कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) माथि लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि उठेको रकम दुरुपयोगको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खारेज गरेको छ। अख्तियारको तीन वर्ष लामो अनुसन्धानपछि फाउन्डेसनले सबै रकम नियमअनुसार नै खर्च गरेको निष्कर्ष निकालिएको हो।
चितवन क्रिकेट संघका तत्कालीन कोषाध्यक्ष अनिल अधिकारीले २०७८ साल माघ २ गते धुर्मुस–सुन्तलीविरुद्ध अख्तियारमा उजुरी दिएका थिए। अधिकारीले देश–विदेशबाट संकलित ५७ करोड रुपैयाँको दुरुपयोग भएको दाबी गरेका थिए। तर अख्तियारले फाउन्डेसनले सहयोग रकम पारदर्शी ढंगले खर्च गरेको देखिएकाले उजुरीलाई तामेलीमा राख्ने निर्णय गरेको छ।
अख्तियारका अनुसार धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणका लागि ३९ करोड ८० लाख नगद तथा जिन्सी संकलन गरेको थियो। त्यसमध्ये १२ करोड सरकारी निकायहरूबाट प्राप्त भएको हो। कुल ५७ करोड ९२ लाख खर्च भइसकेको र ३९ प्रतिशत काम सकिएपछि थप स्रोत जुटाउन नसकेपछि रंगशाला भरतपुर महानगरलाई हस्तान्तरण गरिएको थियो।
महालेखा परीक्षकको प्रतिवेदनअनुसार रंगशाला हस्तान्तरण गर्दा ६३ करोड २२ लाख रुपैयाँ बराबरको संरचना बनेको थियो। तर, १८ करोड बराबरको निर्माण सामग्री उधारोमा लिइएको थियो। महानगरले संरचना त लिएको छ, तर उधारो रकम नतिरेका कारण आपूर्तिकर्ताहरूले धुर्मुसविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस