Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति भण्डारीद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण

बुधबार, २९ कार्तिक २०७४, ०९ : ११ मा प्रकाशित

राष्ट्रपति भण्डारीद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण

अर्थ संसार, अबुधावी– संयुक्त अरब इमिरेट्सको भ्रमणमा रहनु भएका राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अबुधावीस्थित शहीद स्मारकमा पुगी शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

राष्ट्रपति भण्डारी शहीद स्मारक पुग्दा उहाँलाई शहीदका परिवार मामिला कार्यालयका निर्देशक शेख खलिफा बिन तहनुन बिन मोहम्मद अल नेह्यानले स्वागत गर्नुभयो ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीले शहीद स्मारकमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो ।

सो अवसरमा राष्ट्रपति भण्डारीका साथ आपूर्तिमन्त्री जयन्त चन्द, नेपालका लागि संयुक्त अरब इमिरेट्स ९युएई०का राजदूत सइद हमदन अलनक्वी तथा युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन पनि उक्त अवसरमा उपस्थित हुनुहुन्थ्यो ।

‘वाहत अल करम’ नाम दिइएको यो शहीद स्मारक संयुक्त अरब इमिरेट्स ९युएई० का बहादुर शहीदको सम्मानमा निर्माण गरिएको हो ।

यो शहीद स्मारक करिब शेख जायद ग्रान्ड मस्क र युएईको सशस्त्र बलको सामान्य मुख्यालयबीच करिब ४६ हजार वर्गमिटर क्षेत्रमा अवस्थित छ । यहाँ वार्षिकरूपमा शहीद दिवसमा शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्न चारहजार वर्गमिटर क्षेत्र रहेको छ भने केन्द्रमा एक वृत्ताकारको पोखरी पनि छ ।

यसमा ३१ वटा एल्मुनियमका पाता जडान भएको छ र यसले एकता, भाइचारा र नेतृत्व तथा नागरिकप्रति आपसी सहयोग प्रदर्शन गर्ने धारणा राखिएको छ । यस स्मारकको डिजाइन बेलायती कलाकार इद्रिस खानले तयार गर्नुभएको हो ।

यसमा रहेको श्रद्धाञ्जलि मञ्च ९प्याभिलियन अफ अनर० को छत्मा आठवटा ठूला पाता छन् र यी पाताले युएईको सात इमिरात तथा आठौँले राष्ट्रिय शहीदको प्रतिनिधित्व गर्छन् ।

मञ्चको केन्द्रमा सातवटा ठूला सिसाका पाता राखिएका छन् र तिनीहरूले सात इमिरातको प्रतिनिधित्व गर्छन् । त्यसमा सशस्त्रबलको दृढ समर्थन कोरिएका छन् ।
उहाँका साथ भ्रमण दलका अन्य सहभागी पनि उपस्थिति हुनुहुन्थ्यो ।

मस्दार नगरको पनि भ्रमण

यसैगरी, राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नै अबुधावीस्थित मस्दार नगरको पनि भ्रमण गर्नुभयो ।

राष्ट्रपति भण्डारी मस्दार नगर पुग्नुहुँदा अन्तरराष्ट्रिय नवीकरणीय ऊर्जा संस्थाका महानिर्देशक अदनान अमिन तथा त्यहाँका अन्य अधिकारीहरुले उहाँलाई स्वागत गर्नुभएको थियो ।

उक्त अवसरमा महानिर्देशक अमिनले उक्त नगरमा भइरहेका क्रियाकलापका विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी दिनुभएको थियो ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले कम्प्युटर पर्दामा आफ्नो औँलाबाट हस्ताक्षर गरी त्यसलाई डिजिटल रूपमा दर्ता गर्नुभएको थियो ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीका साथ आपूर्तिमन्त्री जयन्त चन्द, नेपालका लागि संयुक्त अरब इमिरेट्स ९युएई०का राजदूत सइद हमदन अलनक्वी तथा युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन पनि उपस्थित हुनुहुन्थ्यो ।

‘मस्दार नगर’ अबुधावीको योजनाबद्ध रूपमा निर्माण गरिएको नगर हो । यस नगरको केन्द्रीय भाग मुबादला डेभलपमेन्ट कम्पनीको सहायक संस्था मस्दारले निर्माण गरिरहेको छ । यस कम्पनीको प्रारम्भिक पूँजीको अधिकांश भाग अबुधावी सरकारले उपलब्ध गराएको छ । यस नगरको डिजाइन बेलायती वास्तुनिर्माण संस्था फोस्टर एन्ड पार्टनर्सले तयार गरेको हो ।

मस्दार नगर पूर्णतया सौर्य ऊर्जा तथा नवीकरणीय ऊर्जामा निर्भर छ । यो नगर अबुधावी अन्तरराष्ट्रिय विमानस्थल नजिकै निर्माण भइरहेको छ । यस नगरमा अन्तरराष्ट्रिय नवीकरणीय ऊर्जा संस्थाको मुख्यालय पनि अवस्थित छ ।

मस्दारमा पहिलो कार्यालय स्थापना गर्ने संस्था मस्दार विज्ञान तथा प्रविधि अध्ययन संस्थान हो ।

भ्रमणमा राष्ट्रपति भण्डारीका साथ उहाँकी छोरी निशाकुसुम भण्डारी, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चार माध्यमका प्रतिनिधि पनि रहनुभएको थियो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको