पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको खराब (निष्क्रिय) कर्जा बढ्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको१० महिनाको तथ्यांकअनुसार कुल कर्जा प्रवाहमध्ये औसत ५.२४ प्रतिशत निष्क्रिय कर्जा रहेको हो ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख मसान्तसम्को अवधिमा २ खर्ब ८९ अर्ब ५६ करोड रुपैयाँ बराबर निष्क्रिय कर्जा देखिएको हो । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९५ अर्ब ८० करोड रुपैयाँ बढी हो । गत वर्षको यही अवधिमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जामध्ये ३.९८ प्रतिशत अर्थात् १ खर्ब ९३ अर्ब ७६ करोड रुपैयाँ निष्क्रिय कर्जा थियो ।
राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले प्रवाह गरेको कुल कर्जा ४८ खर्ब ९७ अर्ब ३५ करोड रुपैयाँको ५.०५ प्रतिशत अर्थात् २ खर्ब ४७ अर्ब ३१ करोड रुपैयाँ निष्क्रिय कर्जा देखिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.१६ प्रतिशतले बढी हो । यो अवधिमा यस्तो खराब कर्जा ७१ अर्ब ८३ करोड रुपैयाँ बढी रहेको छ । गत वर्ष वाणिज्य बैंकहरूले प्रवाह गरेको ४५ खर्ब ११ अर्ब १० करोड रुपैयाँ कर्जामध्ये ३.८९ प्रतिशत अर्थात् एक खर्ब ७५ अर्ब ४८ करोड रुपैयाँ निष्क्रिय कर्जा थियो ।
१७ वटा विकास बैंकहरूले ५ खर्ब १९ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा ५.५६ प्रतिशत अर्थात् २८ अर्ब ८६ करोड रुपैयाँ बराबरको कर्जा निष्क्रिय रहेको देखिन्छ । जुन अघिल्लो वर्षको तुलनामा १० अर्ब ८३ करोड रुपैयाँले बढी हो । गत वर्ष यही अवधिमा विकास बैंकहरूले २ खर्ब ९६ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा ३.६३ प्रतिशत अर्थात् १८ अर्ब २ करोड रुपैयाँ निष्क्रिय कर्जा थियो ।
फाइनान्स कम्पनीहरूले यो अवधिमा १ खर्ब २ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्दा त्यसको १३ ०४ प्रतिशत निष्क्रिय कर्जा रहेको छ । फाइनान्स कम्पनीहरको खराब कर्जा १३ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ३ अर्ब १२ करोड रुपैयाँ बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूले ९८ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा १०.४० प्रतिशत अर्थात् १० अर्ब २६ करोड रुपैयाँ निष्क्रिय कर्जा थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस