गायिका एलिना चौहानले श्रीमान विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन् । एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दाको आज जिल्ला अदालत काठमाडौंले छिनोफानो गरेको हो ।
चौहानले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी छन् । सापकोटालाई सम्बोधन गर्दै चौहानले लेखेकी छन्, 'आजदेखि स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ ।'
एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । उनीहरुको वैवाहिक सम्बन्ध १० महिना पनि टिक्न सकेन ।
चौहानले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् -
प्रिय बिष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन् ।
तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन् ।
तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन् ।
हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ ।
वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ ।
तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ ।
भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ ।
जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ । यो रहरले होईन । जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ ।
आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ ।
पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु ।
तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु ।
एलिनाले श्रीमानसँग अंश र मानाचामलको दावी गरेकी छैनन् । हाल अष्ट्रेलियामा बस्दै आएका बिष्णुले वारेसमार्फत डिभोर्सको मुद्दा लडेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस