Like us!
Follow us!
Connect us!
Watch us!

उपप्रम एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठसँग अटोमोबाइल क्षेत्रका विभिन्न समस्याहरुका सम्बन्धमा छलफल

अर्थ संसार

विहीबार, ०१ चैत्र २०८०, १९ : ५० मा प्रकाशित

उपप्रम एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठसँग अटोमोबाइल क्षेत्रका विभिन्न समस्याहरुका सम्बन्धमा छलफल

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले आज उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । 

भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले मन्त्रालयसँग सम्बन्धित नाडाको २६ बुँदे सुझावहरु पेश गर्दे त्यसको समुचित सम्बोधन र समाधानका लागि आग्रह गरेका छन् । सुझावहरुमा सडक मर्मत सम्भार दस्तुर, सवारी साधन कर लगायतका विषय संलग्न हुनुका साथै सवारी साधनहरु सडकमा गुडे पछि मात्र सवारी कर लाग्ने व्यवस्था गर्न आग्रह गरिएको छ । यसैगरी अटोमोबाइल कम्पनीहरुको दर्ता प्रक्रिया, इम्बोस्ड नम्बर सवारी साधनहरुमा अनिवार्य लागु गर्ने, दुईपांग्रे सवारी साधनहरुलाई अत्यावश्यकिय सवारी साधनको रुपमा लिनु पर्ने बुँदाहरु पनि सुझावमा समावेश गरिएको छ ।

नाडाले सवारी साधन कर तिर्ने व्यवस्था सहज हुनु पर्ने, नामसारी, करहरुको भुक्तानी अनलाइन मार्फत  गर्ने प्रणाली हुनु पर्ने, जरीवानाको दायरा र सरुवा सहमतिका विषय पनि सुझावमा समावेश गरेको छ । यसैगरी सवारी साधन पैठारीकर्ताहरुको लागि छुट्टै डेस्कको स्थापना गर्नुपर्ने, रसिदमा एकरुपता हुनु पर्ने, मोटरसाइकल प्रयोगकर्ता दुवैले हेलमेट लगाउनु पर्ने, लाईसेन्स वितरण सहज हुनुपर्ने र दुई पाङ्ग्रे सवारी साधनहरुको वर्गिकरण हुनुपर्ने पनि नाडाले दिएको सुझावमा रहेको छ । 

यसैगरी उच्चस्तरका सवारी साधनहरुको लागि हरियो स्टिकर दिने प्रक्रीया थाल्नुपर्ने, पार्किङ्गस्थलको अभाव हटाउनुपर्ने, विशेष आर्थिकक्षेत्र वा औद्योगिक ग्रामको निर्माण गर्नुपर्ने, चार्जिङ्ग स्टेशनको निर्माण र विद्युतिय सवारी साधनको व्यवस्था हुनुपर्ने,सवारी चालक तालिमको व्यवस्था गर्नुपर्ने, अटोमोवाइल वर्कशपहरुमा रोजगारीको व्यवस्था गर्नुपर्ने, अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण हुनुपर्ने लगायतका सम्बन्धमा सुझावहरु पेश गरेको छ । 

छलफलमा सहभागी हुनु भएका नाडाका सचिव विक्रम सिंहानियाले प्रिजेन्टशन मार्फत समेत ती विषयहरुमा जानकारी गराएका थिए । छलफलको अन्त्यमा उपप्रम महासेठले सवारी साधनहरुको सि.सि.को आधारमा इम्बोस्ड नम्बरप्लेट जारी गर्न सकिने बताउदै प्रदेश तहका समस्याहरु छन् भने प्रदेश सरकारमा नै सुझावहरु राख्न सकिने बताए ।

छलफलको क्रममा उपप्रधानमन्त्री महासेठले मोटरसाइकलको वर्गिकरण सि.सि.को आधारमा गर्न सकिने भन्दै सवारी साधनहरुको पार्किङ्गको सुविधा सम्बन्धित वडा कार्यालयहरुले गर्ने बताए । त्यसैक्रममा उपप्रधानमन्त्री महासेठले सेवाग्राहीलाई सुविधा दिनु पर्ने विषयमा विशेष चासो राख्दै नाडाले राखेका उक्त सुझावहरुका सम्बन्धमा आवश्यक पहल गरिने आश्वासन दिए ।

मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा विभागका अन्य अधिकारीहरु समेतको उपस्थिति रहेको उक्त छलफलमा नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको