Like us!
Follow us!
Connect us!
Watch us!

इमेज सहकारीका बचतकर्ताको १ करोड फिर्ता - ५ सय ४७ जनाले गरे मिलापत्र

अर्थ संसार

आइतबार, २७ माघ २०८१, १२ : ०१ मा प्रकाशित

इमेज सहकारीका बचतकर्ताको १  करोड फिर्ता - ५ सय ४७ जनाले गरे मिलापत्र

इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई १ करोड फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका ५ सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि  १ लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको हो । 

ढोरपाटनका ९२ बचतकर्ताले ३७ लाख प्राप्त गर्नेगरी चेक बुझेका छन् भने गलकोट नगरपालिकाका १ सय ४७ जना बचतकर्तालाई रकम फिर्ता गरिएको इमेज पीडित सङ्घर्ष समिति गलकोट बुर्तिवाङ संयोजक मञ्जु शर्मा चालिसेले जानकारी दिइन् ।

गल्कोट र ढोरपाटनका पाँच सय ४७ बचतकर्तामध्ये १ लाखसम्मका बचतकर्ताले तत्काल फिर्ता पाउनेगरी प्रक्रिया अगाडि बढाइएको चालिसेको भनाइ छ । इलाका प्रहरी कार्यालय हरिचौर र जनप्रतिनिधिको रोहबरमा बचतकर्ताको रकम फिर्ता गरिएको हो ।

सहकारीका बाँकी बचतकर्ताको रकम फिर्ताका लागि मिना ग्रुप कम्पनी प्रालिसँग सहकार्य गर्नेगरी सम्झौतासमेत गरिएको छ ।

गत पुस २६ गतेसम्म सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको सहकारी ठगी मुद्दामा पीडितमध्ये ५ सय ४७ जनाले बिगो दाबी नगर्ने गरी मेलमिलाप गरेका छन् । बचतकर्ताको ठगिएको रकम  २३ करोड ७५ लाख ४२ हजार ३ सय ४० बराबरको रकम घरसारमा मिलेर पाएको जनाउँदै मेलमिलाप गरेपछि मुद्दामा दाबी गरिएको बिगो रकमसमेत घटेको छ ।

पीडित ताराबहादुर कुँवर, मञ्जु शर्मा चालिसे र यमबहादुर कुँवरसमेत पाँच सय ४७ जनाको मुलुकी फौजदारी संहिता २०७४ को दफा ११७ बमोजिम मिलापत्र गर्न निवेदन आएकाले दफा ११८ (३) बमोजिम मिलापत्र गरिएको आदेशमा उल्लेख छ । सहकारीका अध्यक्ष नेपाली पुर्पक्षका लागि अहिले थुनामा छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको