नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा केही दिनयता उत्पन्न तनावपूर्ण परिस्थितिमा राज्य पक्षबाट भएको बल प्रयोगप्रति गम्भीर आपत्ति जनाएका छन् । एक विज्ञप्ति जारी गर्दै उनले अमानवीय घटनाहरू रोकिनुको साटो थप उग्र बन्दै गएको उल्लेख गरेका छन् ।
देश जटिल र संवेदनशील घडीमा रहेको औंल्याउँदै उनले नागरिक, राजनीतिक दल र सरोकारवालाहरूलाई चार बुँदे अपिल जारी गरेका छन् । जनतालाई आपसमा विभाजित गरेर अवाञ्छित उद्देश्य पूरा गर्ने षड्यन्त्रप्रति सचेत गराउँदै उनले सामाजिक सद्भाव र एकता जोगाउन सबैलाई सक्रिय हुन आग्रह गरेका छन् । साथै, नागरिकको जीउधनको रक्षा गर्ने र संवादको माध्यमबाट समस्या समाधान गरी शान्ति कायम गर्ने मुख्य दायित्वबाट सरकार मौन बसेको भन्दै उनले सरकारमाथि प्रश्नसमेत उठाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दा समेत सरकारले देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता अत्यन्त शङ्कास्पद एवं भर्त्सनायोग्य छ । हिंसात्मक कदम तत्काल रोकी अविलम्ब संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्दछु ।’
मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको वर्तमान अवस्थामा मुख्य राजनीतिक दलहरूले आपसी राजनीतिक प्रतिस्पर्धा, आरोप–प्रत्यारोप र सस्तो लोकप्रियताभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सहकार्य अपरिहार्य रहेको कुरा उल्लेख गरिएको छ । राष्ट्रको अस्तित्व, शान्ति–सुरक्षा र सामाजिक सद्भावमाथि सङ्कट उत्पन्न हुन लागेको भन्दै सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न धार्मिक एवं सामाजिक समुदायका अगुवाहरूलाई राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन आह्वान गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘द्वन्द्व र हिंसाबाट समस्याको समाधान हुन सक्दैन । संवाद, सहमति र जिम्मेवार सहकार्यले नै वर्तमान जटिलताबाट मुलुकलाई निकास दिने छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस