Like us!
Follow us!
Connect us!
Watch us!

देवी ज्ञवालीको कमाण्डमाः यसरी मागे प्रचण्डले आज चितवनमा भोट

शनिबार, २५ कार्तिक २०७४, १८ : ४० मा प्रकाशित

देवी ज्ञवालीको कमाण्डमाः यसरी मागे प्रचण्डले आज चितवनमा भोट


अर्थ संसार,कार्तिक -पूर्व प्रधानमन्त्री, माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं.-३ का उम्मेद्वार प्रचण्डले शनिबार आफ्नो निर्वाचन क्षेत्रका जनतासँग भेटघाट र अन्तरक्रिया गर्नुभयो।

बिहान बाम गठबन्धनका नेता(कार्यकर्तासँग संक्षिप्त भेटघाटपछि प्रचण्डले ८ बजे शिबनगरका सुकुम्बासीसँग अन्तरक्रिया गर्नुभयो। अन्तरक्रियामा अध्यक्ष प्रचण्डले सुकुम्बासी समस्याको स्थायी समाधानका लागि आफूले पहल गरेको बताउनु भयो। अन्तरक्रियामा प्रचण्डले सुकुम्बासीका समस्याबारे चासो राख्नुभयो।

अन्तरक्रियापछि प्रचण्डले शिबनगर क्षेत्रका सुकुम्बासी क्षेत्रमा घरदैलो र अन्तरक्रिया गर्नुभयो। घरदैलोपछि शिबनगर चोकमा आयोजित कोण सभालाई प्रचण्डले संक्षिप्त सम्बोधन गर्नुभयो। कोण सभापछि अध्यक्ष प्रचण्डले राधापुर क्षेत्रमा घरदैलो गर्नुभयो, त्यसपछि उहाँले सुन्दर बस्ती क्षेत्रमा आयोजित कोण सभालाई सम्बोधन गर्नुभयो।

कोण सभालाई सम्बोधनसँगै प्रचण्डले सुन्दर बस्तीमा सञ्चालन भएको साझा मेसमा खाना खाएर फेरि जनतासँग अन्तरक्रिया थाल्नुभयो। दिउँसो २ बजे चितवनको रामनगरमा नेकपा एमालेसम्वद्ध पेशागत महासंघ नेपालले आयोजना गरेको बनभोज कार्यक्रमलाई प्रचण्डले संक्षिप्त सम्बोधन गर्नुभयो।

बनभोज कार्यक्रमलाई सम्बोधनपछि प्रचण्डले भरतपुरमै एमाले र माओवादी सम्वद्ध कानून व्यवसायीहरुसँग संक्षिप्त अन्तरक्रिया गर्नुभयो। अन्तरक्रिया पश्चात् भरतपुर महानगर-२२ का पदमपोखरी, बाक्लोटोल, टाउन, पटाहनी, बनकट्टा र बोटेटोलमा आयोजित ६ वटा कोण सभालाई सम्बोधन गर्नुभयो भने उक्त क्षेत्रका जनतासँग भेटघाट र घरदैलो कार्यक्रम सञ्चालन गर्नुभयो।

घरदैलो, कोणसभा र अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले मूख्यतयस् ३ विषयमा आफ्नो धारणा राख्नुभयो। कम्युनिष्ट एकता र तालमेलको औचित्यबारे प्रचण्डले भन्नुभयो, “देशमा एउटै कम्युनिष्ट केन्द्र बनाउने नेपाली जनताको सपना हामी साकार पार्दैछौं।

यसबाट कोही पनि झस्कन आवश्यक छैन। अब देशमा बामपन्थीहरुको बहुमतको सरकार बन्छ, देशको विकास र समृद्धिले गति लिन्छ, देश अब समृद्धिको नयाँ युगमा प्रवेश गर्छ।“

समसामयिक राजनीतिबारे प्रचण्डले भन्नुभयो, “हिजो रुकुममा जनार्दन शर्मामाथि ग्रिनेड हानियो। आज वर्षामान पुन चढेको गाडी नजिक माइन्ड बिस्फोट गराइयो। केही दिन अघि हतियारधारी समूह समातिए। अझ मूख्य कुरा त बहालवाला मन्त्रीले नै उनीहरुलाई छुटाउन विज्ञप्ति जारी गरेका छन्।

यो सामान्य कुरा होइन। विभिन्न कसरतमा पनि निर्वाचन रोक्न नसकेपछि सरकार नै विभिन्न शक्तिलाई प्रयोग गरेर चुनाव रोक्न त खोज्दै छैन भन्ने गम्भीर प्रश्न जन्मिएको छ। चुनाव रोक्न खोजिए त्यो हाम्रा लागि मान्य हुन सक्दैन।“

चितवनको विकासबारे अध्यक्ष प्रचण्डले भन्नुभयो, “चितवनको अभिमत लिएर देशको नेतृत्व गर्ने सोच छ। चितवन जिल्लालाई नै अन्तर्रा्ष्ट्रिय स्तरको शहर बनाउन सकिन्छ। यहाँका सडक, विद्यालय, खानेपानी लगायतका पूर्वाधार विकास मेरो प्राथमिकतामा छन्।

चितवनलाई शिक्षा र स्वास्थ्यको हब बनाउन सकिन्छ। नारायणी र राप्तीमा तटबन्ध गरेर रिङरोङ बनाउने अनि चितवनको पर्यटनमा क्रान्तिकारी विकास गर्ने सोच छ। कृषि र निकुञ्ज पीडित जनताका समस्या समाधानलाई मैले उच्च प्राथमिकतामा राखेको छु।“

दिनभरको घरदैलो र अन्तरक्रियामा चितवन ३ (ख) का उम्मेद्वार रामलाल महतो, एमाले नेता देवी ज्ञवाली, राप्रपाबाट माओवादीमा प्रवेश गरेका नेता बद्री तिमिल्सिना लगायतले बोल्नुभएको थियो। घर दैलोका क्रममा जनतामा निकै ठूलो उत्साह देखिएको थियो। अभियानमा स्थानीय जनताले प्रचण्डलाई माला र पुष्पगुच्छाले स्वागत गरेका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको