नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री प्रकाश शरण महतले आयोजनाको प्रभावकारिता र प्रथामिकताका आधारमा ऋण लिएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल प्रेस युनियन पर्साद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्रीसमेत रहेका उनले सरकारले कोभिड–१९ पछि लिइएका ऋण तिर्न समस्या भइरहेकाले जभाभावी ऋण लिन नहुने धारणा राखे ।
उनले विगत पाँच वर्षयता सरकारले लिएको आन्तरिक तथा बाह्य ऋण तिर्न समस्या भइरहेकाले आवश्यकताका आधारमा मात्रै ऋण लिनुपर्ने बताए ।
महतले भने, ‘आयोजनाको प्रभावकारिता र प्रथामिकताको आधारमा मात्रै ऋण लिएर प्रतिफल आउने क्षेत्रमा लगानी गर्नुपर्छ । त्यसो गर्न नसकिएको खण्डमा मुलुकमा ऋणको व्ययभार बढ्नेतर्फ सचेत रहन जरुरी छ,विश्व बैंक, एसियन विकास बैंक (एडिबी) लगायत सस्तो ब्याजदरको ऋण सदुप्रयोग गरी प्रतिफल केन्द्रित योजनामा लगानी गर्नुपर्छ’, उनले भने, ‘विभिन्न सर्त र प्रावधान राखेर लिने ऋण मुलुकको हितका लागि हुन्छन् वा हुँदैनन् त्यसतर्फ सचेत हुनु जरुरी छ ।’
महतले बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ को समयमा निजी क्षेत्रलाई प्रवाह गरेको ऋण अहिले उठाउन समस्या भइरहेको बताए ।
‘कोभिडको समयमा व्यापार, व्यवसाय सबै स्थिर भएकाले त्यो बेला खर्च गर्ने ठाउँ भएन । अर्थतन्त्र चलायमान नहुँदा निजी क्षेत्रले पहिला लिएको ऋण तिर्न अहिले मुस्किल भइरहेको छ’, उनले भने, ‘अहिले पनि बैंक तथा वित्तीय संस्थामा जम्मा भएको पुँजी ऋणको रूपमा प्रवाह हुन सकिरहेको छैन । यसले मुलुकको अर्थतन्त्र पूर्ण रूपमा चलायमान हुन सकिरहेको छैन ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस