Like us!
Follow us!
Connect us!
Watch us!

विश्वसामु नेपाली चिया — अन्तर्राष्ट्रिय व्यापारलाई कसरी बलियो बनाउन सकिन्छ ?

अर्थ संसार

आइतबार, ११ साउन २०८२, १२ : १९ मा प्रकाशित

विश्वसामु नेपाली चिया — अन्तर्राष्ट्रिय व्यापारलाई कसरी बलियो बनाउन सकिन्छ ?

नेपाली चिया अब केवल स्वादको विषय मात्रै होइन, अन्तर्राष्ट्रिय व्यापार र हरित विकासको एक महत्वपूर्ण सम्भावना बन्दै गएको छ। इलामका पहाडदेखि झापासम्म फैलिएको चियाको हरियो छाया अहिले विश्व बजारमा नेपालका लागि नयाँ आर्थिक पहिचान निर्माण गर्ने शक्तिशाली साधन बन्ने चरणमा छ। गुणस्तरीय उत्पादन, जैविक खेती, र भूराजनीतिक ब्रान्डिङको समुचित प्रयोग गरिन सके, चियाले नेपाललाई निर्यातमुखी, दिगो र पहिचानयुक्त व्यापार राष्ट्रमा रूपान्तरण गर्न सक्छ।

हजारौ किसानको जीवनसँग गाँसिएको चिया उद्योग, विदेशी मुद्रा आर्जनदेखि ग्रामीण पर्यटन प्रवर्द्धनसम्मको सेतु बन्न सक्छ विश्व बजार प्रिमियम, ट्रेसयोग्य र अर्गानिक उत्पादनतर्फ जाँदै गर्दा, नेपालका लागि आफ्नै हस्ताक्षर चिया ब्रान्ड सिर्जना गर्ने अवसर थप बलियो बन्दै गएको छ। चियामार्फत अब नेपालले स्वाद मात्र होइन, ‘सफ्ट पावर’ को रूपमा पनि आफ्नो उपस्थिति अन्तर्राष्ट्रिय जगतमा देखाउन सक्छ — जुन आर्थिक अवसर मात्र होइन, रणनीतिक कूटनीतिक अभ्यास पनि बन्न सक्छ।

नेपाली चियाले  इलाम, पाँचथर, झापा र धनकुटाजस्ता हरियाली पहाडी क्षेत्रहरूमा उत्पादन हुने नेपाली चिया अहिले बिस्तारै आफ्नै उच्च पहाडी स्वाद र जैविक विशेषताका कारण विश्वबजारमा पहिचान बनाउन थालेको छ ।

यद्यपि गुणस्तर र बढ्दो अन्तर्राष्ट्रिय माग हुँदाहुँदै पनि नेपाली चिया अझै पनि कहि कतै ओझेलमा  छ ।  नेपालका लागि चिया निर्यात बढाउनु केवल विदेशी बजारमा चिया बेच्नु मात्र होइन, विदेशी मुद्रा सञ्चित गर्न, ग्रामीण रोजगारी सिर्जना गर्न, अनावश्यक आयात प्रतिस्थापन गर्न र नेपाललाई दक्षिण एसियामा एक बुटिक चिया प्रशोधन र ब्रान्डिङ हबको रूपमा स्थापित गर्न अवसर समेत हो । नेपाली चिया दिगो व्यापार र विशेष उत्पादनहरूको युगमा, नेपालको लागि हरित (green) वृद्धिको उत्प्रेरक बन्न सक्छ ।

नेपालको चिया उत्पादनको विविधता र निर्यात सम्भावना

नेपालमा १९ औं शताब्दीदेखि चिया खेती हुँदै आएको भए पनि, पछिल्ला केही दशकहरूमा मात्रै यसले स्थानीय बजारभन्दा बाहिरको मान्यता प्राप्त गर्न थालेको हो । आज नेपालले वार्षिक झन्डै २७ मिलियन किलोग्राम (२७,००० मेट्रिक टन) चिया उत्पादन गर्छ, र यो संख्यामा हरेक वर्ष स्थिर वृद्धि भइरहेको छ ।

नेपालमा चिया दुई प्रमुख प्रकारमा वर्गीकृत गरिएको छः

१. अर्थोडक्स चिया (६,०००–७,००० मेट्रिक टन)
हातैले टिपिएको, उच्च पहाडी क्षेत्रमा (जस्तै इलाम, धनकुटा, पाँचथर, तेह्रथुम) उत्पादन गरिने ।
२. CTC (Crush, Tear, Curl) चिया (१९,०००–२१,००० मेट्रिक टन)
ग्रान्युलर स्वरूपको, मुख्यतया झापामा उत्पादन हुने र चिया पोकाहरूमा प्रयोग हुने ।
अर्थोडक्स चियाभित्र नेपालले निम्न प्रकारका उच्च गुणस्तरीय(निर्यात योग्य) चिया उत्पादन गर्छः

– SFTGFOP1 (Special Finest Tippy Golden Flowery Orange Pekoe 1)

– FTGFOP (Finest Tippy Golden Flowery Orange Pekoe)

– TGFOP (Tippy Golden Flowery Orange Pekoe)

– FOP / OP (Flowery Orange Pekoe / Orange Pekoe)

CTC चियामा Broken Pekoe (BP) / Pekoe Dust (PD) जस्ता प्रकारहरू प्रचलित छन्, जसले तिख्खर स्वाद दिन्छ ।
झन्डै ६०–६५प्रतिशत अर्थोडक्स चिया जर्मनी, अमेरिका, जापान, फ्रान्स, अष्ट्रेलिया, र अन्य युरोप तथा एसियाली देशहरूमा निर्यात हुन्छ ।
CTC चियाको झन्डै ९०–९६ प्रतिशत भारतमा निर्यात हुन्छ, जहाँ यसलाई ब्लेन्ड गरी भारतीय ब्रान्डिङमा पुनः निर्यात गरिन्छ — यसले गर्दा नेपालले नेपाली चियाको ब्रान्डिङको ठुलो अवसर गुमाइरहेको छ ।

चिया प्रशोधनमा सुधार र ब्राण्डिङको महत्व

नेपालको धेरै चिया अझै पनि अर्धप्रशोधित,थोकमा, वा भारतमा निर्यात हुन्छ जहाँ यसलाई प्याकेज गरी पुनः निर्यात गरिन्छ । यसका कारण नेपालले खुद्रा मूल्यको सानो अंश मात्र पाउने गरेको  छ ।

यदि नेपालले आधुनिक चिया प्रशोधन, ब्लेन्डिङ, फ्लेवरिङ र प्याकेजिङ प्लान्टमा लगानी गर्न सक्यो भने, यो मूल्य नेपालभित्रै राख्न सकिन्छ । साना चिया कारखाना, समुदाय स्वामित्व भएका सहकारीहरू र निजी कम्पनीहरूले तयार, ब्रान्ड गरिएको चिया उत्पादन गर्न सक्छन् जुन युरोप, एसिया वा मध्यपूर्वका सुपरमार्केटहरूमा सजिलै पुग्न सक्छ — र बढ्दो शहरी नेपाली उपभोक्ताहरूका लागि पनि फाइदा हुनसक्छ ।

नेपालमा हाल ६८ ठूला चिया कारखाना (३० अर्थोडक्स, ३८ CTC ) र १५० भन्दा बढी साना अर्थोडक्स चिया प्रशोधनकर्ताहरू छन् प्रमुख उत्पादक र निर्यातकर्ता मध्ये छन् 

—नेपाल चिया विकास निगम लिमिटेड — सबैभन्दा ठूलो निर्यातकर्ता (२२ प्रतिशत बजार हिस्सा)
— इलाम टी प्रोड्युसर्स प्रा.लि. — महत्वपूर्ण अर्टोडक्स र विशेष चिया उत्पादक (१६ प्रतिशत )
— नेचर हिमालय टी इन्डस्ट्रीज प्रा.लि. — विशेष र जैविक चियामा बलियो (१२ प्रतिशत )
— कञ्चनजङ्घा टी एस्टेट — नेपालको पहिलो अर्गानिक प्रमाणित चिया बगैंचा
अन्य: स्टार टी इन्डस्ट्रीज, जगदम्बा टी प्रोसेसिङ, तारा गाउँ टी एस्टेट, सिद्धिबिनायक टी इन्डस्ट्रीज, समल भ्याली टी एस्टेट, पराजुली टी इन्डस्ट्रीज आदि

आयात प्रतिस्थापन र नेपाली चियाको नयाँ सम्भावना

नेपालमा कम बुझिएको जानीएको कुरा के हो भने, नेपाल अझै पनि केही विशेष प्रकारका चिया, जस्तै हर्बल इन्फ्युजन र फ्लेवरमा तयार गरिएको हरियो चिया, होटल, रेस्टुरेन्ट र शहरी बजारको लागि आयात हुन्छ । 
यस्ता साना तर रणनीतिक आयातहरूले विदेशी मुद्रा बाहिर जान्छ, जुन नेपाल भित्रैै राख्न सकिन्थ्यो ।

यदि नेपालले आफ्नै स्वादिलो,हर्बल चिया उत्पादन गर्न सक्यो भने, यस्ता आयातहरुलाई प्रतिस्थापन गर्न सकिन्छ र निर्यात पनि गर्न सकिन्छ । हिमाली जडीबुटी, स्थानीय मसला र अनौठा स्वादहरू मिलाएर नेपालको आफ्नै चिया ब्रान्ड बनाउन सकिने सम्भावना छ, जसले विश्व बजारमा विशेष ग्राहकलाई आकर्षित गर्छ ।

चिया खेती: ग्रामीण जीवन र दिगो पर्यटनको स्रोत

चियाले झन्डै ७०,०००–८०,००० किसानको जीवनयापनमा सहयोग गरेको छ ।  जसले ग्रामीण महिलाहरूका लागि पनि नियमित आम्दानी र मौसमी रोजगार सिर्जना गर्छ । चिया बगैंचाहरू अहिले पर्यटकीय गन्तव्य बन्दै छन्। इलाम र पाँचथरमा ‘टी ट्रेर्लस’ जस्ता कृषि, अतिथि सत्कार र संस्कृतिलाई जोड्ने दिगो यात्रा अनुभवहरू बढ्दै छन् ।  चिया क्षेत्रको प्रत्यक्ष योगदान नेपालको GDP मा अझै ०.५५ भन्दा कम छ, तर यसको अप्रत्यक्ष प्रभाव ग्रामीण आम्दानी, विदेशी मुद्रा कमाइ, र क्षेत्रीय ब्रान्डिङमा निकै ठूलो छ ।

विश्व बजारमा नेपाली चियाको माग र निर्यातको अवस्था
विश्व चिया बजार हाल प्रिमियम, अर्गानिक र फेयर—ट्रेड उत्पादनतर्फ सर्दैछ । उपभोक्ताहरू अब ‘ट्रेसएबल’ र उत्पादकबाटै आपूर्ति गर्नका लागि बढी पैसा तिर्न तयार छन् । यस्तो माग हरेक वर्ष करिब ५–६ प्रतिशतले बढेको छ  (FAO, 2022).
देश अनुसार निर्यात मूल्य (२०२३)
— भारतः २३.२ मिलियन डलर
— जर्मनीः ६१७,००० डलर
—जापानः ३११,००० डलर
— फ्रान्सः २४४,०००डलर
— अमेरिकाः १८१,००० डलर

बढ्दो विश्व बजार र इलाम चियाको भूराजनीतिक संरक्षणको आवश्यकता

अष्ट्रेलिया, बेलायत, बेल्जियम, नेदरल्याण्ड, चेक गणराज्य, चीन, रुस, युएई, डेनमार्क, स्विजरल्यान्ड, क्यानडा,श्रीलंका र भारतले जस्तै, नेपालले पनि इलाम अर्थोडक्स चिया जस्ता क्षेत्रीय ब्रान्डका लागि Geographical Indication (GI) सुनिश्चित गर्नुपर्छ ताकि पहिचान जोगियोस र मूल्य बढोस ।

चिया: सांस्कृतिक शक्ति र कूटनीतिक माध्यम

चिया केवल पेय पदार्थ मात्र होइन यो एक शक्तिशाली सांस्कृतिक र कूटनीतिक उपकरण हो। चीन, जापान र श्रीलंका जस्ता देशहरूले लामो समयदेखि चियालाई आफ्नो ‘सफ्ट पावर’ को रूपमा प्रयोग गर्दै आएका छन् नेपालले पनि आफ्नो चियालाई दूतावासहरू, व्यापार मेलाहरू र अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रदर्शन गर्न सक्छ । राज्य उपहारका रूपमा प्रदान गरिने वा ‘चिया कूटनीति’ मार्फत प्रवद्र्धन गरिने नेपाली चियाले नयाँ ढोका खोल्न,नेटवर्क विस्तार गर्न र नेपालको हरित र दिगो अर्थतन्त्रको नयाँ कथा संसारलाई सुनाउन सक्छ ।

नेपालको चिया उद्योगका चुनौतीहरू

सम्भावना हुँदाहुँदै पनि नेपालको चिया उद्योगले अझै केही चुनौतीहरूको सामना गरिरहेको छ -
— दार्जिलिङ वा सिलोङ चियासँग तुलना गर्दा सीमित ब्रान्डले मात्र परिचय पाउनु
— पुराना प्रशोधन इकाइहरू र कमजोर प्याकेजिङ मापदण्डहरू
— जैविक र फेयर ट्रेड प्रमाणपत्रहरू लिन महँगो र जटिल प्रक्रिया
— नीति अड्चनहरू, जस्तै ढिला भन्सार प्रक्रिया र निर्यात प्रोत्साहनको अभाव
— भारतमा अत्यधिक निर्भरता, जसले नीति र मूल्यको जोखिम 
यदि नेपालले विश्वव्यापी सफलताको स्वाद लिन चाहन्छ भने स्पष्ट कदम चाल्न आवश्यक छ ।

चियाको उत्पादन बढाउन आवश्यक कदमहरू
चियाको वास्तविक उत्पादन बढाउन नेपालले गर्नुपर्ने कामहरू-

— गुणस्तर र मूल्यवृद्धि गर्न आधुनिक प्रशोधन, ब्लेन्डिङ र प्याकेजिङ प्लान्टमा लगानी गर्ने
— इलाम र अन्य विशिष्ट चिया क्षेत्रहरूको लागि (Geographical Indication -GI) पाउने
— जैविक खेती र फेयर—ट्रेड प्रमाणपत्रका लागि अनुदान र तालिम प्रदान गर्ने
— दूतावासहरू, व्यापार मेलाहरू र डिजिटल बजारहरू मार्फत चियाको प्रवद्र्धन गर्ने
— होटेल, क्याफे र घरमा आयात प्रतिस्थापन गर्न स्वदेशी नवप्रवर्तनलाई समर्थन गर्ने
— कृषि, पर्यटन र ग्रामीण विकासलाई जोड्दै चिया बगैंचामा आधारित इको—पर्यटन प्रवद्र्धन गर्ने

नेपाली चिया केवल एउटा तातो कप मात्र होइन यो रोजगारी, निर्यात आम्दानी, विश्वव्यापी मान्यता र ग्रामीण विकासको अवसर हो । राष्ट्रिय ब्रान्डिङ, स्मार्ट लगानी र सहायक नीतिको माध्यमबाट सानो चियाको पात पनि हिमाल र मन्दिरसँगै नेपालको दिगो अन्तर्राष्ट्रिय व्यापारको नयाँ प्रतीक बन्न सक्छ । अब समय आएको छ नेपालले विश्वलाई आफ्नो उत्कृष्ट चियाको कप पस्कियोस् र हरित वृद्धिको मिठो सफलताको स्वाद चखाओस ।

नम्रता श्रेष्ठ, अशिका न्यौपाने,पुरुषोत्तम मल्लिक

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको