अघिल्ला दुई हप्ता उच्च अंकले बढेको सेयर बजार यो साता भने लगातार रुपमा घटिरहेको छ । गत साता मात्रै पनि उच्च अंकले बढेको यो साता लगातार चार दिन बजार घट्यो । यो साताको सुरुको दिनदेखि बिहीबारसम्मको अवधिमा सेयर बजारमा लगातार गिरावटा आयो । सुरुका केही दिनको घटाइलाई लगानीकर्ताहरुले दुई हप्ताको वृद्धिमा देखिएको करेक्सनका रुपमा हेरे । तर, लगातार रुपमा बजार घटेपछि भने लगानीकर्ताहरु अहिले निकै प्यानिक अवस्थामा पुगेका छन् । बजारमा अहिले ठूला लगानीकर्ताहरु नै डराइरहेको जस्तो देखिएको छ । अहिले बजारमा जुन रुपमा सेयर खरिद बिक्रीको प्याटन देखिन्छ त्यो अनुसार अहिले ठूला लगानीकर्ता बजारमा प्रवेश नगरेको जस्तो देखिएको लगानीकर्ताहरुकै भनाइ छ ।
यो हप्ताको ४ दिनमा नै सेयर बजारमा ६२.०२ अंकले घटेको छ । गत साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक २७३४.६० विन्दुमा बन्द भएको थियो । यो साताको सोमबारदेखि बिहीबारसम्मको अवधिमा बजार ६२.०२ अंकले घटेर २६७२.५८ विन्दुमा पुगेको छ । यो एक हप्ताको अवधिमा सेयर बजारको कारोबार रकममा पनि करिब ३ अर्बको गिरावट आएको छ । गत साताको अन्तिम कारोबार दिन सेयर बजारमा ६ अर्ब १८ करोड माथिको कारोबार थियो । यो साताको चौथो दिन (बिहीबार) को कारोबार बन्द हुँदा सेयर बजारमा ३ अर्ब ३८ करोडको कारोबार भएको छ । अहिले पुँजी बजारमा नेप्से इन्डेक्स सहित कारोबार रकममा पनि गिरावट आइरहेको छ । नेपाल धितोपत्र बोर्डले पुँजी बजारको सुधारका लागि भन्दै कार्यायोजना सार्वजनिक गरेको थियो । त्यस्तै पुँजी बजारका विषयमा प्रधानमन्त्री बालेन्द्र साहले पनि चासो दिएका थिए । पुँजी बजारको सुधारको योजना र प्रधानमन्त्रीको चासोसँगै आर्थिक वर्षको सुरुवातको समयमा पनि भएकाले बजार बढेको लगानीकर्ताहरुले बताउने गरेका छन् ।
पुँजी बजारमा विगत १५–१६ वर्षको अवधिमा आर्थिक वर्षको सुरुवातको समयमा बजार बढ्ने गरेको ट्रेण्ड छ । जसले चालु आर्थिक वर्षको पहिलो हप्तामा त्यसलाई निरन्तर्ता दियो । चालु आर्थिक वर्ष सुरु हुने भन्दा तीन दिन अघि देखि नै बजार बढेको थियो । असारको ३० गतेदेखि बढेको बजार बीचमा दुई दिन केही करेक्सन भएर अघि बढेको थियो । यो हप्ताको सुरुवातमा नै बजार घटेपछि लगानीकर्ताले त्यसलाई करेक्सन नै मानेका थिए । तर, अहिलेको गिरावट भने लगानीकर्ताको मनोबलका कारणले भएको उनीहरुले बताए ।
अहिले सरकारले अनुभूति हुने गरि भन्दा पनि कुरा मात्रै गरेकाले बजारले सोचेजस्तो गति लिन नसकेको लगानीकर्ता जगन्नाथ ढंगेलको भनाइ छ । अहिले सरकारले र नेपाल धितोपत्र बोर्ड पनि उधारो कुरा मात्रै गरेकाले लगानीकर्तामा उत्साह आउन नसकेको उनले बताए । भ्याट घटाउनु पर्ने बेलामा बढाइएको र अन्य सबै कुरा गरिने छ भनिएकाले लगानीकर्ताहरु आश्वस्त हुन नसकेको उनको भनाइ छ । ‘सेयर बजारका विषयमा सरकारले र धितोपत्र बोर्डले अहिले उधारो कुरा मात्रै गरेका छन् । खासमा लगानीकर्ताका लागि अहिले भ्याट बढाउने भन्दा पनि घटाउनु पर्ने थियो । यसको प्रभाव अहिले बजारमा देखिएको छ,’ ढुंगेलले भने । अझै पनि ठूला लगानीकर्ताहरुमा धरपकडको डर कायमै रहेको उनको भनाइ छ । अहिले बजारमा माग धेरै नै छ । तर, सप्लाइ भने निकै कम मात्रै रहेको उनले बताए । ‘अहिले सेयर किन्नका लागि माग गर्नेको संख्या धेरै छ । तर, सेयर बिक्री गर्नेहरु छैनन्,’ उनले भने ।
सरकारले आम लगानीकर्ता भन्दा पनि दलाल र विचौलियासँगै मात्रै अहिले छलफल गरिरहेले बजारमा लगानीकर्ताको मनोबल बढ्न नसकेको र बजार घटेको नेपाल सेयर बजार लगानीकर्ता संघका अध्यक्ष हरि बहादुर केसीको भनाइ छ । अहिले सर्वसाधारणको सेकेन्डरी मार्केट उनीहरु भन्दा बाहिरबाट हाइज्याक भइसकेको उनको भनाइ छ । ‘अहिले पुँजी बजार आम सर्वसाधारण लगानीकर्ता बाहेक अरुबाट हाइज्याक भइसकेको छ । यसमा नियामकीय निकाय र सरकार, व्यवसायी, ब्रोकर सबै मिलेर हाइज्याक गरे,’ उलने भने । सेकेन्डरी मार्केट सर्वसाधारण लगानीकर्ताको प्लेटफर्म भए पनि अरुहरुले हाइज्याक गरिसकेको उनी बताउँछन् ।
सरोकारवालाहरुसँग अहिलेको सरकारले कुनै पनि छलफल र कुराकानी नै नगरेको उनको आरोप छ । आम रुपमा लगानीकर्ताको हकहितका लागि काम गर्ने संघसंस्थालाई प्रधानमन्त्री लगायतका निकायले छलफलका लागि नै नबोलाएको उनले बताए । अहिले सरकारी निकायले ब्रोकरलाई च्यापेको उनको आरोप छ ।
अहिले बजार घट्यो भनेर चित्त दुखाउनु नै आवश्यक नरहेको अर्थविद् डा. चन्द्रमणी अधिकारीको भनाइ छ । पुँजी बजार अर्थतन्त्रको एक हिस्सा भएकाले समग्र अर्थतन्त्र संकुचनमा रहेको बेला पुँजी बजार बढ्नै नसक्ने अधिकारीको भनाइ छ । ‘अर्थतन्त्र सुधार नहुने हो । अनि कम्पनीको अवस्था अहिलेको जस्तै कायम हुने हो भने पुँजी बजार कसरी बढ्छ ?’ उनले भने ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस