Like us!
Follow us!
Connect us!
Watch us!

कर्णाली प्रदेश : ६ वर्षमा तीन अर्ब आन्तरिक आम्दानी

अर्थ संसार

मंगलबार, ०४ असार २०८१, ११ : २० मा प्रकाशित

कर्णाली प्रदेश : ६ वर्षमा तीन अर्ब आन्तरिक आम्दानी

कर्णाली प्रदेश सरकारले विगत ६ वर्षमा रु दुई अर्ब ८६ करोड १० लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ । प्रदेश सरकार स्थापनाको पाँच वर्ष र चालु आर्थिक वर्षको जेठ मसान्तसम्म गरी सो आम्दानी गरेको पाइएको छ । 

आर्थिक वर्ष २०७९/८० सम्मको आन्तरिक राजस्व सङ्कलन रु दुई अर्ब २४ करोड १३ लाख ६३ हजार भएको छ । यो कुल राजस्व लक्ष्यको ९४.८ प्रतिशत रहेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले बताए । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा प्रदेशको आन्तरिक राजस्व सङ्कलन जेठ मसान्तसम्म रु ६१ करोड ९७ लाख अर्थात् लक्ष्यको तुलनामा ७४.१० प्रतिशत रहेको छ । आन्तरिक आम्दानीतर्फ कमजोर रहेको कर्णाली प्रदेश सरकारको विगत ६ वर्षको कुल बजेट भने रु एक खर्ब ६६ अर्ब ५६ करोड रहेको छ । 

बजेटको संरचना हेर्दा चालुतर्फ ३७.४६ प्रतिशत र पुँजीगततर्फ ६२.५४ प्रतिशत विनियोजन भएको आर्थिक मामिलामन्त्री केसीले बताए । विनियोजनको चालुतर्फ ६२.७१ प्रतिशत र पुँजीगततर्फ ५५.०१ प्रतिशत खर्च भई समग्रमा ५७.९० प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्ष सकिन अब एक महिना मात्रै बाँकी रहँदा सरकारको बजेट कार्यान्वयनको अवस्थासमेत कमजोर देखिएको छ । 

संसदमा आगामी वर्षको बजेट पेस गर्दै मन्त्री केसीले आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्मको खर्च चालुतर्फ ४९.३८ प्रतिशत र पुँजीगततर्फ २९.८७ प्रतिशत खर्च भई समग्रमा ३७.९३ प्रतिशत खर्च भएको बताए । आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्मको अवधिमा सङ्घीय सरकारबाट प्राप्त बजेटमा सशर्त, समपुरक र विशेष अनुदानमा कुल रु २७ अर्ब ५२ करोड प्राप्त भएकामा सो आर्थिक वर्षभित्र खर्च नसकी रु सात अर्ब ७८ करोड सङ्घीय सञ्चित कोषमा फिर्ता भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको