नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भिजिट भिसाका नाममा भइरहेको शोषण र भ्रष्टाचारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसमा संलग्न जो–कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।
बुधबार धरान उपमहानगरपालिकामा आयोजित कांग्रेसको नगर सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले हाल सार्वजनिक भइरहेको भिजिट भिसा प्रकरणले राज्य संयन्त्रमै रहेको मिलेमतो र संगठित अपराधको झलक दिएको बताएका हुन्।
उनले भने, “राज्यका जिम्मेवार अधिकारीहरूको मिलेमतोमा नागरिक ठगिएको, मानव तस्करीको शिकार भएका यस्ता घटनाले हामी सबै स्तब्ध भएका छौं। यस्ता कुकृत्यमा संलग्न जो–कोही होस्, जुनसुकै पदमा होस्, राजनीतिक होस् वा प्रशासनिक, कोही पनि उम्कन हुँदैन। सबैलाई कारबाहीको दायरामा ल्याइनुपर्छ।”
गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागको संलग्नता देखिएको यो प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिँदै आएको सन्दर्भमा थापाले स्पष्ट पारे, “हामीलाई उहाँमाथि पूर्ण विश्वास छ। तर कानुनी राज्यमा विश्वास होइन, तथ्य र प्रमाण आधार हो।”
उनले थपे, “यदि अनुसन्धानले गृहमन्त्रीमाथिसम्म पुग्छ भने त्यो अवस्थामा पदमा रहिरहनु राजनीतिक नैतिकताको प्रश्न बन्न जान्छ। यस्तो अवस्थामा पदबाट अलग भएर अनुसन्धानलाई सहज बनाउनु उचित हुन्छ भन्ने मलाई विश्वास छ।”
महामन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन प्रमुखसहितका पदाधिकारीहरूमाथि अनुसन्धान थालेको उल्लेख गर्दै अनुसन्धान कुनै शक्तिको दबाब वा प्रभावमा नपरी निष्पक्ष र निर्भीक रूपमा अघि बढ्नुपर्ने बताए।
“सिर्फ सतहमै नअडिइकन, यो जालोका हरेक जरा र हाँगाबिंगा पत्ता लगाएर दोषीलाई कारबाही गर्नुपर्छ,” थापाले जोड दिए।
थापाले भिजिट भिसाको नाममा भइरहेको शोषणको अन्त्य गर्न कानूनी तथा प्रशासनिक सुधार तुरुन्त आवश्यक रहेको बताए। “यो नेक्सस अन्त्य गर्नैपर्छ। नागरिकले राज्यबाट संरक्षण होइन, सास्ती पाउने अवस्था कहिलेसम्म?” भनेर उनले प्रश्न गरे।
महामन्त्री थापाले विगतमा यस्ता प्रकरणमा आफूहरूले उठाउँदै आएको मान्यता दोहोर्याउँदै भने, “मन्त्री नै अनुसन्धानको घेरामा परे भने पदमा बस्न मिल्दैन भन्ने हाम्रो भनाइ हिजो पनि यही थियो, आज पनि यही हो।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस