Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेसले जिते जनता मालिक हुनेछन् – सभापति देउवा

बुधबार, १३ मंसिर २०७४, २१ : १४ मा प्रकाशित

कांग्रेसले जिते जनता मालिक हुनेछन् – सभापति देउवा

अर्थ संसार, काठमाडौँ– प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको विकास र समृद्धिका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी गराउन अपिल गर्नुभएको छ ।

चुनाव प्रचारप्रसार मूल समिति र नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ५ द्वारा यहाँ आज आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले लोकतन्त्रको संस्थागत विकास र स्थायित्वका लागि पनि मंसिर २१ गते हुने निर्वाचनमा काँग्रेसलाई मत दिन आममतदातासँग अपिल गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो – “नेपाली काँग्रेसले सात सालमा निरंकुश राणा शासन हटाएर मुलुकमा लोकतन्त्र स्थापना गरेको हो । पञ्चायतलाई हटाएर काँग्रेस आफैँले मुलुकको नेतृत्व गरेको हो र नेपाली काँग्रेसकै नेतृत्वमा मुलुकमा समावेशी संविधान आएको हो । काँग्रेसले जितेको खण्डमा मात्र जनता मालिक हुनेछन् ।”

काँग्रेसको शासन आएमा मात्रै समृद्धिका लागि स्वदेश र विदेशी लगानी बढाउन सकिने उहाँको भनाइ थियो ।

पार्टी महामन्त्री डा शशांक कोइरालाले काँग्रेससँग विकासको प्रस्ट ‘भिजन’ भएको र नेतृत्व गर्न दिइए १० वर्षभित्र मुलुकको मुहार फेर्ने बताउनुभयो ।

लोकतान्त्रिक गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार बन्नुभएका डा प्रकाशशरण महतले क्षेत्र नं ५ को समृद्धि, विकास र रोजगारी सिर्जनाका लागि रूख चिह्नमा मतदान गरी आफूलाई विजयी गराउन अनुरोध गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर राणाले स्थिर लोकतान्त्रिक सरकार बनाउन लोकतान्त्रिक गठबन्धन मुलुकलाई आवश्यक रहेको बताउनुभयो ।

लोकतान्त्रिक गठबन्धनबाट काठमाडौँ क्षेत्र नं ५ को प्रदेश (क) मा रमा गुरागार्इं र (ख) मा रमेश खड्का उम्मेदवार हुनुहुन्छ । सोही अवसरमा नेका प्रचारप्रसार मूल समितिका संयोजक बालकृष्ण खाँणले जनताले विकासमुखी सही उम्मेदवार छनोट गर्नुपर्ने विचार प्रकट गर्नुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको