अर्थ संसार, ललितपुर–नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्नेभन्दा पनि आफ्नो ध्यान देश विकास कसरी गर्ने भन्ने रहेको बताउनुभएको छ ।
वाम गठबन्धन क्षेत्र नं–१ ले आज चापागाउँमा आयोजना गरेको चुनावीसभामा उहाँले नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र आफू दुवैको पार्टी एकीकरणको उद्देश्य अध्यक्ष बन्नु नभएको प्रष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “अहिले नै हामी पार्टीका अध्यक्ष छौंँ, त्यसका लागि एकीकरणमा जानु पर्दैन ।” नेताको व्यवस्थापनभन्दा पनि जनताको व्यवस्थापनका लागि पार्टी एकीकरण भएको उहाँले बताउनुभयो । घाइते, पीडित, बेरोजगार र गरिब जनताको व्यवस्थापनको आवश्यकता भएको उहाँले औँलाउनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अर्को पटक प्रधानमन्त्री हुनेबाहेक अरु चुनावी कार्यसूची नभएको आरोप लगाउँदै उहाँले भन्नुभयो, “पत्रकारले कार्यक्रम के छ भनेर प्रश्न गर्दा उहाँले म प्रधानमन्त्री बन्नु छ भन्ने गर्नुभएको छ ।” अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा विकासका कामको थालनी र छिमेकीसँगको सम्बन्ध सुधार गरेको जिकिर गर्दै वामपन्थीसँग सरकारमा गएपछिका थुप्रै कार्यक्रम रहेको जिकिर गर्नुभयो ।
सभामा एमाले पोलिटब्युरो सदस्य रघुजी पन्तले विकासका सबै कामको थालनी वामपन्थी सरकारले नै गरेको जिकिर गर्नुभयो । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हरि दाहालले वामपन्थीको जीतको औपचारिक घोषणा हुन मात्रै बाँकी भएको विचार राख्नुभयो ।
एमालेका केन्द्रीय सदस्य सुशीला नेपालले यस क्षेत्रमा वामपन्थीको जीत फर्कने जिकिर गर्नुभयो ।
क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नवराज सिलवालले नेपाली काँग्रेसले प्रहरी महानिरीक्षक बन्न रोक्नाले गर्दा आफू जनतासम्म जान पाएको बताउनुभयो । प्रदेशसभा खका उम्मेदवार चेतनाथ सञ्जेलले आफू पार्टीमा बसेर काम गरे पनि जननिर्वाचित नभएकाले काम गर्नका लागि जनतासँग एक पटक अवसर मागेको बताउनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस