Like us!
Follow us!
Connect us!
Watch us!

कर्मचारीलाई ‘कम्फर्ट जोन’ बाट बाहिर निस्केर काम गर्न अर्थमन्त्रीको निर्देशन

अर्थ संसार

मंगलबार, १२ साउन २०८३, १० : २३ मा प्रकाशित

कर्मचारीलाई ‘कम्फर्ट जोन’ बाट बाहिर निस्केर काम गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको राजस्व प्रणालीमा व्यापक सुधार गर्दै १६ खर्ब रुपैयाँको राजस्व संकलन लक्ष्य भेट्न ‘मिसन मोड’ मा काम गर्न निर्देशन दिएका छन्। सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले कर्मचारीहरूलाई स्पष्ट लक्ष्य, मापदण्ड र समयसीमा निर्धारण गरेर अघि बढ्न आग्रह गरेका हुन्।

चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा समेत ‘मिसन मोड’ को अवधारणा समेटिएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले यसलाई राजस्व प्रशासनको क्षेत्रमा सफल उदाहरणका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए। मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र उपभोगको प्रवृत्ति हेर्दा राजस्व संकलनको लय बिग्रिएको औंल्याउँदै उनले राजस्व चुहावट नियन्त्रण र दायरा विस्तारलाई प्राथमिकता दिनुपर्ने बताए।

सहरी क्षेत्रको अर्थतन्त्र चलायमान देखिए पनि सोही अनुपातमा राजस्व संकलन नभएकोप्रति उनले विशेष चासो व्यक्त गरे। त्यसैले, परम्परागत शैली त्यागी ‘कम्फर्ट जोन’ बाट बाहिर निस्केर नतिजामूलक काम गर्न उनले मातहतका कर्मचारीहरूलाई कडा निर्देशन दिएका छन्।

लक्ष्यको नजिक पुगेपछि निष्क्रिय हुने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ थियो । भ्रष्टाचार र अनियमितताप्रति ‘जिरो टलरन्स’ को नीति अख्तियार गरिने स्पष्ट पार्दै उनले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत र बदमासी गर्नेलाई कारबाही गरिने बताए । करदातासँगको सम्बन्धलाई थप सुमधुर बनाउनुपर्नेमा जोड दिँदै उनले तर्साउने भन्दा पनि उत्प्रेरित गर्ने नीति अवलम्बन गर्न निर्देशन दिए । ठूला करदाताहरूलाई सम्मान गर्ने र उनीहरूको योगदानको कदर गर्ने नयाँ योजना ल्याइने उनले जानकारी दिए । कर अनुपालनका लागि करदातालाई निश्चित समय दिएर जिम्मेवार बनाउनुपर्ने उनको तर्क छ । चालु आर्थिक वर्षको साउन महिनादेखि नै राजश्व संकलनमा सुधारको संकेत देखिनुपर्ने भन्दै उनले सोहीअनुसार सक्रिय हुन कर्मचारीहरूलाई आग्रह गरे ।

चाडबाड अगावै राजस्व संकलनको सकारात्मक लय समात्नसके त्यसले आगामी दिनमा थप हौसला दिने उनको विश्वास थियो । अर्थमन्त्रीले निजी क्षेत्रका वास्तविक समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताए । उत्पादनमूलक क्षेत्रका उद्योगीहरूसँग प्रत्यक्ष छलफल गरी उनीहरूका कर तथा भन्सार सम्बन्धी समस्या समाधान गरिने र वन तथा उद्योग मन्त्रालयसँग जोडिएका विषयमा पनि समन्वय गरिने उनले प्रतिबद्धता व्यक्त गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको