अर्थ संसार, मलेखु, धादिङ - लापर्बाहीपूर्वक हाइटेन्सन लाइनको तार जोड्ने काम गर्दा शनिबार धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ४, पुर्सुकमा एकजना मजदुरको ज्यान गएको छ ।
तार जोड्दै गर्दा माथि अर्को तारमा तार जुधेपछि करेन्ट लागेर बझाङ जिल्ला वित्थडचिर गाउँपालिका वडा नं ८ का २२ वर्षीय जयराम अगस्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।
लाइन बन्द नगरी मुख्य लाइन (हाइटेन्सन लाइन) को तार जोड्ने काम गर्दै गर्दा करेन्ट लागेपछि अगस्तीको घटनास्थलमै मृत्यु भएको र अहिलेसम्म पनि तारमा अड्किरहेको र शव झिक्न नसकेको प्रहरीले जानकारी दिएको छ ।
गाउँमा शाखा लाइन जोड्न पोल गाड्ने र तार टाँङ्ने काम भइरहेको अवस्थामा एक टोली खम्बा गाड्ने काम गर्दै गर्दा अगस्ती तार जोड्न पोलमा चढेको र घटना भएको सुनेर उद्धारका लागि गाउँवासी सो स्थानमा पुग्दा उनको मृत्यु भइसकेको अर्का कामदार हरि तिमल्सिनाले जानकारी दिनुभयो ।
रातिको समय भएकाले शव पोलमा झुण्डिएको अवस्थामा निकाल्न नसकेका कारण सदरमुकाम ल्याउन सकिएको छैन । प्रहरी टोली घटनास्थलमा पुगेको छ । कामदारको लापर्बाही र सुरक्षा उपाय नअपनाई काम गरिएकाले घटना भएको प्रहरीको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस