Like us!
Follow us!
Connect us!
Watch us!

अकबरे खुर्सानीखेतीमा व्यस्त कराते खेलाडी ओमराज मगर

अर्थ संसार

सोमबार, ०५ साउन २०८२, १० : ३९ मा प्रकाशित

अकबरे खुर्सानीखेतीमा व्यस्त कराते खेलाडी ओमराज मगर

म्याग्दीको धवलागिरि गाउँपालिकामा मल्चिङ प्रविधिको प्रयोग गरेर पहिलो पटक अकबरे जातको खुर्सानी खेती सुरु भएको छ । धवलागिरि–७ शिवाङको धौलागिरि कृषि तथा पशुपक्षी फार्मका सञ्चालक ओमराज मगरले छ रोपनी बारीमा खुर्सानीखेती गरेका हुन् ।

‘खुर्सानी लगाएको ठाउँमा झार पलाउन नदिनका लागि बोट उम्रने बाहेकका जमिनमा प्लास्टिकले छोप्ने मल्चिङ प्रविधि अपनाएको हो,’ उनले भने, ‘प्लास्टिकले झार उम्रन नदिने र बिरुवाले पर्याप्त पोषकतत्व पाएर उत्पादन राम्रो हुने भएकाले तरकारी खेतीमा यस्तो प्रविधिको प्रभावकारी भएको छ ।’

समुद्री सतहदेखि दुई हजार मिटर उचाइमा अवस्थित शिवाङमा यसअघि दुई वर्ष परीक्षण गरेर यसपालिदेखि खुर्सानीको व्यावसायिक खेती सुरु गरेको उनले बताए। खुर्सानी खेतीका लागि उनले २ लाख ५० हजार लगानी गरेका छन्। धवलागिरिमा यसअघि व्यावसायिक रूपमा अकबरे जातको खुर्सानीखेती नभएको गाउँपालिकाको कृषि शाखाका प्राविधिक अमृत थापाले बताए । घरायसी प्रयोजनको लागि मात्र खुर्सानी खेती हुदै आएको थियो। बजारको सम्भावना भएकाले अकबरे खुर्सानीखेती गरेको किसान मगरले बताए ।

स्थानीय बजारमा प्रतिकिलो २५० का दरले अकबरे खुर्सानी बिक्री हुन्छ । म्याग्दीमा हाल तराई र पूर्वी पहाडी जिल्लाबाट अकबरे खुर्सानी आयात हुने गर्छ। दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राति १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाड र तराईको भूगोलमा अकबरे खुर्सानी खेती गर्न सकिन्छ।

३० वर्षीय मगरले वैदेशिक रोजगार र परम्परागत खेतीको विकल्पमा खुर्सानीका साथै किबीखेती, कुखुरा र बाख्रापालन गरेर स्वरोजगार बनेका छन् । मगर कराते खेलका खेलाडी हुन् । उनको बगैँचामा ७० किबीका बोट छन्। गत वर्ष ३ हजार किलोग्राम किबी बिक्री गरेका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको