Like us!
Follow us!
Connect us!
Watch us!

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौं - अध्यक्ष ढकाल

अर्थ संसार

आइतबार, ०७ बैशाख २०८२, १६ : ४३ मा प्रकाशित

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौं - अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश नेपालमा लगानीका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् । नेपाली जनसम्पर्क समिति युएईद्वारा नयाँ वर्ष २०८२ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र धेरै क्षेत्रहरु एक्सप्लोर गर्न बाँकी रहेको हुँदा ती क्षेत्रमा लगानी गरी राम्रो प्रतिफल लिन सकिने बताए ।

'मलाई के लाग्छ भने नेपालमा धेरै सम्भावना छ । धेरै क्षेत्रहरु एक्सप्लोर गर्न बाँकी छन् । तर, नेपालमा सम्भावना छैन भन्ने र हरेक कुरा नकारात्मकरुपमा लिने गरिएको पाइन्छ । अझ, विदेशमा बस्ने नेपालीहरुलाई विदेशको विकास र प्रविधिहरु देखेर नेपालसँग तुलना गर्ने र विरोध गर्ने गरेको पनि पाइन्छ । म यहाँहरुलाई भन्न चाहन्छु । यदि साच्चिकै विदेशमा गरेको जस्तै लगानी र मिहिनेत नेपालमै गर्ने हो भने नेपालमा धेरै सम्भावना छन्,' उनले भने ।

हालै नेपाल सरकारले गरेको कानुन सुधारले लगानीकर्ताहरुमा उत्साह ल्याएको र मुलुकमा लगानीको वातावरण पनि बन्दै गएको उल्लेख गरे । 'हालै नेपाल सरकारले दुई दर्जन बढी कानुनहरु सुधार गरेर मुलुकमा लगानीका लागि मार्ग प्रसस्त गर्न खोजेको छ । यो निजी क्षेत्र, विशेष गरी नेपाल उद्योग वाणिज्य महासंघकै पहलमा भएको हो । म नेतृत्वमा आएदेखि नै हामीले मुलुकमा लगानीमैत्री वातावरण बनाउन र वैदेशिक लगानी भित्र्याउन विशेष पहल गरिरहेका छौँ । वैदेशिक लगानीका साथै गैर आवासीय नेपाली र वैदेशिक रोजगारमा रहेका नेपालीहरुले पनि आफ्नो केही हिस्सा नेपालका विभिन्न क्षेत्रमा लगानी गराउन सकियो भने हामीले अपेक्षा गरे जस्तो विकास सम्वभ हुन्छ । मुलुकको विकास तपाई हामी सबै मिलेरै गर्ने हो,' उनले भने ।

उनले मुलुकभित्र लगानी गरेर उत्पादन, रोजगारी र राजश्व वृद्धिमा सहयोग गर्न समेत गैर आवासीय नेपाली र वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई आग्रह गरे ।
'तपाईहरुले यहाँ धेरै राम्रो गर्नुभएको छ । तपाईहरुले आफ्नो पुँजीको केही अंशमात्र भए पनि नेपालमा लगानी गरेर त्यहाँ उत्पादन, रोजगारी र राजश्व वृद्धिमा सघाउनुभयो भने पक्कै पनि हाम्रो विकासको गति तीब्र पार्न सकिन्छ । तपाईहरु सबै केहि समयपछि पक्कै पनि नेपाल नै फर्कनुहुन्छ । त्यसबेला त्यो लगानीले तपाईहरुलाई पनि सपोर्ट गर्न सक्छ । त्यसबाट आउने प्रतिफलले तपाईहरुको जीवन सहज बनाउन सहयोग गर्नेछ,'उनले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको