आइतबार, साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा झरेको छ। कुल ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको आजको दिनमा सबैभन्दा बढी चर्चा कमाएको सेयर रह्यो — दोर्दी खोला जलविद्युत कम्पनीको (DORDI)।
आज दोर्दी खोलाको कुल कारोबार रकम ७५ करोड ७३ लाख रुपैयाँ पुग्यो, जसमा ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटिज प्रा.लि. बाट मात्र ५६ करोड ३८ लाख ८५ हजार रुपैयाँभन्दा बढीको सेयर बिक्री भएको छ। यो बिक्री १६ लाख ४७ हजार १ सय ८८ कित्ता सेयर बराबर हो, जुन राधी विद्युत कम्पनीको स्वामित्वमा रहेको संस्थापक सेयर रहेको बुझिएको छ।
राधी विद्युत कम्पनीले असार ८ गते (आज) दोर्दी खोलाको संस्थापक सेयर बिक्री गरेको देखिन्छ । यसअघि कम्पनीले जेठ २३ गते सार्वजनिक सूचना जारी गर्दै १६ लाख ४४ हजार ८ सय ८८ कित्ता सेयर बिक्री गर्ने निर्णय लिएको थियो। यी सेयरहरू लकइन अवधि असार ७ गते (शनिबार) सकिएको भोलिपल्ट, आइतबार खुलेर बिक्री गरेको देखिन्छ।
आज बिक्री भएको दोर्दी खोलाको अधिकांश सेयर मूल्य ३४० देखि ३४२ रुपैयाँको दरमा बिक्री गरिएको देखिन्छ। ब्रोकर ३९ को सबैभन्दा बढी बिक्री यही कम्पनीको सेयर रहेको पुष्टि भएको छ। आजको कारोबार विवरण हेर्दा, सुमेरु सेक्युरिटिजले मात्रै दोर्दी खोलाको सेयर बिक्रीबाट ५६ करोड ३८ लाख रुपैयाँ संकलन गरेको छ।
विवरण | रकम |
---|---|
Buy Amount | 34 करोड 28 लाख |
Sell Amount | 72 करोड 43 लाख |
Total Turnover | 1 अर्ब 6 करोड 72 लाख |
Net Selling (Difference) | -38 करोड 14 लाख |
एकै दिनमा एउटै ब्रोकरबाट ५६ करोडभन्दा बढीको दोर्दी खोला सेयर बिक्री हुनु आफैंमा दुर्लभ र विशेष घटना हो।
विशेषगरी ठूलो संस्थापक समूहले यस्तो ठूलो परिमाणमा सेयर निकासी गर्दा बजारमा स्वाभाविक रूपमा तरंग उत्पन्न भएको देखिएको छ।
दोर्दीको सेयरमा व्यापक किनबेच भएपछि लगानीकर्ताको ध्यान एकै सेयरमा केन्द्रित भयो, जसको असर अन्य सेयरहरूमा देखियो। अरु सेयरमा खरिद कम र बिक्री बढी देखिएपछि बजारमा प्यानिक सेलिङ को अवस्था सिर्जना भयो।
साथै, ब्रोकर कम्पनीले यति ठूलो परिमाणमा सेयर सेटलमेन्ट गर्नुपर्ने हुँदा नगद प्रवाह व्यवस्थापनका लागि अन्य सेयरहरू पनि बिक्रीमा ल्याइएको हुनसक्ने अनुमान गरिएको छ।
यसले बजारमा थप बिक्री चाप सिर्जना गरी समग्र लगानीकर्ता मनोबलमा नकारात्मक असर पारेको देखिन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस