लामो समयपछि सेयर बजारमा बुलको संकेत देखिएको छ । लामो समयको अवधिमा सेयर बजारले निरन्तर उकालो लाग्ने अवस्थालाई बुल मार्केट भनिन्छ । अहिलेको निरन्तर वृद्धिलाई बुल मार्केटको संकेतका रूपमा जानकारहरूले लिएका छन् ।
फोब्सका अनुसार भने सेयर बजार परिसूचकमा २० प्रतिशतले वृद्धि भएको अवस्थालाई बुल मार्केट भनिन्छ । बुल मार्केटको औसत आयु तीन वर्षको मानिन्छ । संसारमा सबैभन्दा बढी बुल मार्केट ११ वर्षसम्म चलेको थियो । सन् २००९ को मार्चमा विश्व आर्थिक मन्दीबाट सुरु भएर सन् २०२० को मार्चसम्म चलेको मानिन्छ ।
यतिबेला भने नेपाली सेयर बजार दुई वर्षयताकै उच्चतम अंकमा पुगेको छ । यो समाचार तयार पार्दासम्म अर्थात् मंगलबार १ः५३ सम्म नेप्से २५३२ अकंमा रहेको छ । यो अंक २९ महिनायताकै उच्चतम हो । यसअघि २०७८ चैत अन्तिममा २५ सय बिन्दुमा पुगेको थियो
२ भदौ २०७८ मा सेयर बजारले ३१९८ अंकको उच्चतम रेकर्ड बनाएपछि क्रमिक ओरालो लागेको थियो । ९ असार २०७९ मा १८४७ अंकसम्म झ¥यो । त्यसपछि बजार दुई वर्षसम्म १८ सयदेखि २२ सय आसपास रहेको थियो ।
यसपटक प्रमुख दुई दल नेपाली कांग्रेस र एमालेको संयुक्त सरकारमा विष्णु पौडेल अर्थमन्त्री भएपछि लगानीकर्ता उत्साहित भएका हुन् ।
गत बिहीबार मात्रै सेयर बजारमा १५ अर्ब ५४ करोड ८८ लाखको कारोबार भयो । जुन कारोबार गत ३५ महिनायताकै उच्च हो । यसअघि गत २०७८ भदौ १३ गते १५ अर्ब ६५ करोडको सेयर कारोबार भएको थियो । कारोबार रकम बढ्नुले पनि लगानीकर्तामा विश्वास बढेको जनाउँछ, जसले बुलिस ट्रेन्डलाई संकेत गर्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस