Like us!
Follow us!
Connect us!
Watch us!

देश आन्दोलको भुमरीमा

विहीबार, ०४ माघ २०७४, १८ : ५६ मा प्रकाशित

देश आन्दोलको भुमरीमा


अर्थ संसार, काठमाडौं– देश यतिखेर आन्दोलको भुमरीमा परेको छ । कत्तै आफ्नो प्रदेशमा राजधानी राख्नु पर्छ भन्दै आन्दोलन  गरिरहेका छन भने कत्तै अन्य प्रदेशमा राजधानी राखिएको भन्दै प्रदेशवासीहरु आन्दोलनमा उत्रिएका छन् ।

 कहाँ कहाँ आन्दोलन भैरहेको छ त ?

निर्णय सच्याउन माग गर्दै भक्तपुरमा आन्दोलन

भक्तपुर– सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौडालाई तोकेपछि भक्तपुरमा यसको विरोध भएको छ ।

जिल्ला समन्वय समिति भक्तपुरले आज जिसस हलमा आयोजना गरेको छलफलबाट सरकारको निर्णयको विरोध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

सरकारले खटाएको प्राविधिक टोली, जिल्ला समन्वय समिति र दलीय प्रतिनिधिको सुझावलाई लत्याउँदै सरकारले गरेको निर्णय तत्काल सच्याउन माग गर्दै आन्दोलनको घोषणा गरिएको प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले बताउनुभयो ।

जिससमा भक्तपुरको बैठकमा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, समानुपातिक सदस्य, दलीय प्रतिनिधि, बुद्धिजीवी, पत्रकार र नागरिक समाजसहित सरोकारवालाहरूको छलफलले आजैदेखि आन्दोलन गर्ने घोषणा गर्दै सरकारलाई तत्काल निर्णय सच्याउन माग गरेको हो ।

मध्यपुर ठिमीको शिक्षा विभागको कार्यालयमा प्रदेश कार्यलय र बोडेस्थित कृषि विकाश बैंकको तालिम केन्द्रको हल संसद भवनको उपयुक्त भन्दै सरकारले तोकेको समितिले सिफारिश गरेको थियो । सरकारले बुधबार प्रदेश नं.३ को राजधानी हेटौडालाई तोकेको थियो ।

बिहीबार दिउँसोदेखि सानोठिमीमा सहभागी भएर पहिलो चरणको आन्दोलन गरिने र त्यसपछि अन्य अन्दोलनका घोषणा गर्ने जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले जानकारी दिनभयो ।

दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

डोटी– सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन शुरु भएको छ ।

क्षेत्रीय प्रशासन कार्यालय दीपायललगायत अन्य क्षेत्रीय कार्यालयमा ढुंगामुढ, तोडफोड र आगजनी गर्न थालेपछि आज प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै १३ सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ ।

दोहोरो झडपमा परी चार जना आन्दोलनकारी, पाँच जना नेपाल प्रहरी र चार जना सशस्त्र प्रहरीका जवान घाइते भएको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताउनुभयो ।

घाईतेमध्ये दीपायल सिलगढी नगरपालिका– ४ का भरत विकको अवस्था गम्भीर भएकाले उपचारका लागि उनलाई धनगढी पठाइएको छ ।

यस्तै केआइसिंह– ७ का वृद्ध करी भण्डारी, दीपायल सिलगढी नगरपालिका– १ का नारायण खड्का र पुष्कर द्वारिया घाइते छन् । उनीहरुको दीपायलस्थित सुजंग अस्पतालमा उपचार भइरहेको छ ।

अन्य दर्जनौँ मानिसलाई चोटपटक लागेको छ । हजाराँैको संख्यामा आएको आन्दोलनकारीको भीडमा बढीजसो महिला छन् । आक्रोशित आन्दोलनकारीले तीन वटा प्रहरी बिट र सडक कार्यालयको टिपरमा समेत तोडफोड गरेका छन् । अहिले डोटीको स्थिति निकै तनावपूर्ण छ ।

बन्दका कारण पर्सावासीको जनजीवन प्रभावित
 

पर्सा– प्रादेशिक राजधानीको माग गर्दै बजार, यातायात बन्द गरेपछि पर्सावासीको जनजीवन प्रभावित भएको छ ।

वीरगञ्ज राजधानी संघर्ष समितिको आह्वानमा गरिएको एकदिने बन्दका क्रममा आन्दोलनकारीले आज बिहानैदेखि वीरगञ्जका विभिन्न चोकमा टायर बाली सार्वजनिक तथा निजी यातायात, बजार, उद्योग वित्तीय संस्था र विद्यालय बन्द गराएपछि जिल्लावासीको जनजीवन प्रभावित भएको हो ।

प्रदेश नं २को अस्थायी राजधानी जनकपुर तोकिएको विरोधमा बिहानैदेखि वीरगञ्जको घण्टाघर, आदर्शनगर, छपकैया, मुर्ली, पावरहाउस, गण्डक, नगवार, इनर्वालगायतका चोकमा बिहानैदेखि टायर बाली प्रदर्शन गरिरहेका छन् ।

बन्दका कारण वीरगञ्जबाट विभिन्न जिल्लातर्फ सञ्चालन हुने लामो तथा छोटो दूरीका सर्वजनिक सवारी साधन नचलेपछि यहाँको बसपार्कमा सयकडौँ यात्री अलपत्र परेका छन् ।

बन्दको अवज्ञा गरेको भन्दै वीरगञ्जको घण्टाघर चोकमा आन्दोलनकारीले करिब आधादर्जन सवारी साधन तोडफोड गरेका छन् । आन्दोलनकारीले दुई वटा चारपाङ्ग्रे र चार वटा तीन पाङ्ग्रे इ–रिक्सामा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

एम्बुलेन्स, वारुणन्त्र, पर्यटक सवार वाहन, सञ्चार माध्यमका सवारी साधन, मोटरसाइक, सइकल बाहेकका सबै सवारी साधन सञ्चालनमा आन्दोलनकारीले रोक लगाएका छन् भने होटल, औषधि पसलमात्र सञ्चालन गर्न दिएका छन् ।

बन्दका क्रममा हुन सक्ने जनधनको क्षति रोक्न वीरगञ्जका चोक चोकमा उल्लेख्य संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङलाई नतोकेको विरोधमा बन्द

तुलसीपुर– प्रदेश नम्बर ५ को अस्थायी राजधानी दाङलाई नतोकेको विरोधमा आज पनि दाङ जिल्ला बन्द गरिएको छ ।

दाङ प्रादेशिक सरोकार समितिको अगुवाइमा जिल्लाका विभिन्न स्थानमा स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । बन्दका कारण आज पनि बिहानैदेखि जिल्लामा लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन सञ्चालन भएका छैनन् भने बिहानैदेखि यहाँका शिक्षण संस्था, कलकारखाना बन्द रहेका छन् ।

त्यसैगरी जिल्लाका तुलसीपुर, नारायणपुर, घोराही, लमही, गढवा र भालुबाङ बजार पनि बिहानैदेखि बन्द रहेका छन् । सडकमा नागरिक स्वतःस्फूर्तरुपमा प्रदर्शनमा उत्रिएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ सडकखण्ड पूर्णरुपमा बन्द हुँदा भालुवाङ र अमेलियामा सवारीसाधन रोकिएका छन् । दाङलाई प्रदेशको राजधानी बनाउन सबै हिसाबले उपयुक्त भए पनि सरकार तथा राजनीतिक दलका नेताले दाङ माथि ठूलो अन्याय गरेकाले र आफूहरुले सरकारले तत्काल निर्णय नसच्याए अनिश्चितकालीन आमहडताल जारी राख्ने समितिका सदस्य–सचिव एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले बताउनुभयो ।

आन्दोलनमा सर्वसाधारणबाहेक कुनै पनि राजनीतिक दलका नेता सडकमा देखिएका छैन । यसअघि हिजो नेपाली काँग्रेस र नेविसंघका युवा दाङमा राजधानी माग गदै सडकमा देखिएका थिए ।

दाङ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा ९माओवादी केन्द्र०का नेता कृष्णबहादुर महराले विज्ञप्ति निकालेर दाङलाई प्रदेश राजधानी नतोकेकोमा विरोध जनाउनुभएको थियो ।

एमालेका नेता तथा दाङ क्षेत्र नं २ को १ बाट प्रदेशसभामा निर्वाचित हुनुभएका शंकर पोख्रेलले सरकारको निर्णयलाई विवेकहीन भन्नुभएको छ । यसअघि बुधबार अबेरसम्म घोराहीमा बसेको दाङ राजधानी सरोकार समितिले विभिन्न निर्णय गर्दै थप आन्दोलन चर्काउने जनाएको थियो ।

यसैबीच आज घोराहीमा सर्वपक्षीय बैठक बसिरहेको छ । सो बैठकको निर्णय भने आउन बाँकी नै छ ।

एक दर्जन कार्यालय तोडफोडपछि धनकुटामा कफ्र्यु

धनकुटा, ४ माघ ९रासस० ः धनकुटालाई अस्थायी प्रादेशिक राजधानी नबनाइएको भन्दै आक्रोशित भीडले एक दर्जन सरकारी कार्यालयमा तोडफोड गरेपछि स्थानीय प्रशासनले यहाँ अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ ।

बिहीबार सदरमुकाम धनकुटामा प्रादेशिक आन्दोलन संघर्ष समितिले अनिश्चितकालीन बन्दको कार्यक्रम शुरु गर्न खोज्दा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले स्थानीयवासी शम्शेर पौडेललाई समाएर पिटेको बताइन्छ । यो घटनापछि भीड उत्तेजित भएको थियो ।

आन्दोलनकारीले बिहान ८ः३० बजेतिर धनकुटा बजार बन्द गराउँदै हिँडेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भण्डारी गाडी लिएर आएका थिए । आक्रोशित भीडले भण्डारी चढेर आएको ना१झ १३१४ नंको गाडी तोडफोड गरिदिए । मदन चोकमा भएको उक्त घटनापछि धनकुटा बजार तनावग्रस्त बनेको थियो । स्थानीय प्रशासनले ११ः४५ देखि अनिश्चितकालीन कफ्र्यु लगाएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिनुभयो ।

आन्दोलनकारीले सरकारी कार्यालयमा लगाइएको आगो निभाउन हिँडेका धनकुटा नगरपालिकाको दमकल पनि तोडफोड गरेका छन् । मोरङबाट बिरामी लिन भोजपुर हिँडेको एम्बुलेन्समाथि आक्रमण हुँदा एम्बुलेन्स चालक रञ्जित गिरी सामान्य घाइते भएको थाहाभएको छ । आन्दोलनकारीले पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा तोडफोड गरी आगजनी गरेका छन् । आगजनीमा कार्यालयका रहेका कम्प्युटर, टेबल, कुर्सी जल्नुका साथै झ्यालका सिसा फुटेका छन् ।

तोडफोड र आगजनी हुन थालेपछि सुरक्षकर्मीसँगको झडपमा परेर नेपाली काँगेसका कोषाध्यक्ष दिनेश राईसहित सातजना घाइते भएका आन्दोलनकारीले जनाएका छन् ।

यसैगरी, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय तोडफोड गरिनुका साथै त्यहाँ रहेको एक मोटरसाइकलसमेत आगजनी गरिएको छ । जिल्ला मालपोत कार्यालय, जिल्ला हुलाक कार्यालय, सिँचाइ डिभिजन कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, उच्च अदालत विराटनगर धनकुटा इजलासलगायत एक दर्जन कार्यालयमा तोडफोड भएका स्थानीय प्रशासनले जनाएको छ ।

धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउन ३३ दिनदेखि जारी आन्दोलन र हडतालका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । बुधबार सरकारले विराटनगरलाई प्रदेश नं १ को अस्थायी राजधानी तोकेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको