नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ ।
भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा बैंकले निर्माण गरेका ९६ वटा अस्थायी आवासमा बसोवास गरिरहेका परिवारलाई कम्बल वितरण गरिएको हो ।
बैंकले एक कार्यक्रम आयोजना गरी यही माघ १ गते नलगाड–१ का वडाध्यक्ष धनबहादुर महर र माघ २ गते चौरजहारी–१ का वडाध्यक्ष इन्द्र गिरीको उपस्थितिमा कम्बल वितरण गरेको थियो । यस वर्षको हिउँदमा पनि अस्थायी आवासमा बिताउनुपर्दा खासगरी वृद्धवृद्धा, बालबालिका र सुत्केरीहरूको स्वास्थ्यमा पर्न सक्ने समस्यालाई ध्यानमा राखी कम्बल वितरण गरिएको नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बताए ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका–१ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का भूकम्पपीडितका लागि ४९ वटा अस्थायी आवास निर्माण गरेको थियो । सोही अस्थायी आवासमा बसोवास गर्ने परिवारका लागि यसपटक कम्बल वितरण गरिएको बैंकले जनाएको छ ।
सोही अवसरमा नलगाड–१ का अध्यक्ष महर र चौरजहारी–१ का अध्यक्ष गिरीले भूकम्प प्रभावितका लागि ओत लाग्न सुरक्षित ठाउँ उपलब्ध गराउनुका साथै यस वर्ष चिसोबाट बच्न कम्बल वितरण गरी राहत उपलब्ध गराएकामा नबिल बैंकलाई धन्यवाद दिए ।
नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ। बैंकले विशेष गरी वित्तीय साक्षरता, उद्यमशीलता विकास, स्वास्थ्य, शिक्षा, विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन र जलवायु परिवर्तनका क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस