बाढीपहिरोको क्षतिबाट परेको बीमा दाबीमा निर्जीवन बीमकहरुले हालसम्म निकै थोरै भुक्तानी गरेको देखिन्छ।
असोज दोस्रो साताको अविरल वर्षपछि देशका विभिन्न स्थानमा सिर्जित बाढीपहिरोले ठूलो धनजनको क्षति भएको थियो। तर, बीमकहरुबाट दाबी भुक्तानी सुस्त देखिएको छ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले अझै ९ अर्ब ८७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ।
माघ २३ गतेसम्मको तथ्यांकका आधारमा निर्जीवन बीमा र निर्जीवन लघु बीमा गरी १८ वटा कम्पनीमा ३ हजार ७२० वटा दाबी परेको छ। ती दाबीको कम्पनीहरुले १२ अर्ब ७८ करोड २४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म बीमकहरुले २ हजार २४९ वटा दाबीको २ अर्ब ५० करोड २० लाख रुपैयाँ भुक्तानी गरेका छन्।
कम्पनीहरुले कुल दाबी गरेको १९.५७ प्रतिशतमात्र भुक्तानी गरेको तथ्यांकबाट देखिन्छ। कम्पनीहरुले अझै १ हजार ५३० दाबीको ९ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ
सबैभन्दा बढी दाबी भुक्तानी गर्ने कम्पनी
प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी भुक्तानी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गरेको छ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ५१२ वटा दाबी परेकोमा ३१४ वटा दाबीको ५२ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेको छ। कम्पनीले जम्मा २ अर्ब ६३ करोड ७५ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने भएको छ।
यस्तै,शिखर इन्स्योरेन्सले ४६६ वटा बीमा दाबीको परेकोमा ४४० वटा बीमा दाबीको ४४ करोड ४७ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । अब कम्पनीले ११९ वटा बीमा दाबीको ७० करोड रुपैयाँ मात्रै भुक्तानी गर्न बाँकि रहेको छ ।
अन्य कुन कम्पनीले कति गरे दाबी भुक्तानी ?
सगरमाथा इन्स्योरेन्स कम्पनीको ४३० वटा बीमा वापतको १ अर्ब ३६ करोडको दाबी परेको छ भने कम्पनीले हालसम्म ३५ करोड रुपैयाँ भुक्तानी गरेको छ । यस्तै , नेकोले १८ करोड ४१ लाख रुपैयाँ, सगरमाथा लुम्बिनीले ३५ करोड ३७ लाख, हिमालयन एभरेष्टले १५ करोड ८४ लाख, आइजीआई प्रुडेन्सियलले २० करोड ९१ लाख, सानिमा जीआइसीले १७ करोड ९७ लाख र नेपाल इन्स्योरेन्सले ४ करोड १८ लाख रुपैयाँ दाबी भुक्तानी दिएका छन् ।
राष्ट्रिय बीमा कम्पनीले ९ लाख ६५ हजार दाबी भुक्तानी गरेको छ ।
प्राधिकरणका अनुसार दि ओरिन्टियलले १ अर्ब ३१ करोड ४७ लाख, सगरमाथा लुम्बिनीले १ अर्ब १ करोड ३५ लाख, सानिमा जीआइसी इन्सुरेन्सले ७१ करोड ८४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यस्तै, हिमालयन एभरेष्टले ७२ करोड ९४ लाख, एनएलजीले ७७ करोड १८ लाख, नेकोले ७६ करोड ४५ लाख, युनाइटेड अजोड ४९ करोड ९१ लाख, नेसनलले ४४ करोड ५६ लाख, आइजीआई प्रुडियन्सीयलले २० करोड ४३ लाख तथा नेपाल इन्स्योरेन्सले ३५ करोड १४ लाख , प्रभुले २६ करोड ९५ लाख, राष्ट्रिय बिमा कम्पनीले २० करोड ६८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
निर्जीवन लघु बीमकतर्फ कसको कति ?
त्यस्तै निर्जीवन लघु बीमकतर्फ स्टार माइक्रोले १० वटा दाबीको ३६ लाख ६५ हजार रुपैयाँ, ट्रस्ट माइक्रोले ३ वटा दाबीको १५ लाख २० हजार रुपैयाँ, नेपाल माइक्रोले ४ वटा दाबीको ६ लाख ५० हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रोले ९ वटा दाबीको ५ लाख ४० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।
हालसम्म स्टार माइक्रोले ६ वटा दाबीको ३ लाख १८ हजार रुपैयाँ, ट्रस्ट माइक्रोले ३ वटा दाबीको ५ लाख ७१ हजार रुपैयाँ, नेपाल माइक्रोले ४ वटा दाबीको ५ लाख २ हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रोले ५ वटा दाबीको १ लाख १९ हजार रुपैयाँ भुक्तानी गरिसकेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस