प्रुडेन्सियल इन्स्योरेन्सको सेयर किन्दा फाइदा कि नोक्सान ? हेर्नुहोस् एक विश्लेषण
बुधबार, ०५ पुस २०७४, ०८ : १५
मा प्रकाशित
प्रमुख गतिविधि
कम्पनीले चुक्ता पूँजी वृद्धि गर्न जारी गर्न लागेको ३० प्रतिशत हकप्रद शेयर अगामी पुस १६ बाट विक्रीका लागि खुला गर्ने भएको छ ।
हकप्रद जारी गर्न कम्पनीले मङ्सिर १५ गते शेयरधनी किताब बन्द गरेकाले मङ्सिर १४ गतेसम्म कम्पनीको शेयरधनी बनेका सबैले हकप्रद खरीद पाउनेछन् । हकप्रद भर्ने अन्तिम मिति माघ २१ गते रहेको छ । साथै, गत मङ्सिर १ गते सम्पन्न कम्पनीको १६औं वार्षिक साधारणसभाले आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :
कम्पनीले चालू आर्थिक वर्ष पहिलो त्रैमासमा खुद मुनाफा ३९ प्रतिशत वृद्धि गरी २ करोड ५२ लाख रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ८१ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
जगेडा १९ प्रतिशत कम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा १८ करोड ३८ लाख रहेको जगेडा यो त्रैमासमा १४ करोड ९६ लाख पुगेको छ ।
बीमा कोषमा ५० प्रतिशत वृद्धि गरेर ३६ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ६ प्रतिशत वृद्धि भएर ३६ करोड ६९ लाख रुपैयाँ पुग्दा खुद बीमा शुल्क आम्दानी गत त्रैमासभन्दा २६ प्रतिशत वृद्धि भएर १२ करोड ६९ लाख पुगेको छ ।
यस त्रैमाससम्ममा कुल दावी भुक्तानी रकम ११ प्रतिशत वृद्धि भएर १७ करोड २२ लाख छ । त्यस्तै, खुद दाबी भुक्तानी ८ करोड ५६ लाख छ, जुन अघिल्लो आर्थिक वर्षको भन्दा २ प्रतिशत कम हो ।
कुल दाबी भुक्तानी सङ्ख्या १ हजार ४ सय ६७ रहेको छ भने भुक्तानी हुन बाँकी दाबी सङ्ख्या ३ हजार ५ सय २७ रहेको छ ।
यस त्रैमासमा प्रतिशेयर आम्दानी २३ दशमलव ६० रुपैयाँ, मूल्य आम्दानीको अनुपात ६१ दशमलव ४३ गुणा र प्रतिशेयर नेटवर्थ २ सय २० दशमलव ३६ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य ४ सय ५९ दशमलव ६७ रुपैयाँ रहेको छ ।
निष्कर्ष :
समीक्षा अवधिमा कम्पनीले पूँजी वृद्धिसँगै व्यवसायमा सुधार गरेको छ । अघिल्लो त्रैमासको तुलनामा खुद मुनाफासँगै प्रतिशेयर आम्दानी वृद्धि गर्न सक्नु कम्पनीको सकारात्मक पक्ष रहेको छ ।
प्रतिरोध २ : ९८५ । प्रतिरोध १ : ९४० । अन्तिम कारोबार मूल्य : ८६० । टेवा १ : ८३० । टेवा २ : ८००
बजारको अवस्था
४ महीनायता घट्दो प्रवृत्तिमा रहेको प्रुडेन्सियल इन्स्योरेन्स हालको अवस्थामा पनि घट्दो प्रवृत्तिमै रहेको छ । घट्दो क्रममा रहेको यस इन्स्योरेन्स कम्पनीको शेयरमूल्यले सोमवार ८ सय ६४ रुपैयाँको टेवा तोडेको भए पनि मङ्गलवार भने ८ सय ६० रुपैयाँको सतहमा स्थिरता कायम गर्न सफल भएको छ । मङ्गलवार यस कम्पनीको शेयरमूल्य यथावत् रहेको छ, जसको अर्थ अघिल्लो दिनकै अन्तिम मूल्यमा बजार बन्द भएको छ भने यस कम्पनीको ४ सय २० कित्ता शेयर कारोबार भएको छ ।
मुभिङ एभरेज
५ दिने र २१ दिने मुभिङ एभरेजअनुसार यस इन्स्योरेन्सको शेयरमूल्य घट्दो प्रवृत्तिमा रहेको छ ।
एडीएक्स
एडीएक्स सूचकले यस कम्पनीको शेयरमूल्य घट्दो प्रवृत्तिमा रहेको बुझाउँछ ।
एटीआर
एटीआर प्रवृत्तिहीन अवस्थामा रहेको हुनाले उतारचढाव सामान्य रहेको सङ्केत गरेको छ ।
स्टोकास्टिक
स्टोकास्टिक सूचक ओभरसोल्ड क्षेत्रमा रहेको छ, जसले यस कम्पनीको शेयरमूल्यमा विक्रेताको चाप बढेको बुझाउँछ भने शेयर सस्तिएको पनि सङ्केत गर्छ ।
निष्कर्ष
विभिन्न प्राविधिक सूचकले यस कम्पनीको शेयरमूल्य घट्दो प्रवृत्तिमा रहेको बुझाएको हुनाले बढ्दो प्रवृत्ति सङ्केत नगरेसम्म घट्दो प्रवृत्तिमा रहने सम्भावना उच्च रहने देखिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस