अर्थ संसार, काठमाडौँ– सामान्य प्रशासन मन्त्रालयले प्रदेशसभा र प्रदेश सरकार सञ्चालनका लागि आवश्यक कर्मचारी खटाउने कार्य जारी राखेको छ ।
सातैवटै प्रदेशमा प्रदेशसभाको बैठक बस्न थालेकाले आवश्यक कर्मचारी खटाउन थालिएको हो । मन्त्रालयले अहिलेसम्म करिब पाँच सय कर्मचारी खटाइसकेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानले जानकारी दिनुभयो ।
खटिएकामध्ये चार सय प्रशासन र सय जना प्राविधिक तर्फका कर्मचारी रहेका छन् । मन्त्रालयले कर्मचारी समायोजन नहुँदासम्म अन्तरिम व्यवस्थाका लागि ती कर्मचारी खटाएको हो । कर्मचारी समायोजन भएपछि भने नयाँ कर्मचारी जानेछन् ।
“हामीले आवश्यक कर्मचारी दिनदिनै खटाइरहेका छौ” उहाँले भन्नुभयो–“कर्मचारीलाई आवश्यक हेरेर पटक ÷पटक खटाइएको छ ।’’ मन्त्रालयले प्रत्येक प्रदेशसभामा मुख्यमन्त्रीको कार्यालयका लागि २९ का दरले र मन्त्रालयमा २५÷२९ जनाका दरले कर्मचारी खटाउने भएको छ ।
उहाँका अनुसार प्रदेश सरकार सञ्चालनका लागि एक हजार ७७८ कर्मचारी आवश्यक छ । अझै करिब एक हजार दुई सय कर्मचारी प्रदेश सरकारमा खटाउन बाँकी छ । उहाँले अपुग कर्मचारीलाई आवश्यकता अनुसार दिनदिनै खटाइरहेको जानकारी दिनुभयो ।
प्रदेश प्रमुखको कार्यालयमा सचिव र मुख्यमन्त्रीको कार्यालयमा सहसचिवको नेतृत्वमा कर्मचारी टोली खटिएको छ । मन्त्रालयका कर्मचारी प्रशासन शाखाका अधिकृत नवराज जैसीले प्रत्येक प्रदेशमा तीन जनाका दरले सहसचिव, ६ जनाको दरले उपसचिव र १० जनाका दरले शाखा अधिकृत खटिएको जानकारी दिनुभयो । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस