत्र ‘रिभाइभ’ हुन समय नलाग्ने उनको विश्वास छ । ‘अहिले जसरी पर्यटकको संख्यामा वृद्धि भएको छ, यसलाई सधैंभरी लयको रुपमा लैजानको लागि सबै जना लाग्ने र पर्यटक यसरी नै आउने हो भने हामी रिभाइभ हुन समय लाग्दैन, सरकार पनि लाग्नुपर्‍यो, व्यवसायी त लागेकै छौ’ उनले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको