Like us!
Follow us!
Connect us!
Watch us!

एकीकृत चुनावी अभियानमा वाम गठबन्धन

विहीबार, २३ कार्तिक २०७४, २० : २५ मा प्रकाशित

एकीकृत चुनावी अभियानमा वाम गठबन्धन

  • रमेश लम्साल

अर्थ संसार, काठमाडौँ– वाम गठबन्धनले काठमाडौँ र ललितपुरका १३ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसार शुरु गरेको छ ।

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा गठबन्धनले एकीकृतरुपमा प्रचारप्रसार शुरु गरेको हो । गठबन्धनले आज काठमाडौँको चाबहिलमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुरानो पार्टी प्रजापरिषद्लाई आफ्नो पार्टीमा भित्र्याउनुभयो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनको महत्वपूर्ण पार्टी प्रजापरिषद्लाई एमालेमा भित्र्याएपछि अध्यक्ष ओली निर्वाचन क्षेत्र नं ४ ले आयोजना गरेको निर्वाचन अभियानमा सहभागी हुनुभयो ।

सो अवसरमा अध्यक्ष ओलीले गफ गर्ने दिन सकिएको र काम गर्ने दिन शुरु भएको भन्दै वाम गठबन्धनका साझा उम्मेदवार राजन भट्टराईलाई विजयी गराउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार एवं एमाले महासचिव ईश्वर पोखरेल आज आन्तरिक तयारी एवं घरदैलो अभियानलाई अगाडि बढाउनुभयो ।

यस्तै निर्वाचन क्षेत्र नं ६ को आज गोँगबुमा निर्वाचन परिचालन समितिको भेला आयोजना ग¥यो । सो क्षेत्रका गठबन्धनका उम्मेदवार झक्कु सुवेदीले समाजवादको आधार तयार पार्ने लक्ष्यका साथ निर्वाचनको महाअभियानमा सहभागी भएको बताउनुभयो ।

 गठबन्धनकातर्फबाट सो निर्वाचन क्षेत्रका निर्वाचन परिचालन समितिका संयोजक हिमाल शर्माले गठबन्धनमा सहभागी दुवै दलले एकीकृतरुपमा निर्वाचन परिचालन समिति गठन भएको जानकारी दिँदै शुक्रबारदेखि घरदैलो अभियान शुरु हुने जानकारी दिनुभयो ।

आर्थिक समृद्धि र विकासका लागि वाम गठबन्धनको जीत जरुरी रहेको उहाँको कथन थियो । प्रदेशसभाका उम्मेदवार केशव स्थापितले इतिहासको मागबमोजिम नै वामपन्थी शक्ति एकै स्थानमा आएर निर्वाचनमा सहभागी भएको बताउनुभयो ।

यस्तै निर्वाचन क्षेत्र नं १० का उम्मेदवार हितमान शाक्यले आज कीर्पिुरमा निर्वाचन परिचालन समितिको बैठक एवं भेला आयोजना गर्नुभयो । नेकपा(माओवादी केन्द्र)का काठमाडौँ जिल्ला इन्चार्ज लेखनाथ न्यौपानेले सबै निर्वाचन क्षेत्रमा वाम गठबन्धनलाई विजयी गराउन एकीकृत र विकेन्द्रित अभियान शुरु भएको जानकारी दिनुभयो ।

उता काठमाडौँ क्षेत्र नं २ मा पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता लीलामणि पोखरेलको उपस्थितिमा कोटेश्वरमा सम्पर्क कार्यालय उद्घाटन गर्नुभयो । सो क्षेत्रका उम्मेदवारसमेत रहनुभएका नेता नेपालले वामपन्थी शक्तिको एकता र सहकार्यबाट कोही पनि आत्तिनु जरुरी नभएको बताउनुभयो ।

माओवादी केन्द्रका नेता पोखरेलले वामपन्थी सहकार्य र एकताबाट कोही पनि आत्तिन जरुरी नभएको बताउनुभयो । काठमाडौँ निर्वाचन क्षेत्र नं १ का गठबन्धनका उम्मेदवार अनिल शर्माले पनि आज बानेश्वर, हनुमानस्थल लगायतका क्षेत्रमा घरदैलो, कोणसभा गर्दै आफू र आफ्नो गठबन्धनलाई विजयी गराउन मतदातालाई आग्रह गर्नुभयो ।

उता ललितपुर क्षेत्र नं ३ का उम्मेदवार एवं माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पनि आजदेखि ललितपुरमा घरदैलो अभियान शुरु गर्नुभयो । गठबन्धनले आज ललितपुरको वडा नं १ हनुमानस्थान, कुपण्डोलबाट आफ्नो पहिलो घरदैलो कार्यक्रम शुरु गरेको हो ।

घरदैलो कार्यक्रममा ललितपुर क्षेत्र नं ३ माओवादी केन्द्रकातर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पम्फा भुसाल र एमालेकातर्फबाट प्रदेशसभा सदस्य उम्मेदवार जीवन खड्का स्थानीय मतदाताका घरदैलोमा पुगेर स्थानीयवासीसँग मत माग्नुभएको थियो ।

उता ललितपुर क्षेत्र नं १ का उम्मेदवार नवराज सिलवाल पनि घरदैलो कार्यक्रममा सहभागी हुनुभयो । घरदैलो कार्यक्रममा सहभागी गठबन्धनका उम्मेदवारलाई मतदाताले स्थिर सरकार, सुशासन, संविधान कार्यान्वयन, महँगी नियन्त्रण तथा जनजीवन सहज बनाउने कार्यमा लाग्न आग्रह गरेका थिए । घरदैलो कार्यक्रममा मतदाताले राखेको जिज्ञासाबारे जानकारी दिँदै क्षेत्र नं १ का उम्मेदवार शर्माले विद्युत्भार कटौतीको अन्त्य जस्तै जनताको दैनिक जीवनसँग जोडिएको विषयलाई केन्द्रित गर्ने बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको