पाकिस्तानको कराचीस्थित मालिर जेलबाट भूकम्पपछि २१६ जना कैदी फरार भएका छन्। पछिल्लो २४ घण्टामा ७८ जना पुनः पक्राउ परिसकेका छन् भने बाँकीको खोजी कार्य जारी छ। यस घटनापछि सरकारद्वारा स्वेच्छिक रुपमा फर्किने कैदीहरूलाई सजायमा कटौती गरिने घोषणा गरिएको छ।
सोमबार राति कराचीमा लगातार तीनवटा हल्का तीव्रताको भूकम्प गएपछि जेलभित्र तनावपूर्ण स्थिति सिर्जना भएको थियो। कैदीहरू त्रासमा परेपछि उनीहरूले आफ्ना सेलको ढोका तोडेर बाहिरिन खोजे। प्रहरीले केहीलाई रोक्न प्रयास गर्दा स्थिति हिंसात्मक बन्यो।
सिन्ध प्रान्तका गृहमन्त्री जिया-उल-हसन लञ्जारका अनुसार प्रहरी र कैदीबीचको झडपमा दर्जनौं सुरक्षाकर्मी र कैदी घाइते भएका छन् भने फरार हुने प्रयासमा एक कैदीको गोली लागेर मृत्यु भएको हो।
गृहमन्त्री लञ्जारले पत्रकार सम्मेलनमा भने, “स्वेच्छिक रूपमा फर्कने कैदीहरूका लागि सजायमा कटौतीको सम्भावना छ। तर पक्राउ परेका व्यक्तिमाथि आतंकवादसम्बन्धी कानुनअन्तर्गत मुद्दा चलाइनेछ।”
मालिर जेलमा १०० भन्दा बढी भारतीय नागरिक पनि बन्दी छन्, जसमा अधिकांश सीमापार माछा मार्ने क्रममा पक्राउ परेका गरीब मछुवाहरू हुन्। प्रहरीले पुष्टि गरेको छ कि उनीहरू भूकम्पको बेला आफ्नो सेलमै सुरक्षित थिए र फरार घटनासँग उनीहरूको संलग्नता छैन।
यो घटनापछि कारबाही स्वरूप जेलका प्रहरी महानिरीक्षक (IG), जेल अधीक्षक र केही अन्य उच्च अधिकारीहरूलाई बर्खास्त गरिएको छ। बाँकी फरार कैदीहरूको खोजीका लागि संयुक्त सुरक्षा अभियान सुरु गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस