Like us!
Follow us!
Connect us!
Watch us!

स्वदेशी आँपले पाउँदैन बजार,बर्षेनी अर्बौको आयात विदेशबाट

अर्थ संसार

सोमबार, १० असार २०८१, १३ : २८ मा प्रकाशित

स्वदेशी आँपले पाउँदैन बजार,बर्षेनी अर्बौको आयात विदेशबाट

नेपालमा आँपको सिजन सुरु भएसँगै हरेक वर्ष आँपले बजार नपाएको,न्यून मूल्यमा बिक्री भएको, ढुवानीमा कठिनाइ भएको जस्ता समाचार आइ नै रहन्छन् । अर्कोतिर नेपाली उपभोक्ताले भारत, चीन र थाइल्याण्डमा फलेका आँप उपभोग गरिरहेका छन् । फितलो सरकारी तयारीले नेपाली आँपको ढुवानी र बजार सुनिश्चित नहुँदा उपभोक्ता विदेशी आँप खान बाध्य छन् ।

सरकारले आँपसहितका फलफूलजन्य वस्तुको उत्पादन बढाएर बजार व्यवस्थापन गरी आयात प्रतिस्थापन गर्ने बताउँदै आए पनि नेपाली उत्पादनले माग धान्न नसकेर बर्सेनि आँपको आयात हुन्छ । नेपाली उत्पादन र आयातित आँप गरी देशभरमा करिब ५ लाख मेट्रिक टन खपत भएको देखिन्छ ।  

नेपालमा आँप उत्पादन 

नेपालमै करिब साढे चार लाख मेट्रिक टनभन्दा बढी आँप उत्पादन हुन्छ भने बर्सेनि करिब २० हजार मेट्रिक टन आँप आयात भएको सरकारी तथ्याङ्क छ । नेपालमा उत्पादन हुने आँप र आयात हुने आँपको तुलना गर्ने हो भने आँप उत्पादनमा थप केही मात्रामा जोड दिएमा पनि आँप आयात गर्न नपर्ने अवस्था देखिन्छ । नेपालमा करिब ५० हजार हेक्टर क्षेत्रफल बढीमा आँप खेती गरिएको छ । यसबाट करिब ४० हजार हेक्टर क्षेत्रफलको आँपले उत्पादन दिएको छ । सो क्षेत्रफलबाट करिब साढे चार लाख मेट्रिक टनको हाराहारीमा स्वदेशी आँप उत्पादन हुँदै आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क छ । 

तंथ्याकमा यस्तो छ 
आर्थिक वर्ष २०७८/७९ मा ५३ लाख हेक्टर क्षेत्रफलमा गरिएको आँप खेतीमध्ये ४० हजार हेक्टर क्षेत्रफलबाट ४ लाख ९८ हजार मेट्रिक टन आँप उत्पादन भएको थियो । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ५१ लाख हेक्टर क्षेत्रफलमा गरिएको आँप खेतीमध्ये ४३ हजार हेक्टर क्षेत्रफलबाट ४ लाख ६६ हजार मेट्रिक टन आँप उत्पादन भएको थियो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा ५१ लाख हेक्टर क्षेत्रफलमा गरिएको आँप खेतीमध्ये ४२ हजार हेक्टर क्षेत्रफलबाट ४ लाख ५३ हजार मेट्रिक टन आँप उत्पादन भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

विदेशी आँप 
वार्षिक रूपमा १२ देखि २२ हजार मेट्रिक टनको हाराहरीमा आँप आयात भइरहेको सरकारी तथ्याङ्कमा भेटिन्छ । सो बापत ५५ करोडदेखि १ अर्ब बढी रुपैयाँ बाहिरिएको विभागको तथ्याङ्क छ ।

नेपालमा भारतबाट बढी मात्रामा आँप आयात भएको विभागको तथ्याङ्कले देखाउँछ । त्यस्तै नेपालमा थाइल्यान्ड, फिलिपिन्स, सिंगापुरलगायत देशबाट आँप भित्रिने गरेको छ । यसरी तथ्यांक विभागको तथ्याकं विश्लेषण गर्दा वर्षेनी आँपको आयात बढ्दो छ । एकतर्फ आयातको ग्राफ बढ्दा अर्को तर्फ नेपाली उत्पादनले बजार नपाउने किसानहरूको गुनासो छ । नेपालमै उत्पादित आँपको बजार व्यवस्थापनमा ध्यान दिन सकेमा स्वदेशमै रोजगारी सृजना, आयआर्जन वृद्धि र आयात प्रतिस्थापन गर्न सकिने विज्ञको भनाइ छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको